पुष्पराज जोशी
पश्चिम तराईबासी राना र कठरिया थारू समुदायमा होरी (होली) पर्वको रौनक सुरु भएको छ। माघ शुक्लपूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा सो पर्वको रौनक छाएको हो। यस्तै, कैलालीमा मात्रै बसोबास गर्ने कठरिया थारू समुदायलाई पनि एक महिना अगाडिदेखि होरी पर्वले छोइसकेको छ।
रानाथारू रातिको समय होरी नृत्य गर्न व्यस्त हुने गरेको पूर्व सभासद मालामती राना बताउँछिन्। ‘अहिले केटाकेटी रातिको समयमा एक महिनासम्म नाचगान गरेर होरी पर्व मान्छन्। यसलाई हाम्रो भाषामा ‘जिन्दा होरी’ (जिउँदो होलि) भनिन्छ।’ जिन्दा होरी चीर दहन नभएसम्म खेलिने गरेको राना बताउँछिन्। राना थारूले होरी पर्व सुरु भएको पहिलो दिनदेखि एक महिनासम्म आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने गर्दछन्। उक्त चोरेको गुइँठा र तोरीको डाँठबाट होलिका बनाई चीर दहन गर्ने गरेको रानाथारू अगुवाहरू बताउँछन्।
उता, कठरिया थारू समुदायमा पनि चीर दहनसम्म होरी नाचगान धुमधामसँग हुने गरेको छ। आफ्नो क्षेत्रमा अहिले युवायुवती घर–घरमा गएर होरी नाच नाचिने गरेका पवेराका रामकुमार महतो (कठरिया) ले बताए।। होरी नाच पुस महिनाको वैवाहिक कार्यक्रमबाटै सुरु हुने गरे पनि अहिलेको पुस्ताले विस्तारै यस्तो संस्कार त्याग्दै गइरहेको महतोले बताए। कठरिया समुदायमा चार प्रकारको होरी हुने गरेको सन्तोष कठरियाले बताए। उनका अनुसार ठर्मा होरी (पुरुष महिला सहभागी हुने), बन्ना होरी (पाका पुरुषमात्रै सहभागी हुने), मिच्चा होरी (महिला मात्रै सहभागी रहने) र एकल होरी (आधुनिकतामा आधारित) कठरिया थारू समुदायले मनाउँछन्। चीर दहनपछि राना र कठरिया थारू दुवै समुदायमा सात दिनसम्म रङ् तथा अबिर एक–अर्कामा छ्याप्दै रङ्गिन होली खेल्ने र नाचगान गर्ने चलन छ।
बेलादेवीपुर कैलालीका विजय राना एक महिनादेखि होरी सुरु भइसकेको बताउँछन्। मथुरामा श्रीकृष्णले गोपिनी र राधासँग खेलेको लयमा आधारित गीत गाउँदै रानाथारू ‘मथुरा होरी’ खेल्ने गरेका हुन्।
मथुरामा कृष्ण भगवान्ले खेलेको होरीकै लयमा आफूहरू होरी खेल्ने गरेको विजय बताउँछन्। ‘होरीमा हामी युवायुवती मिलेर सँगै गोलवद्ध भई फाग, होरी गीत गाउँदै रमाइलो गर्छौ तर यो समयमा भने रंग लगाउँदैनौ,’ उनले भने, ‘जब होलिकाको पुतला बनाई चीर दहन गरेपछि भने रंगको टीका लगाएर मात्रै दिउँसो होरी खेल्छौँ त्यो भन्दा अघि राति मात्रै होरी खेल्ने गरिन्छ।’ ‘मथुरा होरी’ रानाथारूको आफ्नै संस्कृति भएको विजय बताउँछन्।
‘कृष्णको श्रद्धामा हामीले एक महिनादेखि होरी खेल्ने गरेका हौँ,’ स्थानीय केवल राना भन्छन्, ‘हाम्रो होरी र पहाडी समुदायको होरी संस्कृति मिल्दोजुल्दो छ।’
रानाथारू समुदायको प्रमुख चाड ‘होरी’ भएको पूर्व सभाषद नारदमुनी राना बताउँछन्। माघ शुक्ल पूर्णिमादेखि सुरु भएको होलि राति मात्रै खेल्ने गरिन्छ। जब फागु पूर्णिमाका दिन चीर दहन गरेपछि भने दिउँसो खेल्ने गरिन्छ। यसरी चीर दहन पछि दिउँसो खेलिने होलिलाई रानाथारू ‘मरी होरी’ भन्ने गर्छन्। ‘होलिकाको चीर दहनपश्चात् (होलिकालाई मारेरको खुसीयालीमा) मरी होरी भन्दै दिउँसो खेल्ने गरिएको हो,’ राना कला एवम् संस्कृति सम्बर्द्धन समाज बेलादेवीपुर कैलाली अध्यक्ष महावीर रानाले भने।
राना पहिरन (पुरुषले झगयी, फेटा र महिलाले गोट, घँघरिया, मँगिया, उनिया, घुँघट, रुखा) मा सजिएर ढोल बजाउँदै गोलबद्ध भई कृष्ण चरित्र, राम चरित्र, देवी देउताका वीरताका गाथा गाउँदै खेल्ने गरिन्छ। चीर दहनपछि मात्रै रंगको टीका लगाउने गरिए पनि त्यो भन्दा अघि भने रानाथारूले रंगबिना गीत गाएरै होलि खेल्ने गर्छन्। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारूको जनसंख्या साढे तीन लाख रहेको पूर्व सभासद नारदमुनि बताउँछन्।