कांग्रेसलाई गच्छदारको महंगो ‘जय नेपाल’

Bijay Gachhdar

उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेपाली कांग्रेसमा लामो योगदान गरेका पूर्वकांग्रेस नेता हुन् । कांग्रेस छाडेर मधेसी जनअधिकार फोरममा लागेपछि गच्छदारले ‘जय नेपाल’ भन्न छाडेको धेरै वर्ष भइसकेको छ । तर, विहीबार उनले निकै महंगो मूल्य तिरेर खुल्लामञ्चबाट दुईपटक ‘जय नेपाल’ उच्चारण गरे । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शुभकामना दिन मञ्चमा उभिनासाथ उनले सहभागीहरुलाई ‘जय नेपाल’ शब्दले सम्बोधन गरे ।

सम्बोधनका क्रममा उनी निकै भावुकजस्तो देखिएका थिए । सम्बोधनको अन्त्यमा पनि उनले ‘जय नेपाल’ भन्न छुटाएनन् ।

गच्छदार विहीबार बिहानसम्म बिराटनगरमा थिए । आफ्नो मातृपार्टीको अधिवेशनमा पाहुनाकारुपमा निम्त्याइएपछि गच्छदार विहीबारै बिराटनगरका विमान चढेर काठमाडौं आएका हुन् । उनी खुल्लामञ्चमा पुग्दा कांग्रेस नेताहरु आइसकेका थिएनन् । गच्छदारले केहीवेर मञ्चमा चित्रबहादुर केसीसँगै बसेर राधिका हमालको दोहोरी सुनेपछि बल्ल रामचन्द्र पौडेल, कृष्ण सिटौला र शेरबहादुर देउवाहरु मञ्चमा आइपुगे ।

‘म आजै बिराटनगरबाट आएको हुँ, र अहिले फेरि बिराटनगरतिरै र्फकँदैछु,’ करिब पाँच मिनेट बोलेका गच्छदारले भने- ‘म यत्तिका लागि आज बिराटनगरबाट काठमाडौं आएको हुँ ।’

उपप्रधानमन्त्री गच्छदारले बिरानगरबाट विमानमा ओहोर-दोहोर गरेका कारणले मात्रै उनको ‘जय नेपाल’ महंगो भएको होइन, बरु आफूले दशकौं रगत र पसीना बगाएको पार्टीबाट आज अलग हुनुपर्दाको पीडा पनि उनको अनुहारमा प्रष्ट झल्किएको देखिन्थ्यो । आफूले छाडेको घरमा फर्किँदा यस्तो हुनु स्वाभाविकै पनि हो ।

शायद यही भएर हुनुपर्छ, गच्छदारले आफ्नो मन्तव्यमा आफ्ना ‘आदर्श पुरुष’ वीपी, सुवर्णसमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सबैको एक-एक गरेर प्रशंशा गरे । आफ्नो जीवनको महत्वपूर्ण हिस्सा खर्च गरेको पार्टीको अधिवेशनमा प्लेनबाट आहोर-दोहोर गरेर पाँच मिनेट शुभकामना दिएका गच्छदारलाई अब कांग्रेसमै फर्कौं-फर्कौं जस्तो पो लाग्यो कि ? रिजर्भमा बस्न रुचाउने गच्छदारको मनको बात उनैले जानून् ।

Leave a Reply

Your email address will not be published.