थाकसको अगुवाईमा चितवनमा तेस्रो खिचरा महोत्सव

Khichara Mahotsaw at Chitwan

कारी महतो

विगत वर्षजस्तै यस वर्ष पनि पूर्वी चितवनको खैरहनी नगरपालिकाको वार्ड-७, सुल्ताना स्कुलको चौरमा पुस २९ देखि माघ ३ सम्म तेस्रो खिचरा महोत्सव २०७२ हुने भएको छ। थारु कल्याणकारिणी सभा चितवन प्रगन्ना नं. ७ मा भएको एक भेलाबाट नारायण प्रसाद महतोको संयोजकत्वमा २५१ सदस्यीय तेस्रो खिचरा महोत्सव २०७२ को मूल आयोजक समिति गठन भएको छ।

भेलाबाट टिकेन्द्र चौधरीको संयोजकत्वमा आर्थिक समिति, संजय कुमार चौधरीको संयोजकत्वमा सञ्चार तथा प्रचार प्रसार समिति, प्रणाम चौधरीको संयोजकत्वमा झाँकी तथा शोभायात्रा व्यवस्थापन समिति, रामचन्द्र चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, दिलीप महतो संयोजकत्वमा महोत्सव परिसर व्यवस्थापन समिति, जीतबहादुर चौधरीको संयोजकत्वमा स्वयम्सेवक तथा सुरक्षा परिचालन समिति, जयश चौधरीको संयोजकत्वमा साँस्कृतिक समिति लगायत १८ वटा विषयगत उपसमिति गठन भएको छ।

महोत्सव परिसरमै माघ २ गतेका दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएकोले त्यसका लागि अनिश चौधरीको संयोजकत्वमा रक्तदान कार्यक्रम समिति पनि गठन गरिएको छ। साथै सरसफाईका लागि स्थानीय चौधरी महिला समाज र पार्किङ्ग व्यवस्थापनका लागि सुल्तानाकै डायमण्ड क्लबले गर्नेछ।

विगत दुई वर्षमा निःशुल्क प्रवेश टिकट रहेकोमा यसवर्ष न्युनतम टिकट मूल्य राखिने जानकारी थाकसका क्षेत्रीय सभापति नारायण प्रसाद महतोले जानकारी दिए। खिचरा महोत्सवको मुख्य आकर्षक थारु परिकार रहनेछ। जाडो मौसममा शरीरलाई निकै न्यानो बनाउने थारु खाना चिचर र चिचरको प्वाका लगायत घोङ्घी, माछा, हाँसको मासु, निचा (झिंगे माछा), ग्वागा, निजई, नकगर रोटी आदि परिकारको स्वाद लिनका लागि खिचरा महोत्सवमा दर्शकहरुको भीड लाग्ने गर्दछ । महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि गत वर्षझैं यसवर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गीतगायन र नृत्यका साथै थारु समुदायको संस्कृति र कला संरक्षण सम्बन्धी नाचगानको व्यवस्था गरिनेछ।

महोत्सव परिसरमा थारु समुदाको साँस्कृतिक घर, माच, पीङ, मोर्हा बनाइनुका साथै फ्री वाइफाईको पनि व्यवस्था गरिने जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published.