थारु होमस्टे र माघी महोत्सवको मजा भादागाउँमा

tharu mahotsav kailali 01

थारू समुदायको महत्वपूर्ण पर्व माघीको पूर्व सन्ध्यामा थारूबस्ती भादागाउँमा महोत्सव सञ्चालन भएको छ। महोत्सवमा थारू समुदायका भेषभूषा, संस्कृति, खानाका परिकार आकर्षण बनेका छन्। करिब पाँच महिना लामो आन्दोलन, एक महिना कर्फ्यु र नाकाबन्दीले दिक्क भएका कैलालीवासी थारू गाउँमा चलिरहेको महोत्सवमा रमाइरहेका छन्। कैलालीको थारू गाउँमा सञ्चालन भएको महोत्सवले थारू समुदायका संस्कृति, पहिचान उजागर गर्नुका साथै समाजिक सद्भाव बढाउन सहयोग गरेको छ।

पुस १७ मा सुरु भएको ‘थारू होमस्टे गाउँ भादा महोत्सव २०७२’ मा पहाडी र थारू समुदायका युवा, युवतीलगायतकाको उल्लेख्य सहभागिता रहेको पाइएको छ। पाँच महिनादेखिका घटनाक्रमले असहज अवस्थामा रहेको कैलालीमा यो महोत्सवले मनोरञ्जनका साथै सद्भाव बढाउन सहयोग पुर्‍याएको विश्लेषण गरिएको छ।

tharu mahotsav kailali 03

‘थारू बस्तीमा भइरहेको महोत्सव थारू संस्कृति प्रवर्द्धनका साथै समाजिक सद्भाव बढाउन महत्वपूर्ण बनेको छ,’ थारूवान, थरूहट संयुक्त संघर्ष समिति कैलाली सचिव माधव चौधरीले भने, ‘महोत्सवमा सबै समुदायको सकरात्मक सहभागिता रहेको छ।’ एउटै थलोमा विभिन्न ठाउँबाट आएका युवायुवतीलगायतका दर्शक भरपुर मनोरञ्जन लिइरहेका छन्। कांग्रेस कैलालीका रमेश जोशी पनि यतिबेला सञ्चालन भएको थारू महोत्सव समाजिक सद्भाव बढाउन सहयोगी रहेको बताउँछन्। ‘थारू बस्तीमा सञ्चालन भएको महोत्सवमा हाम्रो पनि समर्थन र सहयोग छ,’ उनले भने। धनगढीलगायतका विभिन्न स्थानबाट विभिन्न दलका नेता, कार्यकर्ता, व्यापारी र सर्वसधारणको सहभागिता महोत्सवमा रहेको छ।

एमाले युवा नेता यज्ञराज ढुंगाना माघीको मुखमा थारू बस्तीमा सञ्चालन भइरहको महोत्सवलाई सबैले महत्वका साथ हेरेको बताए। दाइभाइ भई मिलेर बसेको समाजमा सबै संस्कृति, भेषभूषामा रमाउने संस्कार भएकाले यस्ता महोत्सवले समुदायबीच अन्तरघुलन गर्ने उनी बताउँछन्। ‘पहाडीको गौरामा थारू रमाउने, थारूको माघीमा पहाडी समुदाय रमाउँदै आएका छन्, पछिल्लो समयमा देखिएको समस्या हटाएर यस्ता महोत्सवले समाजिक सद्भाव बढाउँछ,’ उनले भने। tharu mahotsav kailali 02कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई पनि महोत्सवमा सहभागी हुन दोस्रो दिन गएका थिए। विभिन्न सांस्कृतिक प्रस्तुति तथा भेषभूषा अवलोकनका साथै खानाका परिकारको स्वाद लिएर उनी दंग देखिन्थे। ‘मैले पहिलोपटक थारूहरूको संस्कृति, पहिचान, भेषभूषा, खानाका परिकारलगायतका बारेमा विस्तृत बुझ्न पाएँ,’ प्रमुख जिल्ला अधिकारी चापागाईले भने, ‘महोत्सव थारू संस्कृति, पहिचानका साथै समुदायबीचको सम्बन्ध सुधार्न सहयोगी बनेको छ।’ थारू समुदायको परिकार ढिक्री, कचरी बरियालगायतका परिकार चाखेको उनले बताए।

महोत्सवमा थारू समुदायका खानाका परिकार, संस्कृति झल्कने करिब ५० स्टल राखिएको भादागाउँ होम स्टेका संयोजक लक्ष्मीनारायण चौधरीले बताए। धनगढीबाट १७ किलोमिटर पूर्व रहेको भादागाउँमा दुई सय थारू समुदायका परिवार छन्।

दिलबहादुर छत्याल/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.