शान्ति चौधरीको ६२औं कृति विमोचन

Shanti chaudhary book lunch

लेखिका तथा कवियत्री शान्ति चौधरीको ६२औं कृति हिन्दी भाषाको कविता संग्रह मेरी कवितामे मोदीको पुस्तक चैत १७ गते विमोचन भएको छ। सिर्जना विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद आरजु देउवाले पुस्तकको विमोचन गर्नु भएको हो। पुस्तकको विमोचन गर्दै  देउवाले भने- समाजसेवा संगसंगै आफ्नो उमेरभन्दा बढी कृति लेख्ने कवियत्री शान्तिबाट अन्य दिदी बैनीहरुले पनि प्रेरणा लिन सक्नुपर्छ।

सो अवसरमा ग्वालदह दक्षिणकाली क्षेत्रका श्रीमति विष्णु तिमिल्सिना लगायत ४ जना महिलालाई भूकम्पपीडितलाई सहयोग पुर्‍याएकोमा सम्मान गरिएको थियो। पुस्तकको पहिलो भागमा भारतीय प्रमं मोदीबारे तथा दोश्रो भागमा भूकम्पसंग सम्बन्धित कविता छ। थारु पत्रकार संघका अध्यक्ष तथा साहित्यकार कृष्णराज सर्वहारीले विमोचित पुस्तकबारे प्रकाश पार्नु भएको थियो।

५७ बर्षको उमेरमा पनि कवियत्री शान्ति चौधरी पद्मकन्या विद्याश्रम उच्च माविमा प्लस टु अध्ययनरत छिन्। पद्मकन्या विद्याश्रम उच्च माविकी प्राचार्य रीता तिवारीले लेखिका चौधरीको पीएचडी पूरा गरी छाड्ने अठोटले प्लस टु पढ्न आएको सुनेर आफू छक्क परेको बताउँदै उहाँबाट आफ्नो स्कूलका किशोर किशोरीहरु अघि बढ्न हौसला पाएको बताइन्। कार्यक्रममा सांसदद्वय कमला पन्त तथा राजन केसीले आफैमा पाठशाला रहेकी शान्ति चौधरीबाट धेरैले सिक्नु पर्ने धारणा राखेका थिए। कार्यक्रम सिर्जना विकास केन्द्रका कार्यबाहक अध्यक्ष जनक तामाङको अध्यक्षतमा प्रज्ञा प्रतिष्ठानमा भएको थियो।

Leave a Reply

Your email address will not be published.