किशोर चौधरी
मेरो पत्रकारिताको दौरानमा थुप्रै समाचार लेखे र सम्प्रेसन गरे। जसमध्ये सलिना खड्का पनि एक पात्र हुन्। उदयपुर सिखरमाडी घर भई हालः काठमाडौंको रातोपुरस्थित डेरामा बस्दै आएकी सरला खड्काकी जेठी छोरी थिइन् सलिना खड्का। दिनभरिको मजदुरीबाट दुई छोरी सलिना र सलिसालाई पढाउने र पालन पोषण गर्ने अभिभारा थियो सरलाको। डेढ वर्षअगाडि सलिनाको पेटमा समस्या देखिएपछि सलिनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो। बिहान र बेलुकाको छाक टार्न धौधौ सरलालाई छोरी बिरामी हुँदा अर्को समस्या थपिएको थियो।
सामान्य बिरामी भएको होला भन्ठानेकी सरलाले जब अस्पतालको रिपोर्ट आयो अनि छाँगाबाट खसेजस्तो भयो। सलिनाको पेटमा करिब एक किलोको ट्युमर र त्यो ट्युमर सबै नसा नसामा जेलिएको र सँगै क्यानसर पनि देखा पर्यो। होस र हवास गुमाएकी सरला छोरीको उपचारका लागि आफ्न्तबाट केही रकम जम्मा गरी कान्ति बाल अस्पतालमा सलिनालाई भर्ना गरे। भर्ना पश्चात सलिनाको शल्यक्रिया त भयो तर चिकित्सकहरुले सलिनाको पेटमा भएको ट्युमरलाई निकाल्न सकेनन्। जोहो गरेको अलिकति पैसा पनि सकिएपछि सरलालाई छोरीको उपचारका लागि हरेक प्रयास असफल सावित हुँदै थियो। पैसाको अभावका कारण थप उपचारमा केही सिप नलागेपछि अनततः सरला सहयोगको भिख माग्दै एभिन्युज टेलिभिजनमा आइपुगेकी थिइन्।
रुँदै हात जोड्दै सलिनालाई बचांइदेउ भन्दै हामीसँग बिन्तिभाउ बिसाएपछि हामीले सरलालाई ढाड्स दिँदै सहयोग गर्ने आश्वासन दियौँ। लगतै एनसीसीबाट डिल्ली पोखरेलले यो समाचार किशोर तिमी गर भन्ने आदेश भयो। त्यो दिन अबेर भैसकेकाले म त्यो समाचारलाई भोलि गर्ने जानकारी दिए। भोलिपल्ट भारी वर्षा भइरहेका कारण मलाई समाचार संकलनमा जान बाधा पुर्यापइरहेको थियो। केही समयपछि वर्षा रोकियो र मैले सरलालाई फोन गरेर ‘दीदी म किशोर एभिन्युज टेलिभिजनबाट, तपाईँको डेरा देखेको छैन रातो पुलसम्म आउनुपर्यो’ भनेँ। ‘हुन्छ बाबु म आउँछु’ भनेपछि म रोतोपुल पुगे। रातोपुलबाट सरलासँगै ५ मिनेटको बाटोपछि डेरामै पुगेँ। डेरामा पुग्दा सलिना सुतिराखेकी थिइन्। त्यो समय अस्पतालले दिएको रिपोर्टहरु हेरे र सलिनाको बारेमा सवै बेलीविस्तार लगाएर सोधेँ। करिब २ घण्टा मेरो सोधिखोजीमै बित्यो। त्यसपश्चात सलिना ब्युँझे छ क्यार, मैले सलिनालाई पनि थुप्रैकुराहरु सोधे। उसकै मुखबाट थुप्रै कुराहरु पनि थाहा पाए। लामो समयको बसाईले हुनसक्छ सलिना मसँग नजिकिसकेकी थिइन्। मलाई