विनाश चौधरी/कैलाली
आठ वर्ष अगाडि आएको ठूलो बाढीले कैलालीको ललितपुर गाउँलाई तहसनहस पार्यो। गाउँका स्थानीयहरु जेनतेन ज्यान जोगाउन सफल भए। तर, सम्पत्ति, चौपाया सबै गुमाए। मिलेर बसेको गाउँलाई बाढीले उजाड बनायो। ८५ परिवार थातथलो छाडेर विस्थापित भए।
‘बल्लतल्ल ज्यान जोगाएर सुरक्षित स्थान पुगेका थियौं’, २०६४ मा आएको बाढीलाई स्मरण गर्दै स्थानीय अटुवारी चौधरीले भन्नुभयो–’तर, सम्पत्ति, पशु चौपाया सबै बाढीले लग्यो। केही बाँकी राखेन।’ लगाएको कपडा र मान्छेमात्रै जोगिएको सुनाउँदै उहाँले त्यसपछि सबैले गाउँ छाड्न वाध्य भएको बताउनुभयो।
त्यस बेला आएको बाढी एक डेढ हप्तापछि सामान्य भए पनि विस्थापित स्थानीयको जनजीवन सामान्य हुन सकेन। ‘बाढी त गयो तर, गाउँ, जग्गा जमिन रहेन।’, चौधरीले अगाडि थप्नुभयो–’२०४० सालदेखिको बस्ती र जग्गा बगर बनेपछि हामी तत्काल फर्कन सकेनौं।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको ललितपुर गाउँ छ वर्षसम्म सुनसान रह्यौ। थातथलो छाडेर अन्यत्र विस्थापित स्थानीयहरु मोहना र घुरहा नदीका कारण छ वर्षसम्म पुरानो ठाउँमा बसोबास र खेतीपाती गर्न सकेनन्। उनीहरु विभिन्न ठाउँमा रहेका आ–आफ्ना आफन्तहरुको सहारामा जिविका चलाए। तर, केहि वर्ष अगाडि मोहना नदीमा जैविक तटबन्ध बनाइएपछि जग्गा कटानी रोकिएको छ। जग्गा कटानी रोकिएसंगै ३० परिवार २०७० मा पुनः थातथलो फर्केका छन्।
पुरानै गाउँमा झुपडी बनाएर बसेका उनीहरुले बगर बनेको जग्गामा विगत दुई वर्षयता सामूहिक उखु खेती गर्दै आएका छन्। करिब ११ विघा जमिनमा गरिएको उखु खेतीले नदीमा बगेको स्थानीयको खुशीलाई फर्काएको छ। सामूहिक उखु खेतीले आम्दानी हुनुका साथै बलौटे जमिनलाई मलिलो बनाउने काम गरेको स्थानीयले सुनाएका छन्। यसवर्ष माटो मलिलो भएपछि गहुँ खेती समेत गरिएको छ।
बाढीका कारण ठूलो दुःख पाएका बेला बलौटे जमिनमा गरिएको सामूहिक उखु खेतीले गाउँमा खुशी फर्काएको सो गाउँका अगुवा गयादिन चौधरीले बताउनुभयो। उहाँले फर्केका मध्ये २२ परिवारले सामूहिक उखु खेती गर्दा त्यसले ठूलो राहत भएको जानकारी दिनुभयो।
मर्सिकोरको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलालीले आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना लागू गरेर स्थानीयहरुलाई उखु खेतीमा अग्रसर गराएको हो। उक्त परियोजनाको सहयोगमा उखु खेती थालेका स्थानीयहरु अहिले खुशी छन्।
‘यो खेतीले काम र दाम दुवै दिएको छ’, अटुवारी चौधरीले सुनाउनुभयो–’गुजाराका लागि मजदुरी गर्दै आइएकोमा त्यो काम पनि अहिले गर्नु परेको छैन।’ उखु बेचेर उनीहरुले एउटा ट्रयाक्टर, ट्रली र पम्पसेट किनेका छन्। आम्दानीको रकम समूहको कोषमा राखिएको छ भने यसवर्ष केहि रकम समूहमा आवद्ध परिवारलाई बाँडिएको छ। कोषको रकम आपतविपद्मा सहयोग गर्ने गरेको जनाइएको छ।
बगर बनेको खेतमा उखु खेती गरेपछि गाउँलाई दोहोरो फाइदा भएको स्थानीय राजकुमारी चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो–’एकातिर हाम्रो बलौटे जग्गा अन्य बालीका लागि योग्य बनेको छ भने अर्कोतिर आम्दानीमा समेत वृद्धि भएको छ।’ गहुँ, धान बाली भन्दा उखु खेतीले बढी फाइदा भएको उहाँले सुनाउनुभयो।
आफूहरु दुःख गरेर पुनः गाउँ फर्के पनि बाटो र विजुली नहुँदा भने ठूलो समस्या भएको स्थानीयको भनाइ छ। गाउँबाट हुलाकी सडकसम्म पुग्नका लागि बाटो नहुँदा ओहोर दोहोरमै समस्या भएको सोनिया चौधरीले दुखेसो गर्नुभयो। ललितपुर गाउँ उपमहानगरपालिकाभित्रै भए पनि आफूहरुको जीवन बत्तीमुनीको अँध्यारो जस्तै रहेको उहाँको भनाइ छ।
ललितपुर गाउँ पुग्नु भएका जिल्ला विकास समिति कैलालीका विमल ओझाले बाटोका लागि आफ्नो कार्यालयमा कुरा राख्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले सरोकारवाला निकायलाई झक्झक्याई राख्न गाउँबासीलाई आग्रह समेत गर्नु भएको छ।
‘प्रक्रिया अनुरुप तपाईहरु योजना माग्नुस’, उहाँले भन्नुभयो–’लक्षित वर्गका लागि आउने कार्यक्रम पनि तपाईहरुको गाउँलाई पर्न सक्छ।’
ललितपुरबासीहरुको प्रयासको प्रशंसा गर्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख युवराज पाण्डेयले बगर खेतीका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले स्थानीयहरु इच्छाएमा तरकारी खेतीमा सहयोग गर्न कृषि विकास कार्यालय तत्पर रहेको बताउनुभयो।
‘तपाईहरु गर्छौं भन्नुस, हामी सहयोग गर्न तयार छौं’, पाण्डेयले भन्नुभयो–’तर, व्यावसायिक रुपमा अगाडि बढ्ने गरी प्याकेज बनाएर आउनुस।’ उहाँले तरकारी खेतीको कार्यक्रमबाट पनि आयआर्जन हुने उल्लेख गर्नुभयो।
छ वर्षसम्म सुनसान बनेको ललितपुर गाउँमा पुनः खुशी छाउन थालेको छ। कृषिमा आधारित कामले जिविकोपार्जनमा सहज भएपछि गाउँमा केहि हद्सम्म चहल पहल बढेको देख्न सकिन्छ।