थरुहट आन्दोलनका घाइतेलाई साउदीबाट सहयोग

 विवेकशील थारु युवा समूहले थरुहट आन्दोलनका घाइतेलाई उपचारार्थ सहयोग गरेको छ । साउदीमा बस्दै आएका थारुहरुको सो समूहले एक लाख एक सय एक रुपैयाँ सहयोग गरेको थारु एराउन्ड दी वल्र्डका अध्यक्ष महावीर चौधरीले जानकारी दिए । सो रकम थरुहट आन्दोलनमा घाइते भएकाहरुलाई उपचारार्थ सहयोग गरिने उनले बताए ।
मोरङ घर भइ साउदीमा बस्दै आएका लक्ष्मण हजारी, राजेश भगतलगायतको समूहले घाइतेहरुका लागि सहयोग रकम जम्मा गरेको चौधरीले बताए ।
‘अधिकारको आन्दोलनमा थारु दाजुभाइहरु घाइते भएका छन्, उहाँहरुको उपचारार्थ सहयोग गर्नु हाम्रो दायित्व हो,’ साउदीबाट लक्ष्मण हजारीले टेलिफोनमा भने, ‘यो सहयोगले उहाँहरुको उपचार होस् भन्ने चाहेका छौं ।’
दुई महिनादेखि जारी आन्दोलनका क्रममा सयौं थारुहरु घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.