दाङमा थारु साहित्यिक मेलाको भब्य उद्‍घाटन [फोटो फिचर]

Tharu Literature Festivel dang 01

सन्तोष दहित
नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङले मातृभाषा संरक्षणको लागि राज्यले व्यवस्ति नीति ल्याउनपर्ने बताएका छन्। शुक्रबार दाङको घोराहीमा आयोजना गरिएको ‘थारु साहित्यिक मेला’को उदघाटन गर्दै उनले राज्यले मातृभाषाको राम्रो नीति ल्याउन नसक्दा ओझेलमा परिरहेको बताए। उनले  मातृभाषाको संरक्षण र प्रवर्द्धनको लागि व्यवस्थित नीति ल्याउन आवश्यक रहेको बताए। 
Tharu Literature Festivel dang 05

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले राज्यका शासकहरु मातृभाषाप्रति दुईखाले धारणा राख्ने गरेकाले मातृभाषा ओझेलमा परेको बताए। ‘राज्य सञ्चालनमा रहेका शासकहरु मातृभाषाका सन्दर्भमा दुईखाले विचार बोक्नेहरु छन्, यो राम्रो होइन, सबै भाषा संरक्षण गर्न सक्ने हो भने राष्ट्रियता मजबुत हुन्छ,’ उनले भने। उनले भने, ‘बहुभाषाले देशमा बिखण्डन ल्याउँछ भन्ने गलत सोच र विचार हो, यसको विषयमा मातृभाषा बोल्ने समुदायहरु एक हुनेपर्छ।’

मुकारुङले मातृभाषा बोलेकै आधारमा जेल गएको र कतिपयले ज्यान गुमाएको बताए। तैपनि मातृभाषा संरक्षण अभियान अधुरो रहेको उनले बताए। ‘मातृभाषा संरक्षण गर्नु प्रमुख दायित्व राज्यको हो,’ थारु समुदायको मातृ भाषाजस्तै नेपालमा १ सय २३ मातृभाषा रहेको जानकारी दिँदै मुकारुङले भने, ‘यी सबै भाषाको संरक्षण गरिनु आवश्यक छ। तर, राज्यले प्रतिष्ठानमा त्यति धेरै मात्रृभाषा संरक्षण गर्न वार्षिक ५-७ लाख रुपैयाँ बजेट छुट्टाउँदै आएको छ।’

Tharu Literature Festivel dang 02

त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि सां‌स्कृतिविद् तथा पूर्व राज्यमन्त्री महेश चौधरीले आदिवासी जनजाति थारु समुदाय भाषा, कला, संस्कृतिको हिसाबले नेपालको सबैभन्दा धनी जाति भएको दाबी गरे। उनले भने, ‘थारु समुदाय प्रकृतिसँग अति नजिक रहेको जाति हो, नेपालको भूमिपुत्र थारु हुन्। यिनीहरुको आफ्नै कला, संस्कृति, पहिचान छ।’

थारु साहित्यिक मेला मूल आयोजक समितिका संयोजक कृष्णराज सर्वहारीको अध्यक्षतामा भएको कार्यक्रममा कवि विप्लव ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्री उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सुदिप गौतम, राप्ती साहित्य परिषद्का कमलमणि देवकोटा, थारु बुद्धिजीवी सुशील चौधरी, थारु कल्याणकारिणी सभाका केन्न्द्री भाषा विभाग प्रमुख बमबहादुर थारु, बर्दियाका पत्रकार तथा साहित्यकार मानबहादुर चौधरी, कपिलवस्तुका रामप्रकाश चौधरी, चितवनका कुमार अभागी चौधरी, थारु नागरिक समाज कैलालीका वीरबहादुर चौधरी, देउखुरी साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष हरि पोख्रेल, सम्मानित व्यक्तित्वहरु भगवती चौधरी, लालबहादुर चौधरी, टेकबहादुर चौधरी साहित्यिक मेलाको सफल्ताको शुभकामना मन्तव्य दिए।

Tharu Literature Festivel dang 04

चार अग्रज सम्मानित

दाङमा आयोजित साहित्यिक मेलामा २०२८ सालमा पहिलो पटक थारु भाषामा गोचाली पत्रिका प्रकाशन गरी भाषा, साहित्यको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै गोचाली पत्रिकाका संस्थापक महेश चौधरी, भगवतिप्रसाद चौधरी, लालबहादुर चौधरी र टेकबहादुर चौधरीलाई कदरपत्रले सम्मानित गरिएको छ।
मेलोको दोस्रोदिन विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको मेला प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए। उनका अनुसार थारु मानक भाषाबारे सुशील चौधरी, थारु उपन्यास आख्यानबारे कृष्णराज सर्वहारी, थारु साहित्यमा दाङको योगदानबारे केवी चौधरी, थारु साहित्यको योगदानमा लावा डगरको भूमिकाबारे श्रीराम चौधरी, थारु साहित्यमा कैलालीको योगदानबारे सत्यनारायण दहित, थारु साहित्यमा कविताको अवस्थाबारे छविलाल कोपिलाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

Tharu Literature Festivel dang 03

नेपाल प्रज्ञा प्रतिष्ठान, जिल्ला विकास समिति दाङको आर्थिक सहयोगमा तथा थारु भाषा, साहित्य मञ्च, हर्चाली समूहको आयोजना एवं लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक, नविस्रोत परिचालन केन्द्र, सहयोग समाज नेपाल लगायत संघसस्थाको सहआयोजनामा भएको हो।

यसैगरी साहित्यक मेलामा हालसम्म थारु भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाको बृहत पद्रशनी तथा बिक्री वितरणका लागि राखिएको प्रचारप्रसार संयोजक दहितले जानकारी दिए। दुई दिनसम्म चल्ने साहित्यक मेलामा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, रुपेन्देही, काठमाण्डौका थारु लेखक, साहित्यकारहरुको जमघट छ।

Leave a Reply

Your email address will not be published.