अशोक थारू
आज भन्दा ४६ बर्ष अगाडि २०२६ सालको कुरा हो। त्यस बेलाको चर्चित तर अहिलेको बिरान नाका कोइलाबासबाट एकजना मधेशी मूलका किराना पसले अब्दुल वकिल सिद्दिकी सपरिवार दाङ जिल्लाको हेकुली गाउँमा आइपुगे, थुप्रै घोडाहरूमा सामान बोकाएर खुद्रा पसल थाप्न। चर्चित नाकाबाट मोफसलको गाउँमा आउनुको उद्देश्य बाणिज्यमा फड्को मार्नुभन्दा हेकुली गाउँलाई नगरमा परिणत गर्ने उद्देश्य बोकेर हिंडेका स्थानीय धरणीधर चौधरीको काँधमा काँध मिलाउनु पनि थियो। गाउँमा सहजै नदेखिने हीरो साइकिल पनि उनले आफूसँग ल्याएका थिए, जो यो पंक्तिकारका लागि मनोरञ्जनको साधन बन्थ्यो।
कालान्तरमा उनले एकजना शरीफ कपडा पसले र एकजना लक्का जवान टेलर मास्टरलाई पनि ल्याए। उनी र कपडा पसले नमाज अदा गर्थ्यो भने टेलर मास्टर प्रायः हिन्दी फिल्मी गीत गुनगुनाइ रहन्थे। यसरी हेकुली गाउँ मात्र हैन, पुरै गाउँ हेकुली पञ्चायतवासीका लागि वर्ष भरीको उपभोग्य सामग्रीको विकल्प बने यिनी। उनको पसलमा यो पंक्तिकारका लागि आकर्षण सुन्तला स्वादको पिपरमेन्ट र सीसाको गोली प्रमुख वस्तु थिए। यसै सन्दर्भमा एकपटक लोकगायिका कोमल वलीले सोधेकी थिइन्, “अशोक दाई, हेकुली स्कुलमा पढ्दा हामीले सीसाको गोली खेलेको सम्झनु हुन्छ?” जबकि यो मेरो प्रसङ्ग मानसपटलबाट लुप्त भइसकेको थियो।
हेकुलीको सात वर्षको व्यापार पश्चात २०३३ सालमा उनी तुलसीपुरमा कपडा व्यापारीको रुपमा स्थापित भए। उनले आफ्नो पसलमा साईनबोर्ड झुण्डयाए “हेकुली क्लाथ हाउस”। २०३६ सालमा सल्यानको कालाखोलामा दोश्रो कपडा पसल थापे, जसको साईनबोर्ड पनि “हेकुली क्लाथ हाउस” नै झुण्डियो। २०४५ सालमा सो कपडा पसल श्रीनगरमा स्थापित भयो। २०६७ सालमा तुलसीपुरमा तेश्रो कपडा पसल खोले, जसको बोर्ड पनि त्यहि “हेकुली क्लाथ हाउस” नै झुण्डियो।
“वकील भैया! आपके दुकान में कहाँ कहाँ से माल आता है?”
उनले हाँस्दै भने, “तीनों दुकानों में नैपाल के बुटवल, नैपालगञ्ज, भैरहवा, बीरगञ्ज, काठमाडौं और हिन्दुस्तान की अहमदाबाद, सुरत, कानपुर, गोरखपुर, बढनी से कपडा आता है। नैपाल और हिन्दुस्तान की सभी फर्मों में हेकुली क्लाथ हाउस का नाम ही दर्ज है। मैनें हेकुली का नाम हिन्दुस्तान तक फैला दिया है।
उनको हेकुली क्लाथ हाउसको माध्यमबाट नेपाल र हिन्दुस्तानमा हेकुली गाउँको नाम र अस्तित्व कायम हुनु, हेकुलीका लागि सानो प्रतिष्ठाको कुरा थिएन।
वकील भैया! “आपने अपनी दुकान का नाम “हेकुली क्लाथ हाउस” हि क्यों रखा?”
उनी बडा गम्भीर मुद्रामा बोले, “इस्लाम सबको मिलाकर लेजाता है, सभीको सही रास्ता दिखाता है, आपस में मेलमिलाप बनाए रख्ना सिखाता है, इमानदारी, सच्चाई सिखाता है, कुरान सरीफ बुराई से रोकती है, हमारा मजहब कहता है, अपने वतनका सबको मोहब्बत होना चाहिए। उस हिसाब से हेकुली में हमको जो प्यार मिला, हमारी जो उन्नति हुई, उससे जो लगाव हुआ, उसे हम भूल नहीं पाए, इसलिए हमने अपनी दुकान का नाम हेकुली के नाम से रखा। जिस मिट्टी ने हमें यहाँ तक पहुँचाया, उसकी सोंधी महक को हम कैसे भूल सकते हैं! आपने कभी ख्याल किया है, अशोक बाबु! आपके ही घर में एक कुतिया थी, शेरा नाम था न उसका? कितना प्यार से पाला था आप लोगों ने उसको! आप लोग जब उसके सर और बदन पे हाथ फेरते थे तो वह कितनी खुश होती थी! उसके बदले आपके घर की रखवाली करते करते वह एक दिन मौत के घाट सो गई। बाघ से लड पडी थी न वह! उनले प्रति प्रश्नको शैलीमा सोधे।
उनी बोलिरहेका थिए। म मौन सुनिरहेको थिएँ। उनीद्वारा बोलिएका हरेक शब्दले मेरो संवेदनालाई झक्झक्याई रहेको थियो। म आत्मग्लानीमा डुबिरहेको थिएँ। उनले कुरा त मेरो घरको कुकुर शेराको गर्दै थिए। तर कुकुरलाई प्रतीक बनाएर कुकुर जत्तिको संवेदना पनि हामी प्राणीमा सर्वश्रेष्ठ कहलिएका मानिसमा छ कि छैन भन्ने भाव अभिव्यक्त गर्दैछन् जस्तो लागि रहेको थियो। उनले हेकुली छाडी तुलसीपुरमा स्थापित भएको ३९ वर्षमा मेरो जन्मथलो हेकुलीप्रति उनको अन्तरमनमा भएको संवेदनाको सम्मानको मुल्य चुकाउन म कतिपटक हेकुली क्लाथ हाउसमा गएँ? ईद र बकरीदमा कति पटक मैले उनलाई मुबारकबाद दिएँ? सौहार्दता र सद्भावलाई किन मैले आफ्नो संस्कृति र सभ्यता बनाउन सकिनँ? खुद्रा पसलबाट तीन तीनवटा हेकुली क्लाथ हाउसको स्वामीको रुपमा रुपान्तरित हुँदा उनी कति उकाली चढे होलान्, कति ओराली झरे होलान्! उकालीका त सबै साथी हुन्छन्। तर ओरालीमा कतिपटक मैले संवेदना जताएँ? उनमा आएको हेकुलीको माटोको सोंधी खुश्बू अरु मधेसी मूलका व्यापारीहरूमा किन आएन?
