तराई-मधेश, जहाँ जिन्दगी ठप्प छ

tharu protest

अजित तिवारी।

बच्चा बोकेर मोटरसाइकलमा स्कुल पुर्‍याउन हिँडेका विराटनगर–६ का अनिश खतिवडालाई पेट्रोलले तनाव दिइरहेको छ। बन्दले स्कुल बस नचल्दा बच्चालाई एकाबिहानै मोटरसाइकलमा पुर्‍याउनु उनको दैनिकी भएको छ। ट्यांकी रिजर्भमा थियो। घरीघरी उनका आँखा तेलको काँटामा गएर अड्किन्थे। रातो एरियाको इन्डमा काँटा सुतिरहेको हेरे उनले। खिन्न उनले मोटरसाइकलको एक्सिलरेटर अलि बढी बटारेर भने, ‘आज(मंगलवार) जेनतेन बच्चालाई स्कुल पुर्‍याइयो। पेट्रोल नै सिद्धिन लागिसक्यो। मोटरसाइकल केले कुदाउने?’

मधेश बन्द भएको ५० दिन बढी पुगिसक्यो। खुल्ने छाँट नदेखिएपछि विराटनगरका निजी स्कुलले अभिभावकलाई विद्यार्थी विद्यालयमै पुर्‍याइदिने शर्तमा पढाइ सुचारु गरेका छन्। स्कुल विद्यार्थी आउट ड्रेसमै पुग्छन्। ट्युसन पढेजस्तो। भारतले ‘अघोषित’ नाकाबन्दी लगाएपछि सीमामै रहेको विराटनगर शहरमा अहिले पेट्रोलियम पदार्थ पाइँदैन। सातादेखि पेट्रोलियम पदार्थको आयात रोकिएपछि खतिवडाजस्तै बच्चालाई स्कुल पुर्‍याउने र ल्याउने समस्यामात्र परेको छैन, मान्छेहरूको दैनिकी नै खलबलिएको छ।

पहिचान र अधिकारका लागि मधेशमा जारी आन्दोलन लम्बिएको लम्बियै छ। ‘वार कि पार’को लडाइँ भन्दै संयुक्त मधेशी मोर्चाले आन्दोलनको स्वरूप नबदल्दा तराई–मधेशका बासिन्दा बन्दले निसास्सिएका छन्। सरकारले पनि मधेश आन्दोलनको ‘आवाज’ नसुनेझैँ गरेकाले पनि यहाँका सर्वसाधारणले बढी सास्ती झेल्नुपरेको छ। सार्वजनिक यातायात चलेको छैन। उद्योगधन्दा ठप्प छ। बजार नखुल्दा चाडपर्व नजिकिँदै जाँदा सर्वसाधारणलाई बेचैन बनाएको छ। आन्दोलनकारीलाई सुरक्षाकर्मीको ‘जिम्मा’ लगाइदिएर सरकार ‘कानमा तेल’ हालेर बसेको भन्दै यहाँका सर्वसाधारण आक्रोशित छन्।

०००

भारतीय नाकाबन्दीले काठमाडौँको बेचैनी बढाएको छ। भारतीय परनिर्भरता हटाउने बहस थालिएको छ। चीनसित जोडिएको नाका खुलाउने कसरत सुरु भएको छ। नाकाबन्दीले भारतको आलोचना बढेको छ। र, साइकल चढ्ने, डिँढो र गुन्द्रुक नै खाने, नेपालमै उत्पादित वस्तुको उपभोग गर्ने, भारतीय टेलिभिजन च्यानल नहेर्ने र त्यसलाई बाध्यकारी बनाउन केबलबाट च्यानल हटाउने गतिविधि जनस्तरबाटै सुरु भइसकेको छ। मधेश आन्दोलन र नाकाबन्दीले व्यापार सुकेको भन्दै भारतीय सीमावर्ती बजारकै व्यापारी पनि तनावग्रस्त छन्। नुन किन्न पनि जोगवनी र पानीट्यांकी बजार पुग्ने नेपाली नै अधिक छन्। पूर्वी नेपालको भारतीय सीमावर्ती यी दुई बजार नेपाली ग्राहकले नै गुलजार हुन्छ। त्यहाँ नेपाली रुपैयाँमै कारोबार हुन्छ।

भारतीय नाकाबन्दीले जति काठमाडौँलाई पिरोलेको छ, त्योभन्दा कम्ती समस्या तराई–मधेशलाई नभएको होइन। खाना पकाउने ग्यास खोज्न भौँतारिने मान्छेहरू विराटनगरभरि भेटिन्छन्। पेट्रोल खोज्दै हिँड्ने कति छन् कति। तर, अचम्म के भने, मोटरसाइकलबाट पेट्रोल चोर्ने क्रम पनि यता बढेको छ। सीमावर्ती क्षेत्र भएकाले ७–१० दिनकै नाकाबन्दीले खाद्यान्न अभाव भने नहोला। तर, झण्डै ५० दिनदेखि अस्तव्यस्त रहेको तराई–मधेशलाई ‘सामान्य’ अवस्थामा फर्काउन सरकार अक्षम देखिएको छ। सरकार र आन्दोलनरत दुवै पक्षप्रति सर्वसाधारणको आक्रोश बढेको छ।

