सिरहाको लहान फेरि निषेधित क्षेत्र घोषणा

Lahan Protest

सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ। संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध पुर्‍याउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा पुर्‍याएको हो।

सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न आइतबारबाट प्रत्येक दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको बताए।

आन्दोलनरत पक्षको बन्द र विरोधका कार्यक्रम हिंसात्मक बन्न सक्ने भएकाले निषेधाज्ञाको समय थप गरिएको बताउँदै प्रजिअ विश्वकर्माले निषेधाज्ञालगाएका क्षेत्रमा यातायातका साधनको आवातजावतमा कुनै अवरोध नपुर्‍याउन आग्रह गरे।

मधेसी मोर्चाको आमहडतालका कारण जिल्लाको शान्ति सुरक्षा कायम राख्न र यातायात सञ्चालनका लागि भन्दै स्थानीय प्रशासनले गत कात्तिक ७ गतेदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान खोलाको पुलदेखि कमला खोलाको पुलसम्म दायाँ ५०० मिटर र बायाँ ५०० मिटरको क्षेत्रमा प्रत्येक दिन राति ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञा लगाउँदै आएको थियो। रासस

Leave a Reply

Your email address will not be published.