तीन शीर्ष नेतालाई गच्छदारले भने– मैले लगाएको ऋण चुक्ता गर्नुस्

Bijay Gachhadar

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तीन शीर्ष नेतालाई आफूले लगाएको ऋण चुक्ता गर्न आग्रह गरेका छन् । तीनतिर फर्किएका शीर्ष नेताहरुलाई आफूले एक ठाउँमा उभ्याएर १६ बुँदे सहमति गरेर संविधानको बाटो खोलेको बताउँदै उनले त्यो ऋण चुक्ता गर्ने बेला भएको बताए ।
राजधानीमा आयोजित जितिया कार्यक्रमको सम्बोधन गर्दै गच्छदारले तराई–मधेसका जनताहरु अधिकारको लडाइँ लडिरहेको भन्दै वार्ताको वातावरण बनाएर उनीहरुको माग सम्बोधन गर्न तीन दलका नेतालाई आग्रह गरे । ‘थारु समुदाय, मधेसी समुदाय अहिले आन्दोति छन् । तराई–मधेसमा अहिले विकराल स्थिति सिर्जना भएको छ । छिट्टै वार्तामार्फत् माग सम्बोधन होस्,’ शीर्ष नेतालाई आग्रह गर्दै गच्छदारले भने, ‘संविधान निर्माणका लागि मैले ठूलो ऋण लगाएको छु, त्यो ऋण तीन नेताले चुक्ता गरुन् ।’
उनले वार्ताको वातावरण् छिट्टै बनाउन तीन दलका नेतालाई आग्रह गरिहेको बताए । ‘विभिन्न बहानामा धेरै थारुहरुलाई थुनामा राखिएको छ, कर्तव्य ज्यान मुद्दा दर्ता गराएको स्थिति छ,’ उनले भने, ‘तिनीहरुलाई अविलम्ब रिहा गरेर वार्ताको वातावरण बनाउन तीन शीर्ष नेतालाई आग्रह गरेको छु ।’
उनले तराई, पहाड, हिमालको पहिचान बिना नेपालको अस्तित्व नै समाप्त हुने बताए । त्यसैले मधेसी–थारुका जायज माग सम्बोधन गर्नुपर्ने उनले बताए । सरकारको यही रवैया रहे स्थिति भयावह हुने चेतावनी गच्छदारको थियो । ‘तराजुको एकापट्टि तीन दलका शीर्ष नेता बसे पनि अर्कोपट्टिका विजय गच्छदार एक्लै भारी हुने स्थिति आउनसक्छ,’ उनले भने, ‘त्यही भएर वार्ताको वातावरण बनाएर सरकारले तत्काल आन्दोलनकारीसँग वार्ता गरोस् ।’

One thought on “तीन शीर्ष नेतालाई गच्छदारले भने– मैले लगाएको ऋण चुक्ता गर्नुस्

  1. गच्छदार जीको बातमा दम छ। यस्तो खप्पिस नेता जन्मिनको लागि म.मो.कलेज विराटनगर मै अध्ययन गर्नु पर्छ; राजनीति सुरु गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published.