शिवानीसिंह थारूलाई १३ आरोप : तपाईँ पुरूषको अस्तित्व स्वीकार्न नचाहने महिला हो ?

shivani-singh-tharu

मोडलिङ, सञ्चारकर्म हुँदै लेखनमा लागेकी शिवानीसिंह थारू नामभन्दा पनि ब्रान्ड भइसकेको छ । मानवअधिकार, सामाजिक न्यायमा बेलाबेला आवाज उठाइरहने शिवानी अहिले पहिलो उपन्यास लेखनमा सक्रिय छिन् । २०७३ भित्र उपन्यास ल्याइसक्ने बताउने शिवानीका प्रशंसक र आलोचक उत्तिकै छन् । यसपटक बाह्रखरीका लेनिन बञ्जाडेले विभिन्न क्षेत्रका ५ व्यक्तिसँग उनीमाथिका १३ आरोप लिएर सोधेका छन्ः

१) कुनै बेला मेरो गीत मेरो सन्देश जस्ता चर्चित कार्यक्रम चलाउने शिवानीसिंह थारू अचेल कता हराइन् ?
टेलिभिजनको पर्दाबाट हराएको भन्न खोजेको हो भने हराएकै हो । कसैले टेलिभिजनकै पर्दामा खोजिराखेका छन् भने केही समय पर्खिनुपर्ला । भेट्न कसैले खोजेका छन् भनेमेरो नयाँ ठेगाना सबैलाई थाहै छ । आजकाल त्यतै झुल्किने गरेकी छु ।

२) तपाईंले उपन्यास लेख्छु भन्न थालेको एक दशक हुन लागिसक्यो । किन ढाँटनुभएको ? अझै कति दशक पर्खिनुपर्ने हो ?
एक दशक भएको छैन । हुन लागेको छ । लेख्दै नलेखेर लेखिराखेकी छु भने पो ढाँटेको भन्न मिल्छ । लेखिराखेकै छु । आफ्नै डेडलाइन उछिनेर हो भनेको कुरा नमिलेको । अब किन ढिला भयो भन्ने हो ! यसको कारण पनि रोचक नै छ । अहिले भन्यो भने स्पष्टीकरण दिएझैं सुनिन्छ । उपन्यास आएपछि भन्दा बल्ल औचित्य पुष्टि हुन्थ्यो । त्यसैले यो प्रश्नको उत्तर अहिलेलाई उधारो ।

३) तपाईं पुरूषको अस्तित्व नै स्वीकार्न नचाहने महिला हो रे ! टिप्पणी गर्नेहरू त्यसै भन्छन् । सही हो कि गलत ?
कुन आधारमा यसो भनियो, बुझिएन । तर,जेठमा नेपालगन्ज जाँदा त म मच्छडको अस्तित्व स्वीकार्ने मान्छे, कहाँ पुरुषको कुरा गर्नुभएको ! मलाई माया गर्ने पुरुष, मलाई हेला गर्ने पुरुष, मलाई इज्जत गर्ने पुरुषहरुले गर्दा नै म महिला हुनुको परिपक्वता अनुभूत गर्छु ।

४) सामाजिक सञ्जालमा तपाईं आक्रामक हुनुहुन्छ । कसैले तपाईंको कुरामा असहमति जनाउँदा पनि गाली गर्नुहुन्छ भन्छन् । किन त्यसो गर्नुहुन्छ ?
सामाजिक सञ्जाल धेरैले धेरै कुराका लागि चलाउँछन् । म मेरो आवाज मुखर गर्न प्रयोग गर्छु । राज्यप्रति मेरो असहमति नै होइन, आक्रोश छ– जसरी अहिले आम नेपालीमा छ । राजनीतिका ठेकेदारहरुको डबल स्ट्यान्डर्ड देखेर तीब्र घृणा हुन्छ । जसरी अहिले आम नेपालीलाई छ । मैले त्यही गरिराखेकी छु, जुन सबैले गरिराखेका छन् । फरक के छ भने म चिनिएको भएर मेरो आवाज चर्को सुनिन्छ ।
आजसम्म मुखै छाडेर मैले गाली गरेकी त छैन । दन्तबझान त भइराख्छन् । त्यति नगरे छाला कसरी बाक्लो हुने ?

५) तपाईंको व्यक्तित्व ग्ल्यामरस छ । ग्यालमरले मात्रै टिकिरहन्छु जस्तो लाग्छ ?
कुनै लाइट र क्यामराबिना नै मलाई ग्ल्यामरस देख्नुहुन्छ भने त राम्रो कुरा हो । म ग्ल्यामरस भएरै तपाईंहरुले यो अन्तर्वार्ता लिनुभएको हो ? हो भने धन्यवाद । होइन, यसबाहेक अन्य कारणले पनि अन्तर्वार्ता लिनुभएको हो भने म त्यसकै भरमा टिकेकी हुँ ।

६) एकपटक बलात्कारी पुरुषको लिंग काट्नुपर्छ भन्नुभयो, खुब हल्लीखल्ली भयो । यो त हिटलर शैली भएन र ?

