सरकार-मोर्चाको वार्ता अडानमै सकियो, आइतबार पुनः बस्ने

dhoti1

सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच आज भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन्।

मोर्चाका मागसम्बन्धी विषयले वार्तामा प्रवेश पाएको तथा उनीहरुले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा पुनः प्रस्तुत गरेको सरकारी वार्ता टोलीका सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्माले बताइन्।

‘सीमाङ्कनको टुङ्गो लाग्ने वित्तिकै परिस्थिति सहज हुने उहाँहरूले बताउनुभयो भने बीचको बाटो अपनाएर आन्दोलनका सबै कार्यक्रम स्थगन गर्न हामीले अनुरोध गर्‍यौँ तराईमा दुई प्रदेश हुनुपर्ने पुरानो माग उहाँहरुले दोहोर्‍याउनुभएको र आफूहरुले लचिलो हुन आग्रह गरेको जानकारी दिँदै मन्त्री शर्माले भनिन्।

सबैले अनुभूत गर्ने गरी सार्थक वार्ता गरेर परिणाममा पुग्नुपर्नेमा आफूहरुले जोड दिएको र मोर्चालाई अडानमा अडिग रहिरहन उपयुक्त नहुने भन्दै अधिकतम लचिलो हुन अनुरोध गरिएको जानकारी पनि उनले दिइन्।

मोर्चाको वार्ता टोलीका सबै सदस्य राजधानीमा नरहेकाले आगामी आइतबार पुनः वार्ता गर्नेगरी आजको बैठक टुङ्गिएको मन्त्री शर्माले बताए।

गत सोमबार सरकारले उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाको संयोजकत्व वार्ता टोली गठन गरेको थियो। टोली गठनसँगै हिजो पहिलो चरणमा वार्ता भएको थियो।

आजको वार्तामा टोलीका संयोजक उपप्रधानमन्त्री थापा, मन्त्री शर्मा र बिना विभागीय मन्त्री रामजनम चौधरी सहभागी थिए। मोर्चाका तर्फबाट तराई मधेस (लोकतान्त्रिक) पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल र लालबाबु राउत सहभागी थिए। रासस

Leave a Reply

Your email address will not be published.