किशोर दाई किशोर दाई भनेर सम्बोधन गर्दै थिइन्। मैले समाचार संकलनकै क्रममा ‘सलिना तिमी भविष्यमा के बन्छौँ’ भन्दा उसले ‘दाई म बाँचे भने भविष्यमा ठूलो डक्टर बन्छु, दिनदुखी असायलाई सेवा गर्छु’ भनिन्। यी वाक्यले केही भावुक हुँदै मेरा आँखाहरु रसाए। उता सलिनाकी आमा सरलाले जसरी भए पनि छोरीलाई बचाउनुपर्छ भन्दै बिन्तिभाउ बिसाउँदै थिइन्। म भने मेरो क्षमताले भ्याएसम्म सहयोग गर्छु भन्दै ढाडस दिँदै थिए। सबै कुरा जानकारी दिएपश्चात मेरो झोलाको क्यामरा झिक्दै केही दृश्यहरु कैद गरे र अफिस फर्के।
त्यो दिन बेलुका भइसकेकाले त्यही समाचारको एंगलबारे सोच्दै बित्यो। भोलिपल्ट त्यो समाचारलाई भावुक बनाउनुपर्छ जसले सबैको मन छोओस् र सलिनालाई सहयोग जुटोस भन्ने आधारमा समाचार बनाउने निष्कर्ष निकाले। दिनभरि लगाएर निकै मेहनतका साथ बनाएको समाचारको परीक्षाको घडी आउदै थियो मेरो। प्राइम बुलेटिन अर्थात् ‘एभिन्युज अयाट सेभेन’मा समाचार प्रशारण भयो। बेलुकाको समय भएको हुनाले समाचारबारे त्यस दिन कुनै प्रतिक्रिया आएन र म निराश भएर बसेँ। सधैँ बिहान ८ बजे उठ्ने बानी भएर होला म सुतिराखेको थिए। मोबाइलमा घण्टी बज्यो अल्छी मान्दै हेरे अफिसबाट रहेछ।
अल्छी मान्दै फोन उठाए उताबाट किशोर सलिनालाई सहयोग गर्नेहरुको फाने आको आई छ। अफिसमा पनि सहयोग गर्नका लागि आउनुभएको छ। म हतार हतार फोन राखे र जुरुक्क उठेर अफिस लागेँ। अफिस पुग्दा एक जना महिला र एक जना पुरुष देखे। मलाई देख्नेवितिकै नमस्कार गरे। म पनि नमस्कार फर्काएँ। किशोरजी तपाईँ नै हो सोधेपछि हो भन्दै उत्तर दिएँ। टेलिभिजनमा सलिनाकै समाचार बज्दै थियो, उहाँहरुको आँखामा आँसु प्रष्ट देख्न सकिन्थ्यो। भावुक हुदै उहाँहरु हामी सलिनालाई सहयोग गर्न चाहन्छु यो ५५ हजार सलिनाको उपचारका लागि राख्नु भन्दै मेरो हातमा राखिदियो।
यसरी सलिनालाई उपचारका लागि पहिलो सहयोग आएको थियो। त्यसपछि देश विदेशबाट यति फोनको ओइरो आयो कि दिनभरि फोन उठाउनमै व्यस्त भए। कसैले सलिनाबारे जानकारी लिएँ, कसैले सलिनलाई सहयोग गर्छु भन्दै फोन गरेँ। हामीले पनि नेपाल इन्भेष्टमेन्ट बैंकमा सलिनको नाममा खाता खोल्यौं र सलिना केयर क्याम्पीयन नै सञ्चालन गर्यौ। सहयोग गर्ने हजारौ हातहरु अगाडि आउँदा म पनि दंग थिए। सलिनाको उपचारको लागि यति सहयोगको ओइरो लाग्यो कि अब सलिनालाई जुनसुकै अस्पतालमा उपचार गर्न सक्ने क्षमता भएको थियो।
