फेरि फुट्यो एमाओवादी, दाङमा घोषणा भयो नयाँ पार्टी

new maobadi

‘जनताको म्यान्डेट’ बिर्सिएको भन्दै पटक–पटक विभाजित एकीकृत नेकपा माओवादी फेरि टुक्रिएको छ। पार्टी विभाजन गरेका मोहन वैद्यसँग एकता गर्ने बहस माओवादी कित्तामा तातिरहेका बेला शनिबारदेखि एमाओवादी पाँचौं टुक्रामा विभाजित बनेको छ।

राजनीतिक मूलधारमा आएयता चारपटक विभाजन भएको एमाओवादीलाई पूर्व पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले पाँचौं चिरा पारेका हुन्। उनले एमाओवादीकै केही नेतालाई समेटेर शनिबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गरे। ओली संयोजक रहेको पार्टीको नाम ‘कम्युनिस्ट न्युक्लियस नेपाल’ राखिएको छ। नयाँ पार्टीले ‘हातमा बन्दुक भएको खण्डमा पार्टी संगठन निर्माण गर्न सक्छौँ’ भन्ने माओको सिद्धान्त अनुशरण गर्दै ‘सशस्त्र क्रान्ति’ साकार पार्ने रणनीति अबलम्वन गरेको जनाएको छ।

‘बन्दुकको सहाराले मात्रै संसारलाई रुपान्तरण गर्न सकिन्छ,’ माओको सिद्धान्त उल्लेख गर्दै पार्टी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक ओलीले भने, ‘हामी सच्चा कम्युनिस्ट क्रान्तिकारी माओको सिद्धान्तमा रहेर सशस्त्र क्रान्तिबाट मात्रै मुलुकमा परिवर्तन हुन्छ भन्नेमा पुगेका छौँ।’ माओवादीका अन्य नेताले ‘बन्दुकको महत्व’ छुटाइसकेकाले आफूहरूले सशस्त्र क्रान्तिको छिनोफानो गर्न नयाँ पार्टी गठन गरेको उनले बताए। ‘गरिबलाई देखेपछि टिठ मान्नेहरू हुन् सच्चा कम्युनिस्ट,’ उनले भने, ‘तर माओवादीका नेताहरू गरिब देखेपछि घिन मान्छन्, यसकारण सशस्त्र क्रान्ति जरुरी छ।’

एमाओवादी अपारदर्शिताले जर्जर बनिसकेको भन्दै त्यसको पर्दाफास गर्दै जाने रणनीति कम्युनिस्ट न्युक्लियसले बनाएको छ। ‘म माओवादीको केन्द्रीय राजनीतिमा बसेर हरेक गतिविधि देख्दै आएँ, सहँदै आएँ,’ उनले भने, ‘एक–एक कर्तुत बिस्तारै बाहिर ल्याउनेछौँ।’

शनिबार घोषित नवपार्टीको सदस्यमा ऋषिराज बराल (पूर्वाञ्चल), विकास शर्मा (पश्चिमाञ्चल), रमेश पुन (मध्यपश्चिमाञ्चल), विमर्श शर्मा (सुदूरपश्चिमाञ्चल), शेरकुमार खड्का (मध्यपश्चिमाञ्चल), मनप्रसाद श्रेष्ठ (मध्यपश्चिमाञ्चल), तीर्थ ओली (मध्यपश्चिमाञ्चल) र धनबहादुर वली (मध्यपश्चिमाञ्चल) को नाम घोषणा गरिएको छ। दुई सदस्य पछि थप गर्नेगरी कार्यसमिति घोषणा गरेको कम्युनिस्ट न्युक्लियसले अन्य क्रान्तिकारीसँगको ध्रुवीकरणका लागि पार्टी संयोजक ओलीकै संयोजकत्वमा वार्ता टोली पनि गठन गरेको छ।

Leave a Reply

Your email address will not be published.