मलाई अहिले पनि लाग्छ– बलात्कारीको लिंग काटिनुपर्छ । राज्यले यही सजाय तोक्नुपर्छ बलात्कारीका लागि । लिंग काटिनु भनेको मार्नु होइन, क्रूरचाहिँ हो । सोच्नुस् त ! बलात्कार गरिएकी महिला कसरी हरेक दिन त्यो अपमानबोधमा बाँच्नुपर्छ । यस्तै खालको सजाय बलात्कारीलाई दिनुपर्दा अरु के हुन सक्छ ? मेरो आक्रोशित दिमागले योभन्दा उपयुक्त सजाय अरु सोच्न सकेन । अरुको दिमागमा आए मोस्ट वेलकम । तर, हाललाई बलात्कारीले हरेक दिन त्यो हिंसासित बाँच्ने सजाय भनेको यही नैहो जस्तो लाग्छ ।

७) बुवाको नाम र जातले तपाईंलाई धेरै अवसर दियो भनियो भने सही हुन्छ कि गलत ?
म राजनीतिमा लागेको भए मलाई मेरो बुवाको नाम र जात दुवैले फाइदै फाइदा हुन्थ्यो होला । तर, मैले टेलिभिजमा काम गरें, रेडियोमा काम गरें, नाटकमा काम गरें, मोडलिङ गरें, अहिले साहित्यकर्ममा छु । यी क्षेत्रमा तपाईं फत्तेहसिंह थारुकी छोरी हुनुस् वा बाराक ओबामाकी– तपाईंलाई तपाईको मेहनतबाहेक कसैले साथ दिँदैन ।

८) तपाईं सञ्चारकर्म र लेखन क्षेत्रमा जम्नुभयो । तर, तपाईंको लेखनमा थारुलगायत सीमान्तकृत समुदाय किन अटाएनन् ? लेखनमा पनि वर्ग हुन्छ ?
यो प्रश्नको जवाफ म मेरो उपन्यास आएपछि दिनेछु ।

९) तपाईं कतै पनि अडिन नसक्ने, जता पनि हात हाल्ने गर्नुहुन्छ भन्ने सुनिन्छ । सबै चिजको अनुभव लिनुपर्छ भनेर हो कि काम गर्न नसकेर ? खासमा तपाईंको परिचय के हो ? मोडल, सञ्चारकर्मी, लेखक वा अरू केही ?
म मिडियामै छु । क्षेत्र मेरो उही हो, मात्र माध्यम फरक भएको हो– समयसमयमा । म डाक्टरबाट पाइलट भएकी होइन । मोडल हुँदा भावभंगिमामा म अभिव्यक्त हुन्थें/हुन्छु । रेडियो नाटक लेख्दा नाटकमा अभिव्यक्त गर्थें/गर्छु । टेलिभिजनमा हुँदा म आफैं प्रस्तुतिहरुमा अभिव्यक्त हुन्थें/हुन्छु । अहिले मैले उपन्यास लेखिरहेकी छु । मैले आफू साथसाथै एउटा समाज अभिव्यक्त गर्दैछु । खास भन्ने हो भने मैले अहिले पनि यी सबै कुरा गरिराखेकै हुन्छु ।

जसका लागि जुन कर्मले म बेसी चिनिन्छु, मेरो परिचय त्यही हो । मलाई फोटोसेसन गर्ने फोटोग्राफरहरुले मोडल भन्दा मैले सच्याउने गरेकी छैन ।

१०) तपाईंमा के कुराको घमण्ड छ ?
मलाई कुनै कुरामा घमण्ड छैन । साथसाथै मलाई सबै कुरामा घमण्ड छ । आफूसँग जे–जे छ, त्यही कुरामा मलाई घमण्ड छ । आफूसँग जे–जे छैन, त्यही नहुनुमा पनि मलाई घमण्ड छ । मलाई आफू हुनुमा घमण्ड छ ।

११) मिडियासँग नजिक भएर तपाईं बेलाबेलामा चर्चामा आइरहनुहुन्छ भन्ने आरोप लाग्यो भने कसरी खण्डन गर्नुहुन्छ ?
म बालै दिन्नँ । चल्नैपर्ने विषयमा चर्चा चल्दा किन टाउको दुखाउने ? त्यसपछि मिडियासँग नजिक हो किटाढा– तपसिलका विषय हुन्छन् ।

१२) हामी केटकेटी हुँदा पनि यस्तै देखिनुहुन्थ्यो, अहिले पनि उस्तै देखिनुहुन्छ । मेकअपमा सालाखाला कति खर्च गर्नुहुन्छ ?

मैले टेलिभिजन कार्यक्रम गर्दाप्रयोग गरेको मेकअप किट अहिलेसम्म बाँकी छ । अहिले पनि मैले त्यही चलाइरहेकी छु । मेरो खर्चजति किताबमै जान्छ । अँ उस्तै देखिन्छु कि देखिन्नँ, थाहा छैन । देखिन्छु भने त्यो मलाई माया गर्नेको लाली हुनुपर्छ । प्रेममा परिरहनू, हरियाली त्यसै भइराख्छ ।

१३) विवाहबारे तपाईंको धारणा के हो ? मान्छेलाई जोडी किन चाहिँदोरहेछ ? वा चाहिन्न ?
मेरो विवाह भएको आठ वर्ष भयो, मैले अहिले पनि विवाहबारे ठोस धारणा बनाउन सकेकी छैन । अरुले भन्ने जस्तो ‘सेटल’ हुन मैले विवाह गरेकी थिइनँ, भइनँ पनि । मेरा श्रीमान् अहिले पनि मेरा प्रेमी हुन् । हामी धेरै कुरामा खुसी छौं, केही कुरामा दुःखी । मेरो लागि विवाह यही हो । मान्छेलाई जोडी वा साथी त चाहिन्छ तर त्यसका लागि बिहे नै गर्नुपर्छ भन्ने छैन ।

Leave a Reply

Your email address will not be published.