लगतै हाम्रै पहलमा ग्रान्डी अस्पतालनमा सलिनालाई भर्ना गरायौँ। करिब ५ महिनासम्म हामी सलिनालाई ग्रान्डी अस्पतालमै राखेर उपचार गरायौँ र हरेक उपचार पद्धतिको समाचार बनायौँ। सलिनाको स्वास्थ्यमा क्रमिकरुपमा सुधार देखिएपनि पेटमा भएको ट्युमर र क्यानसरको उपचार हुन सकेन। पेटमा भएको करिब एक किलोको ट्युमरले सलिनको नसा नसामा जेलिएको थियो। जसका कारण सलिनाको पेटमा भएको ट्युमर निकाल्न सकेको थिएन। शल्यक्रिया गर्न नसकिए पनि हामी उपचार भने जारी नै राखेका थियौँ।
ट्युमर र क्यानसरले ग्रसित ती ९ वर्षीया अबोध बालिका सलिनाको स्वास्थ्यमा प्रतिकूल असर देखा पर्दै गयो। केही समयअगाडि मात्रै सलिनालाई ललितपुरस्थित हसपिस नेपालमा भर्ना गरिएको थियो। ट्युमर र क्यानसरसँग जुध्दाजुध्दै थाकिसकेकी सलिना हसपिस नेपालमा अन्तिम शास लिइन् र सधैँका लागि हामी माझबाट बिदा लिइन्। सलिनालाई अन्तिम अन्यष्टिका लागि पशुपतिनाथस्थित बनकालीमा लगियो जहाँ म पनि पुगे, सलिनालाई अन्तिम विदाईका लागि तयारी भइरहेको थियो।
सबै आफन्तजनले गहभरि आँखामा आँसु लिएर सलिनालाई विदा गर्दै थिएँ। म त्यहाँ पुगेपछि सलिनाको पार्थिब शरीरलाई हेर्नेबितिकै पहिलोपटक भेट भएको बेला ‘दाई मलाई बचाउनुहोस् म बाँचे भने ठूलो डक्टर बन्छु, दिनदुखी र असहायलाई सेवा गर्छु अनि तपाईँलाई कार किनेर कारमा बसाएर घुमाउँछु’ भन्ने ती कलिला ओठबाट निस्केको भाव सम्झेँ र भक्कानिएँ। म आफूलाई जति रोक्न खोजे पनि सम्हाल्न सकिन।
हातमा भएको क्यामेराले सलिनातिर फर्काउन सकिन। यो दृश्यले सलिनालाई विदा गर्न पुगेका सलिनाको आफ्न्तसमेत भावुक बनेको थियो। हुन त म सलिनालाई डेढ वर्षअगाडि मात्रै समाचार संकलन गर्ने क्रममा चिनेको थिएँ। तर म त्यतिबेलैदेखि सलिनाको भावनासँग यति नजिकिए कि मानौँ उनी मेरी आफ्नै सानी बहिनी हुन्। अनि सानी बहिनीसँग सधैँको लागि छुट्टिनुपर्दा कुन दाईको आँखा रसाउँदैन! यसरी सानी बहिनीलाई कहिलै नफर्किने गरी सधैँका लागि बिदा गरे।
पैसाको अभावमा उपचार नपाएर छटपाइरहेकी सलिनालाई बचाउन पैसाको जोहो भयो। तर खोइ त पैसा भएर पनि यो विज्ञान प्रविधिले सलिनालाई बचाउन सकेको? विज्ञान प्रविधिको युग भन्छ तर त्यही विज्ञान प्रविधिसमेत मेरी बहिनी सलिनालाई बचाउन नसकेको देख्दा आज म आफैँ विक्षिप्त बनेको छु। र, आफैँलाई प्रश्न गर्दै छु- मेरो पत्रकारिता असफल या विज्ञान प्रविधि?
अन्त्यमा, तिम्रो आत्माले चिर शान्ति पाओ्स। हार्दिक श्रद्धा सुमन सलिना !
लेखक एभिन्युज टेलिभिजनमा कार्यरत छन्।