हामी स्वभिमानी नेपाली हौं, नक्कली होइन सक्कली नेपाली हौं : रेशम चौधरी

थारु नेता रेशम चौधरीको एउटा भिडियो प्राप्त भएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले भाषण गर्दै हामी नेपाली, हामी स्वाभिमानी नेपाली भएको बताएका छन्। थारुहरु यहाँको आदिवासी भएको बताउँदै रेशमले हामी नक्कली नभइ सक्कली नेपाली भएको बताए। ‘हामी स्वभिमानी नेपाली हौं। यहाँका आदसवासी हौं। नक्कली होइन सक्कली नेपाली हौं,’ उनले भनेका छन्।

उनले संघीयता दिन्छु भनेका नेताहरु आज एकाएक पछि हटेको आरोप लगाएका छन्। उनले विभिन्न सहमति सम्झौतामा पनि नेताहरुले थरुहट थारुवान प्रदेश उल्लेख स्मरण गराउँदै भने, ‘संघीयता दिन्छु भन्ने। स्वयत थरुहट दिन्छु भन्ने। विशेष अधिकार दिन्छु भन्ने अनि खस र आर्यको नाममा संविधान लेख्ने?

उनले थारुहरु कालो भए पनि मन सेतो भएको स्पष्ट पारे। ‘हामी थारुहरु काला छौं तर हाम्रो मन सेता छन्। तपाईँ काठमाडौंमा बसेर गोरो हुनुहुन्छ तर तपाईँको भित्र कालो मन छ,’ उनले भनेका छन्।

उनले एउटा कार्यक्रम गर्न पनि प्रशासनसँग अबेर रातसम्म बसेर सहमति गरिएपनि भोलिपल्ट बाटो बाटो ढुकेर छेक्ने काम गरेको आरोप लगाए। ‘लोकतन्त्रमा विचार हुन्छ भन्छन्। आज थारुहरुलाई एउटा कार्यक्रम गर्न दिँदैन। खै लोकतान्त्रिक अधिकार,’ उनले भनेका छन्।

यो देशमा अधिकारको नाममा थारुलाई कुल्चिएर मार्ने प्रयत्न भइरहेको उनले बताए। ‘तपाइँहरुले अखण्ड सुदूरपश्चिम दिनुहोला। तर थारुहरुको सहमति र सहभागी बिना अखण्ड सुदुरपश्चिम क्यान्सर लागेको मान्छेजस्तै हुनेछ,’ उनले भनेका छन्।

उनले थारुहरु हडी खाने जाति नभएको भन्दै हडी र मासुको राजनीति नगर्न सुझाव दिए। ‘थारुहरु हडी खाने जाति होइन मासु खाने जाति हो। कसैलेको भागमा मासु र कसैको भागमा हडी हुने हो भने षडयन्त्र गर्ने नेताहरुको थालमा हडी परिजाओस्,’ उनले भनेका छन्।

रेशमले एक जुगमा एक दिन एकचोटि अवश्य आउने भन्दै धैर्यता गर्न सुझाए।

रेशम चौधरीको भाषण हेर्नुस्:


भिडियो सौजन्य : बालकृष्ण चौधरी/थारुनके

Leave a Reply

Your email address will not be published.