माघीको उल्लास र बहस

Maghi Rally

मदन चौधरी- थारुका पुर्खाहरूले माघीलाई एउटा पर्वको रूपमा मात्र मनाउँदै आएका थिए। त्यतिबेलासम्म उनीहरूले ‘यो नै हाम्रो नयाँ वर्ष हो’ भनेर बुझेका थिएनन्। तर, समुदायमा वर्षभरिको समीक्षा, बर्घर फेर्ने प्रचलन, छोराछोरीका लागि वरवधू खोज्ने प्रचलन रहँदै आएको थियो। यसैलाई आधार मानेर माघीलाई नयाँ वर्षको रूपमा मनाउन थालिएको छ। नयाँ वर्षमा रूपान्तरण भएसँगै माघीले पर्वबाट महोत्सवको स्वरूप धारण गरिसकेको छ।

थारु कल्याणकारिणी सभाले माघीलाई विस्तृत बनाउन विशेष भूमिका निर्वाह गर्योछ। राजधानीलगायत तराईका सबै जिल्लामा कमिटी विस्तार गरेको सभाले माघीलाई विशेष प्रवर्द्धन गर्योह। आजको दिनसम्म आइपुग्दा माघी राजधानीलगायत थारु बसोबास गर्ने हरेक जिल्ला/क्षेत्रमा महोत्सवको रूपमा मनाउन थालिएको छ। काठमाडौँमा पनि एउटा सानो कोठाबाट सुरु भएको माघी महोत्सव पर्यटन बोर्ड हुँदै टँुडिखेलसम्म आइपुगेको छ। थारुहरूको अथक मेहनतपश्चात् नेपाल सरकारले २०६४ सालमा माघीलाई राष्ट्रिय पर्वको मान्यता पनि दिएको छ।

सार्वजनिक बिदा माग्दाको सकस

थारुहरूले माघीलाई महान् पर्व र नयाँ वर्षको रूपमा मनाउँदै आए पनि सरकारले यसलाई बेवास्ता गर्दै आएको थियो। देशकै चौथो ठूलो जनसंख्या भएको थारु समुदायका अगुवाहरूले माघीलाई राष्ट्रिय स्तरको पर्वको मान्यता दिनुपर्ने माग गर्दै निकै संघर्ष गरेपछि माघीले राष्ट्रिय पर्वको मान्यता पाएको तत्कालीन माघी मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले बताए। उनका अनुसार २०५९ साल पुस महिनाको अन्तिम दिन मन्त्रिपरिषद् बैठकले माघीलाई राष्ट्रिय पर्व मानेर बिदा दिने प्रचलन ल्यायो। यसका लागि उनले थारु नेता, सम्बन्धित निकायका पदाधिकारी र मन्त्रीहरूसँग समन्वय गर्दा पनि बेवास्ता गरेको बताए। ‘एक दिनअघिसम्म माघी राष्ट्रिय स्तरको पर्व र बिदा दिने व्यवस्थाबारे म स्वयं अनभिज्ञ थिएँ,’ शुक्रवारसँग उनले भने, ‘प्रधानमन्त्री कार्यालयमा धर्ना दिएरै यो प्रस्ताव पारित गराएको हुँ।’

हटेन कमैया-कमलरी प्रथा

माघीसँग थारु समदायका सुखद पाटा मात्रै छैनन्, केही दुःखद प्रसंग पनि जोडिन्छन्। थारु समुदायमा माघीकै दिन कमैया–कमलरी राख्ने प्रथाको विकास भएको थियो। यही दिन जमिन्दारको घरमा कमैयाहरू दुई छाक टार्नकै लागि दासी बन्न जान्थे। यही दिन थारुका छोराछोरीलाई शहरिया बाबुहरूले मोलमोलाइ गर्थे। मन परेपछि न्यूनतम शुल्क तिरेर थारुका सन्ततिलाई आफ्नो घर लगेर काममा दलाउने गर्थे।

नेपाल सरकारले मुक्त कमैया घोषणा गरेको पनि १४ वर्ष बितिसकेको छ। मुक्त कमैयाहरूको ठूलो संघर्षले यो परिवर्तन ल्याएको थियो। यही हालत थारुका छोरीहरू (कमलरी)ले पनि भोग्न पर्योै। राजधानीमा ठूलो संघर्षपछि डेढ वर्षअघि सरकारले मुक्त कमलरीसमेत घोषणा गर्योर। तर, उनीहरू कागजी रूपमा मात्रै मुक्त भएका छन्। व्यावहारिक रूपमा आजका दिनसम्म यो प्रथा कायमै छ। मध्य तथा सुदूरपश्चिम तराईका जिल्लामा अझै पनि थुप्रै कमैया देख्न सकिन्छ। यता राजधानीलगायत शहरमा तिनकै छोराछोरीहरू हुनेखानेका घरमा दासी जीवन बिताइरहेका पनि भेटिन्छन्। कमलरीहरूको साझा संस्था मुक्त कमलरी विकास मञ्चकै तथ्यांकअनुसार पनि सयौँ कमलरी अझै शहरका गल्लीमा दासी भएर बाँचिरहेका छन्। बलात्कृत भएर कतिले मानसिक सन्तुलन गुमाएका छन्। कति कुमारी आमाबाट जन्मिएका बच्चाहरूलाई शिक्षा–दीक्षा लिन गाह्रो भइरहेको स्थिति छ। यस्तो प्रथालाई निर्मूल पार्न सरकारले व्यावहारिक नीति नल्याएसम्म माघीले सबैका लागि उल्लास नल्याउने थारु अगुवाहरू बताउँछन्।

 बौद्धिक बहस जरुरी

पछिल्लो समय थारु अगुवाहरूले नयाँ वर्ष माघीमा बौद्धिक बहस हुन जरुरी रहेको औँल्याएका छन्। धेरैलाई माघीबारे थाहा नभएको र माघीलाई कुन रूपले सार्थक बनाउने भन्दै बौद्धिक बहस हुनुपर्ने उनीहरूको धारणा छ। थारु भाषाविद् तथा साहित्यकार कृष्ण सर्वहारीले बौद्धिक बहसले माघीलाई अन्य समुदायमाझ प्रवर्द्धन गर्नुका साथै आगामी दिनको कार्यदिशासमेत तयार हुने बताए। ‘माघीलाई हामीले जुन रूपमा मनाउँदै आइरहेका छौँ, त्यो ठीक छ कि छैन? माघीसँग जोडिएका कमैया–कमलरी प्रथा आजका दिनसम्म किन निर्मूल हुन सकेनन्? यी प्रश्नमाथि बहस हुन जरुरी छ,’ उनले भने, ‘जसले अन्य समुदायमा मात्र नभएर सरकारमाथि दबाब सिर्जना गर्छ।’ उनले हरेक साल आउने माघीलाई सार्थक बनाउँदै लानुपर्नेमा जोड दिए।

यो  पनि पढ्नुस्:

माघीमा थारु परिकार

One thought on “माघीको उल्लास र बहस

  1. जस्ले जे भनेपनी अहिले सम्मको उपलब्धी लाई राम्रै मान्नु पर्छ। किनभने अहिले थारु समाजको बारेमा जती ज्ञान प्रवाह भएको छ, थोरै अथक कार्य-कर्ता र थारु समाज प्रेमीले गर्दा भएको छ। त्यसकारण अहिले नाना थरिको कुरा गर्नु भन्दा एसैलाइ निरन्तर्ता दिनु आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *