मधेस आन्दोलनलाई समर्थन गर्दै बाबुराम नेतृत्वमा पदयात्रा

baburam

नागरिक सञ्जालले मधेस आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै पदयात्रा निकालेको छ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा माइतीघरबाट नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो। मधेस आन्दोलनको तत्काल सम्बोधन, भूकम्पपीडितको आधारभूत आवश्यकता सम्बोधन, पुनःनिर्माण प्राधिकरण चाँडो गठन, सार्वजनिक सम्पत्तिको दुरुपयोग बन्द, कालोबजारीको अन्त्य र आधारभूत उपयोग्य वस्तुको आपूर्ति सहज गराउन माग गर्दै पदयात्रा निकालेको हो।

सरकारलाई जनताप्रति जवाफदेही बनाउन र विद्यमान समस्याको छिटो राजनीतिक हल गर्न दबाब दिएको सञ्जालले जनाएको छ।

कोणसभामा महिलाको तर्फबाट सृष्टि पन्त, दलितको तर्फबाट सरु सुनुवार, मधेसीको तर्फबाट रामेश्वरप्रसाद चौरासियाले सम्बोधन गरेका थिए। सम्बोधनमा उनीहरुले मधेसी जनताको जायज मागलाई वार्ताका माध्यमबाट समाधान भूकम्पपीडितको समस्या समाधान गर्न माग गरेका थिए।

सो सभामा पूर्वप्रधानमन्त्री भट्टराई, पूर्वमन्त्री हिसिला यमी, एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल सद्भावना पार्टीका महासचिव मनिषलाल सुमन, स्तम्भकार खगेन्द्र सङ्गौला, राजनीतिक विश्लेषक सिके लाललगायतको उपस्थिति थियो। रासस

Leave a Reply

Your email address will not be published.