वर्तमान मधेस आन्दोलनको सन्दर्भमा मैले एक दिन उनलाई सोधें,“वकील भैया! इस वक्तका एक मधेस एक प्रदेश के लिए जो आन्दोलन हो रहा है, उसको आप किस नजर से देखते हैं?
उनले बडा गम्भीर मुद्रामा जवाव दिए, “देखो अशोक भैया! हवा देने वाले तो बहुत मिलते हैं, अपने वतन का सबको मोहब्बत होता है और होना भी चाहिए।
उनी थोरै शब्द बोल्थे तर भाव विशाल हुन्थ्यो। उनले बोलेको अल्फाज “हवा देने वाले तो बहुत मिलते हैं” ले मधेस आन्दोलनको बहानामा नेपालले भोग्नु परेको पीडाको भाव झल्किन्थ्यो। संघीयताको नाममा विश्वको नक्सामा नहराएको नेपाल हिजोको बाइसे चौबीसे त नभनिएला तर सिक्किमीकरण होला कि भन्ने आशंका झल्किरहेको थियो। उनको भाव ंसँगसँगै यो पंक्तिकारको मानसिकतामा केहि दिन अगाडिको सन्दर्भ झल्कियो।
एक दिन प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष नारायण रेग्मी र हिन्दू जागरण मञ्चका अध्यक्ष योगी भेटिए। उनीहरू बिच थारू मिश्रित मधेस आन्दोलनको बारेमा वार्तालाप जारी थियो। सधैंझैं मेरो हत्केला आफ्नो हत्केलामा लिएर मुसार्दै वार्तालाप थाल्ने गुरुजीले (नारायण रेग्मी) यस पटक त्यसो गरेनन्। उनले योगीजीलाई भने, “यस विषयमा अशोकजीलाई सोध्नुहोस्।
योगीजीको प्रश्न थियो, “आन्दोलनमा मधेस र थरुहटको गठबन्धनको बारेमा तपाईको के विचार छ?”
यो पंक्तिकारले भन्यो, “महाभारत युद्धमा कर्ण जुन परिस्थितिमा थिए, वर्तमान अवस्थामा राज्यले थरुहटलाई पनि त्यहि परिस्थितिमा उभ्याई दिएको छ। नेपालका निवर्तमान प्रधानमन्त्रीलाई अखण्ड नेपाल होइन, अखण्ड सुदूरपश्चिम चाहिन्छ। तत्कालीन प्रधानमन्त्रीबाट पनि उक्त कुरा नै अनुमोदन हुन्छ। राजनीतिको सन्दर्भमा के न्युटनको थर्ड ल (तेश्रो नियम) को अस्तित्व बिर्सिएकै हो? के राजनीतिज्ञहरूको मनमस्तिष्क कर्कलाको पात भइसकेको छ? यदि हो भने यो गठबन्धन त्यसैको परिणति हो। तर राष्ट्रियताको सवालमा थारूहरूले पनि बुझ्नुपर्ने गाँठी कुरा के छ भने वर्तमानमा निर्माणाधीन हुलाकी सडकदेखि दक्षिणतर्फको सम्पूर्ण भूभाग सुस्तामा रुपान्तरित हुँदैछ। अतः थारूहरू सुस्तावासी भएर बाँच्ने कि नेपालवासी भएर?
जे होस्, यदि वर्तमान नेपालको नक्सामा मधेस छ भने मधेसवासीहरूलाई मात्र हैन, समस्त नेपालीहरूलाई यस आलेखका मुख्य पात्र वकील सिद्दिकीको भावपूर्ण अभिव्यक्ति “अपने वतन का सबको मोहब्बत होता है और होना भी चाहिए।” को सम्मानस्वरुप आफ्नो मानसिकतामा परिवर्तन गर्न गराउन प्रेरणा देओस्। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने भनाई चरितार्थ नभइदेओस् भन्ने शुभकामना। वादे वादे जायते तत्व बोधः।
थारु पत्रकार संघ नेपालको मुखपत्र फूलरियाबाट साभार