दोषहरण चौधरी
मेरो घर दाङ, देउखुरी हो। म दशैं मनाउन घर जाँदै थिएँ। बसको दोस्रो अन्तिम सिटमा मेरो नम्बर थियो। मेरो पछाडि, अन्तिम सिटमा मजस्तै एकजना युवा साथी बसिरहेका थिए। नौलो भेष, झोली झम्टा हेरेर सजिलै अनुमान लगाउन सकिन्थ्यो उनी विदेशबाट आउँदैछन्।
निकै हर्षित अवाजमा उनी फोनमा कुरा गरिरहेका थिए ´आमा म आउँदै छु…` तर फोन राखिसकेपछि उनको आँखाबाट आँशु पो झर्न थालेछ। मन मनै सोँचे ´विचरा, वर्षौंदिन पछि आफ्नो परिवारसँग दशैँ मनाउन जाँदैछन्।` केही बेरपछि ऊसँग परिचय गरिहालेँ। आफ्नो नाम गोकुल भने, दाङ घोराही घर भएका उनी तीन वर्षपछि मलेसियाबाट फर्किँदै थिए।
परिचयपछि उनी हाम्रो देशमा के भैरहेको छ… भनेर देशको बिलौना गर्न थाले। हजारौं युवाहरु विदेशिनुको यिनै कारण स्पष्ट पारे भने आखिर देश बिगर्नुमा दोषी को? हामी जनता कि नेताहरु भन्ने प्रश्न गर्न थाले। उनले आफ्नो हरेक वाणीमार्फत् देशको तीतो यथार्थ प्रहार गरिरहेका थिए। उनको आँखामा देशको अथाह माया झल्किन्थ्यो, ´यो कस्तो दशैँ` भनेर उनी लामो साश फेरे।
आफ्नो माहान पर्व दशैं-तिहार पनि धुमधामसँग मनाउन नपाउने कति अभागी हामी नेपाली? निकै संघर्षपश्चात हामीले हाम्रो देशमा ´संघीय लोकतान्त्रिक गणतन्त्रको`को नाम पायौं। संविधान निर्माणको लागि अनेक लडाइँ लडदैगर्दा वैशाख १२ र २९ गतेको बिनाशकारी भूकम्पले कयौं धनजन गुमायौं। तैपनि हार नखाएर अघि बढ्यौं। फलस्वरुप असोज ३ गते दशैंको मुखमै संविधानको घोषणा भयो। तर सो संविधानले सबै जनतालाई खुसी तुल्याउन सकेन। जसको निहुँ पाएर भारतले अघोशित रुपले नाकाबन्दी गर्यो। देश अझ भारी मारमा पर्यो, दशैँ पनि यसरी नै मनाइयो।
अनेक बन्द हड्ताल र महँगीको चरम चपेटामा परेका हामी नेपाली जनता, आफ्ना आमा-बुबा तथा आफन्त कहाँ आशिर्वाद लिन जाँदा गाडी नपाइने, लोडसेडिङ त छँदैछ, खाना पकाउँदापकाउँदै ग्यास सिद्धिने हो कि डर।
हुन त हामी नेपालीहरु यसरी मारमा पर्नु कुनै नौलो कुरा हैन। गोकुलजस्तै हजारौं युवाहरु विदेशी भूमीमा श्रम बेचिरहेका छन् तिनीहरुको दशैं कति शोकाकुल होला?
यसरी दशैँलगत्तै केही नभए पनि देशले आज नयाँ पदाधीकारीहरु पाएको छ। सातौं संविधानको पहिलो प्रधानमन्त्री, देशकै प्रथम महिला राष्ट्रपति तथा महिला सभामुख। उहाँहरु सबैलाई हार्दिक बधाई, जुनै जोगी आए पनि कानै चिरेको कथन लागू नहोस्। देशमा चाँडै अमन र शान्ति छाओस्। शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना!