नाकामा धर्ना बसेका राजेन्द्र महतो कुटिए, आइसियुमा भर्ना

Rajendra_mahato

सीमावर्ती जोगबनी नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच शनिबार झडप भएको छ । सीमा नाकामा अवरोध गर्न बसेका मधेसी मोर्चाका नेता, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई धर्नाबाट प्रहरीले हटाउन खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट महतोको टाउकोको अगाडिको भाग चोट लागेको छ । उनको दुबै खुट्टामा समेत चोट लागेको छ । प्रहरीले भने झडपपछि सीमापारि पुगेका मोर्चाकै कार्यकर्ताको ढुंगा लागेर महतो घाइते भएको दाबी गरेको छ । झडपपछि जोगबनी पुगेका महतोलाई त्यहाँ प्राथमिक उपचारपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याइएको थियो । उनको सिटी स्क्यानलगायत जाँचपछि उपचार भइरहेको छ । महतोलाई सघन उपचार कक्ष ‘आइसीयु’ मा राखिएको छ ।
महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्नामा बसेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सुरुमा भन्सार नाकाभन्दा केही उत्तर रानी क्षेत्रको बसपार्कमा सभा गर्ने भनिएको थियो । तर भारतीय क्षेत्रबाट प्रवेश गरेका महतोसहितका नेता कार्यकर्ता दशगजामा धर्ना बसेको मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए । नाकामा अवरोध नगर्न आग्रह गर्दा अटेर गरेपछि झडप भएको उनले बताए ।

झडप र प्रहरीको लाठी प्रहारले सद्भावनाका केन्द्रिय सदस्य दिलिप धाडेवा, प्रवक्ता सन्तोष मेहता, आदिवासी जनजाति मञ्चका केन्द्रिय महासचिव तेन्जिङ लामा, मोर्चा कार्यकर्ताहरु युवराज साह, जागेश्वर साहनी, मो। अब्दुल हुसेन, मोहन चौधरी, महमद आलम, ईन्द्रजीत साह, परमानन्द यादवलगायत पनि घाइते भएका छन् । प्रहरीले मोर्चाका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ । साँझ गोल्डेन अस्पताल परिसरमा पनि प्रहरीले केही कार्यकर्तालाई कुटपिट गरेको मोर्चाले जनाएको छ । मोर्चा कार्यकर्ताले अस्पतालनजिक एउटा ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published.