झम्टा गीतमा आन्दोलनको झल्को (फोटो फिचर)

jitiya_chitwan 01

कारी महतो थारु/चितवन

राईका महिलाहरुको महान पर्व जितिया असोज कृष्णपक्षको अष्टमी तिथिका दिन तराईका महिलाहरुले धुमधामका साथ मनाएका छन्। सप्तमी तिथिबाट शुरु भएको जितिया सप्तमीको राती डट्खट् खाएर अष्टमीमा निराहार ब्रत बसेर जितिया मनाएका हुन्। अष्टमीका दिन चितवनका ब्रतालुहरु थारु महिलाहरु बिहानै नुहाएर बेलको पातहरु टिप्न गए। त्यहाँ बेलको बोट वरिपरि झम्टा नृत्य प्रस्तुत गरे।

jitiya_chitwan 02

बेलुका चार बजेतिर उनीहरुले पाकडी वा पीपलको सानो हाँगा काटेर कथा सुन्ने ठाउँमा लगी ठड्याउने र त्यसकै वरिपरि फलफुल, दुध, दही, जाँकुर (टुसाएको मास) लगायत थुप्रै सामग्रीहरु राखी कथा सुन्ने चलन छ। कथा सकिएपछि राती मात्र फलाहार गर्ने गरिन्छ। खर जितियाको ब्रत बस्नेहरु डट्खट् (दर) र फलाहार नगरी नवमीको दिनमा मात्र खाने गर्दछन्। खर जितिया ब्रत बस्ने महिलाहरुले कम्तीमा पनि ३६ घण्टा निराहार र निर्जलका साथ कठोर ब्रत बस्छन्। यसरी जितिया ब्रत बसेमा सूर्य भगवानबाट आशिर्वाद प्राप्त गरेका जीतबाहन (सूर्य भगवानका पुत्र)ले ब्रतालुहरुको मनोकांक्षा पुरा गर्ने विश्वास गरिन्छ।

jitiya_chitwan 03थरुहट तराई–मधेसका महिलाहरुको महान पर्व जितियाको अवसरमा विभिन्न स्थानहरुमा आयोजना भएको जितिया विशेष कार्यक्रममा चितवनका थारु महिलाहरुले झम्टा नृत्य प्रस्तुत गर्दै साँस्कृतिक गीतहरु गाएर मनाएका छन्। तर गत वर्षहरु जस्तै महिलाहरुको गीतहरु भने फरक थियो। थारु र मधेसी समुदाय अहिले पनि आन्दोलनमै रहेकोले महिलाहरुले झम्टा नृत्यमा प्रस्तुत गरिने गीतहरुमा अधिकार नपाएको गुनासाहरु पोखेका छन्। थारु कल्याणकारिणी सभा चितवन प्रगन्ना नं. ८ द्वारा रत्ननगर नगरपालिकाको चित्रसारीमा आयोजित जितिया विशेष कार्यक्रममा सहभागी थारु महिलाहरुका झम्टा टोलीहरुले यस्तै गीतहरु गाएर जितिया मनाएका छन्। अति सुरीलो भाकामा गाउने गीतहरु बुझ्न कठिन भए ता पनि गहिरिएर सुन्दा निकै मार्मिक हुन्छन्। ३२ गाउँका महिला टोलीहरु सहभागी भएका कार्यक्रममा बैरिया झम्टा टोलीले गाएको गीतको शब्दहरु यस्तो थियो—

“नेता सबह बनोलउ लउठा संविधान हो ना,

हमरा थारु जातिके हइने देलऊ अधिकार हो ना…

सब जाना मिलीजुली उठउ दादा भाई हो ना,

लडु हमरा यापन हक अधिकारक लागि हो ना…”

 jitiya_chitwan 04

विभिन्न राजनैतिक दलहरुलाई अब कुनै किसिमको विश्वास गर्न नसकिने भनेर महिलाहरुले गीत मार्फत यसरी आक्रोस पोखेका छन्—

“नाही चाही काँग्रेस नाहि चाही माओवादी हो ना,

नाही चाही राप्रपा नाही चाही एमाले हो ना… ”

 

जातीय पहिचान नछोड्ने कुरालाई झम्टा गीतमा यसरी प्रस्तुत गरेका छन्—

“नाही छाडुँ भेषभुषा नाही छाडु रितिरिवाज हो ना,

नाही छाडुँ हमरा यापन जातीय पहिचान हो ना ”

 jitiya_chitwan 06

अशान्त नेपाललाई शान्त बनाउनका लागि सबै दाजुभाई दिदीबहिनीलाई गीतबाटै अनुरोध पनि गर्न पछाडि परेनन्—

सब दिदी बहिनी सब दादा भाई हो ना

नेपालक शान्ति हमरा बनाउ हो ना

चौधरी महिला समाज पडरियाले गाएको गीतको अर्थ पनि करीब करीब यस्तै नै थियो।

आन्दोलन हमरा करते जाहुँ ना

संविधानमा अधिकार लिखाके छाणहुँ हमरा ना

कान्हमा कान्ह मिलाके हमरा ना

यापन अधिकार लिखाके छणहुँ हमरा ना

झम्टा गीतमा थारु महिलाहरुले बैशाख १२ गतेको महाभुकम्पलाई पनि सम्झेका छन्।

नयाँ सालमा यलउ जबडे भुइचाल हो ना

एके चोटि देलिहे भुँयवा डिङाइ हो ना

पुर्खाक चिनारी सब गेलउ भसकी हो ना

हैने रहलउ मठ मन्दीर हैने रहलउ धरहरा हो ना

jitiya_chitwan 05

थाकस चितवन प्रगन्ना नं. ८ को आयोजनामा भएको कार्यक्रममा थाकस चितवनका सभापति विश्राम महतो, सल्लाहकार टिकेन्द्र चौधरी, थारु विद्यार्थी समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरी, थारु महिला समाज चितवनका अध्यक्ष लक्ष्मी चौधरी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरुले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक देश भए तापनि थारु लगायत आदिवासी जनजाति र मधेसी समुदाय विभिन्न साँस्कृतिक विभेदमा परेको मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम थाकस प्रगन्ना नं. ८ का सभापति रामेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

त्यस्तै जितिया पर्वको अवसरमा एम.वाई.एस. साउण्ड सर्भिसको आयोजनामा चितवनको खैरहनी नगरपालिका वार्ड नं. ७ मझुईमा आयोजित जितिय विशेष कार्यक्रममा झम्टा नृत्य तथा गीत प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा वाई.ए.सि.डी मगनी प्रथम, सङवा झमटा टोली बैरहनी र कठार युवा झमटा टोली कठार द्वितीय तथा जागृति झम्टा टोली कुमरोज तृतीय भएका छन्। jitiya_chitwan 07विजयी हुने टोलीहरुले नगद तथा शिल्ड पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन्। १२ टिमले प्रतियोगितामा भाग लिएका थिए भने अरु गाउँका झम्टा टोलीहरुले अप्रतियोगीका रुपमा नृत्य प्रस्तुत गरेका थिए। पहिलो संविधान सभाका सभासद लालमणि चौधरी प्रमुख अतिथि रहेको जितिया विशेष कार्यक्रममा थाकसका पूर्व केन्द्रिय सदस्य चन्द्रकुमारी चौधरी, लक्ष्मण चौधरी, शान्ति चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम एम.वाई.एस. साउण्ड सर्भिसका अध्यक्ष सुरेश चौधरीको अध्यक्षतामा सम्पन्न भयो।

Leave a Reply

Your email address will not be published.