एमालेका मधेसी नेताले भने- संविधान बुझाउन नसक्दा मधेसमा भ्रम फैलियो

Emale

तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् । एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले तराई आन्दोलन लामो समयसम्म रहन दिन नहुनेमा पनि जोड दिएका छन्।

एमाले रौतहटका सांसद लालबाबु यादवले संविधानका अन्तरवस्तु तराईवासीलाई बुझाउन माग गर्दै स्वदेशमै बसेर समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए। उनले तराई, पहाड र हिमाल सबै भेगका जनतालाई संविधानका विषयमा प्रष्ट जानकारी नगराएसम्म भ्रम रहिरहने बताए। जुनसुकै देशको विदेश नीति जहिले पनि आफ्नै मुलुकको हितमा हुने भएकाले देशभित्रको समस्याबारे विदेशमा गएर ‘परामर्श, छलफल गर्ने र समस्या समाधान गरिदिन आग्रह गर्ने प्रवृत्ति’ गलत भएको उनले बताएइ।

धनुषाका सांसद रामअवतार पासवानले सबै जातिले यसरी नै अधिकार खोजे देश नरहने भन्दै संविधान संशोधन गरेर आफ्ना माग स्थापित गर्नुपर्ने बताए। उनले आफ्नै देशका जनतालाई दाल, चामल रोकेर कसैको माग पूरा हुन नसक्ने जिकिर पनि गरे। एमालेलाई मधेसप्रति उदार नभएको भन्ने आरोप लगाएर जिम्मेवारीबाट पन्छन नखोज्न पनि उहाँले आग्रह गरे।

मोरङका सांसद मीनादेवी यादवले संविधानले सबैलाई समेटेको बताए। उनले सीमाङ्कनका विषयमा आफ्नो पार्टी सकारात्मक रहेको भन्दै प्रष्ट ‘एजेन्डा’सहित नेपालमै बसेर सरकारसँग वार्ता गर्न असन्तुष्ट पक्षलाई आग्रह गरे। छिमेकीको उक्साहटले देश बन्न नसक्ने उनको धारणा थियो।

धनुषाका सांसद् शीतल झाले तराईको आन्दोलनलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए। तीन ठूला दल एकै ठाउँमा उभिएर तराई समस्यालाई समाधान गर्नुपर्नेमा उनको थियो।

धनुषाकै अर्का सांसद शत्रुघन महतोले समानुपातिक समावेशितासहित निर्वाचन क्षेत्र निर्धारण गरेर अघि बढ्नुपर्ने बताए। एमाले तराई–मधेसप्रति उदार रहेको भन्दै उहाँले यो भेला तराईका मागप्रति पार्टीलाई अरु बढी उदार बनाएर समाधान खोज्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

सिरहाका सांसद रामचन्द्र यादवले संविधान जारी हुनुअघि भदौ १८ गते आफूहरुले पार्टीलाई मधेसका माग समेटिएको १० बुँदे ज्ञापनपत्र बुझाएको भए पनि यसतर्फ पार्टीले ध्यान दिन नसक्दा मधेस आन्दोलन चर्केको बताए। उनले भने, ‘अहिले संविधान संशोधन गरेर माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ। ती विषय हामीले पेस गरेका १० बुँदामा पहिले नै परेको थियो।’

अन्तरिम संविधानमा समेटिएका केही बुँदासमेत संविधानमा छुटेको भन्दै उनले त्यसलाई संशोधन गरेर यथाशक्य चाँडो मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताए। पार्टीका सबै शीर्ष नेता एकै थलोमा भएकाले भेला मार्गदर्शक हुने उनको भनाइ थियो।

पर्साका सांसद विचारी यादवले बाह्य प्रभावमा हुने आन्दोलन नेपालीका पक्षमा नहुने बताए। मधेसका केही दलहरुले भोटको राजनीति गरिरहेको उनको आरोप थियो। संविधानका अन्तरवस्तु जनजनमा पु¥याउन माग गर्दै उनले भ्रम पालेर राखेकै कारण मधेस आन्दोलनले निकास पाउन नसकेको बताए। मधेसका सांसदहरुलाई एकै ठाउँमा राखेर त्यहाँका जनताको माग र समाधानका उपायका विषयमा पार्टीले छलफल गर्न लागेकाले कार्यक्रम प्रभावकारी बन्ने उनको भनाइ थियो।

सर्लाहीकी सांसद रञ्जना कुमारी सरकारले आन्दोलनरत दल जिम्मेवार नबनेपनि सरकार जिम्मेवार भएर ठूला पार्टीहरुसँग सहकार्य गरेर यथाशक्य चाँडो मधेस समस्या हल गर्नुपर्ने बताए। संविधानमा आफ्नो अधिकार उल्लेख भए-नभएको प्रस्ट पारेर तराईवासीलाई संविधानप्रति सकारात्मक बनाउन पनि पहल गर्नुपर्ने उहाँको धारणा थियो। उनले बाह्य शक्तिको आडमा नाकाबन्दी गरेर देशमा आर्थिक सङ्कट उत्पन्न गराउने काम भएको आरोपसमेत लगाए।

भेलामा एमालेका केन्द्रीय नेतासँगै मधेसका २२ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज, पूर्व सांसदको सहभागिता छ। एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टीमा तराई-मधेसबाट प्रतिनिधित्व गर्ने सांसदको सङ्ख्या ४२ छ। रासस

Leave a Reply

Your email address will not be published.