सुरेन्द्र चौधरी भन्छन्- यिनीहरुले रातो कार्पेट बिछ्याएर माग पूरा गर्न बोलाउँछन्

Surendra Chaudhary

नेपाली कांग्रेसका नेता तथा पर्सा ४ का सांसद सुरेन्द्रप्रसाद चौधरी आजैको दिनदेखि आफू आन्दोलनमा हिँडेको बताएका छन्। संविधानमा हस्ताक्षर गर्ने बेलादेखि नै असन्तुष्ट रहेका चौधरीले कांग्रेस नेताहरुको नामै लिएर उनीहरु मधेसविरोधी रहेको आरोप लगाए। अहिलेका वार्ताबाट समाधान नहुने ठोकुवा गर्दै चौधरीले भने- अब रामचन्द्र पौडेलहरुको पछि लाग्दैनौं, आन्दोलन कसैले नसोचेको खालको हुन्छ र त्यहीँबाट सबै हिसाब किताब हुन्छ।

‘अब आन्दोलन यस्तो मोडमा जान्छ कि, यिनीहरुले आन्दोलनकारीलाई रातो कार्पेट बिछ्याएर माग पूरा गर्न बोलाउनेछन्। त्योबेला आन्दोलनकारीले मागेको भन्दा बढी पाउने र यिनीहरुले अहिले दिन चाहेको भन्दा सबै गुमाउने अवस्था आउँछ,’ अनलाइनखबरसँगको कुराकानीमा चौधरीले भने।

उनले तराई मधेसबाट आजसम्म सधैं कांग्रेसले चुनाव जितेको भए पनि पटक पटक जनता धोका खाएको बताए। ‘कांग्रेसलाई जति विश्वास मधेसी जनताले अरु पार्टीलाई गरेनन्। तर, यही कांग्रेसको नेतृत्वबाट मधेसी जनताले पटक-पटक धोखा खाएकाले अब हामी नै मान्दैनौं,’ उनले भने।

उनले रामचन्द्र पौडेल र कृष्ण सिटौलाजस्ता नेताले भनेका कुराहरु बकबास भएको बताए। सिटौला, ओली, पौडेल जस्ताहरुले नै मुलुकलाई यो हालतमा लगेको उनको आरोप छ। ‘कांग्रेसको कुरा गर्नुहुन्छ भने सुशील कोइराला मन्द बुद्धिका मानिस हुन् । रामचन्द्र पौडेल काइते बाहुन् हुन् । रामचन्द्र पौडेलको काइते बुद्धिले यो मुलुक दुष्चक्रमा फसेको छ,’ उनले भने।

उनले रामचन्द्र पौडेल, कृष्ण सिटौला, महेश आचार्य, रामशरण महतलाई मधेसीहरुले देख्न नचाहेको बताए। ‘यिनीहरु मधेसविरोधी हुन् भन्ने सबैलाई परिसकेको छ। अहिले राजनीतिक समितिका नाममा फेरि सिटौला वार्तामा बस्न खोजिरहेका छन्। यिनीहरुले मधेस आन्दोलनको माग पूरा गर्न दिँदैनन् नि,’ उनले भने।

Leave a Reply

Your email address will not be published.