राजधानीबासी थारुले दशरथ रंगशालामा माघी महोत्सव मनाउने

maghi_ktm_2070-14

विभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं उपत्यकामा आई बासोबास गर्ने थारुहरुले यसपाली पनि ‘थारु माघी महोत्सव २०७२’ मनाउने तयारी गरेका छन्। थारु जातिको नयाँ वर्षकोरुपमा चिनिने माघी पर्वको अवसरमा माघ १ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो महोत्सव मनाइने मूल आयोजक कमिटीले जानकारी गराएको छ। आमाबाबु तथा अभिभावकबाट शुभआशीर्वाद लिई मनाइने यस पर्वलेले नेपालीको एकता, सहकार्य र भातृत्वको विकास गर्ने विश्वास थारुहरुले गर्ने गर्छन्।
महोत्सव तयारीका लागि थारु कल्याणकारिणी सभा उपत्यका समितिका संयोजक सुमन चौधरीको संयोजकत्वमा महोत्सव मूल आयोजक कमिटी गठन गरिएको छ। आयोजक कमिटीमा उपत्यकामा रहेका २५ बढी थारु संघ संस्थाहरु छन्। महोत्सवका लागि आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति, स्टल तथा मञ्च व्यवस्थापन उपसमिति, झाँकीर्‍याली तथा सांस्कृतिक उपसमिति, अतिथि सत्यकार, टिकट व्यवस्थापनलगायतका दर्जनजति उपसमिति गठन गरिएका छन्।

थारु संस्कृति झल्काउनेखालका विभिन्न स्टलहरु रहने सो महोत्सवमा थारुको हस्तकला, सांस्कृतिक वस्तु, खानाका परिकार, थारु पुस्तक, जर्नल तथा पत्रपत्रिकाका स्टलमा राखिने मूल आयोजक कमिटीका संयोजक सुमन चौधरीले जानकारी दिए।

माघीमै थारुहरुले गाउँको बरघर, चौकीदार, गुरुवा, घरमुलीलगायतको छिनोफानो गर्ने र नयाँ नेतृत्व चयन गर्ने हुनाले पनि यस पर्वलाई नयाँ वर्षकोरुपमा उनीहरुले लिने गर्छन्। साताभर रामरमाइलो गरी मनाइने यस पर्वले वर्षभरि गरेको गलत कामकाजलाई शुद्ध जलाशयमा गई नुहाई पूजापाठ गर्नाले पाप पखालिने र मन स्वच्छ हुने जनविश्वास थारुहरुले गर्ने गरेको थारु कल्याणकारिणीसभा उपत्यकाका पूर्व सभापति प्रेमीलाल चौधरीले बताए।

उपत्यकामा बस्ने अधिकांश थारुहरु माघीपर्व मनाउन जिल्लाजाने र कामविशेषले जान नसक्ने थारुहरुको मनोरन्जनका लागि पनि वि.सं. २०५९ देखि उपत्यकामा माघी महोत्सव मनाउँदै आएको चौधरीले जानकारी दिए। महोत्सवले थारु जातिको कला संस्कृति, हस्तकला, थारु खाना परिकारलाई अन्य समुदाय तथा बाह्य मुलुकमासमेत जानकारी गराउनमा मद्दत पुगिरहेको महोत्सव आयोजक कमिटीका सदस्यहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published.