०००

सप्तरी रायपुरकी एक महिलालाई सातादेखि लगातार चक्कर र बान्ता आइरहेको थियो। उनी छिनछिनमा मुर्छित हुन्थिन्। गाउँको औषधिपसलेले दिएको दबाइले काम गरेन। उनी अझै थलिइन्। डाक्टर बस्छन्, राजविराजमा। बन्दले बाटोमा गाडी चल्दैन। उनको स्वास्थ्य अवस्था दिनदिनै खस्किँदो थियो। परिवारमा चिन्ता बढ्यो। कसरी लाने बिरामीलाई राजविराजसम्म। एम्बुलेन्सको

भाडा तिर्ने उनीहरूको हैसियत छैन। सोमवार ठेलामा राखेर उनलाई राजविराजस्थित अञ्चल अस्पताल पुर्‍याइयो। रायपुरदेखि राजविराजको दूरी १३ किलोमिटर हो। उनी ठेलामा अचेत अवस्थामा लडिरहेकी थिइन्।

मेहनत–मजदुरी गरेर दुई छाक टार्ने मजदुरका लागि त बन्द झन् अभिशाप बनेको छ। कामको आशमा दिनहुँ राजविराजको गजेन्द्र चोकस्थित मजदुर हाट पुग्ने सयौँ मजदुर कामदारविहीन हुँदा दिकदारी मानिरहेका छन्। ‘सरकारले आन्दोलनकारीसँग किन वार्ता नगरेको?’ कजौली–३ का रामु मण्डलले प्रश्न गर्दै भने, ‘अधिकारका लागि आन्दोलन गरिराखेको भन्छन्। खै, आफ्नै देशका जनतालाई सरकारले अधिकार नदिए कसले दिन्छ?’

सत्यदेव यादव विराटनगर भन्सार क्षेत्रमा क्यारिअरको काम गर्छन्। समान उठा–पटक (लोड–अनलोड) गर्ने कामबाट नै उनको परिवारको गुजारा चलेको छ। तर, सातायता उनको रोजीरोटी खोसिएको छ। आयात रोकिएपछि यादवको परिवारमा दुई छाक टार्न समस्या परेको छ। ‘काम नहुँदा जीउ पनि खसखस गरिरहन्छ, भारी बोक्ने शरीर, के–के नपुगेजस्तो,’ यादवले सुनाए, ‘समस्या छ भने सरकारले सुनुवाइ गर्नुपर्‍यो। हामीजस्ता मजदुरका काम खोस्नु भएन।’

बन्दले आम मानिस सबैभन्दा बढी पीडित छ।

भन्सार नाका ठप्प

मुलुककै ठूलो नाकामा पर्छ, विराटनगर भन्सार। आयात–निर्यात हुँदा यो भन्सारले दैनिक पाँच करोड रुपैयाँभन्दा बढी राजस्व उठाउँछ। विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार आयात–निर्यातबाट साउनमा १ अर्ब ७३ करोड ३४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। भदौमा विराटनगर भन्सारले १ अर्ब २६ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भारतको अघोषित नाकाबन्दीले विराटनगरको राजस्व सातायता सुकेको छ।

भारत र तेस्रो मुलुकबाट नेपालका लागि आयात गरिएका सामान बोकेका ट्रक, कन्टेनर र रेल्वेको वागन र्‍याकले सीमावर्ती भारतीय बजार भरिभराउ छ। आयात रोकिएपछि नेपाल आयात हुने सामान बोकेका सवारी–साधन जोगवनीमा थन्क्याउने ठाउँको समेत अभाव भएको छ।

जोगवनीदेखि फारबिसगञ्जसम्मको १२ किलोमिटरको सडकका दुवै छेउमा मालसामान बोकेका सवारीसाधन रोकिएका छन्। जोगवनीस्थित भारतीय भन्सार कार्यालयका अनुसार करिब पाँच सयभन्दा बढी मालवाहक गाडी बाटोमै रोकिएका छन्। बाटोमै समान बोकेका गाडी रोकिएर ट्राफिकमा समस्या आउन थालेपछि भारतीय प्रहरीले बथनाहामा रहेको एकीकृत भन्सार चेकपोस्ट परिसरतिर गाडी सार्न थालेको छ। ‘बाटोभरि समान बोकेका ट्रक र कन्टेनरको लाम छ,’ जोगवनीका वरुण मिश्राले भने, ‘गाडीको ताँतीले जोगवनीदेखि फारबिसगञ्जसम्मको आवागमनमा समेत समस्या परिरहेको छ।’

‘असुरक्षा’ को कारण देखाउँदै समान बोकेका गाडीका चालक र भन्सार एजेन्टले कामै गर्न छोडेपछि वस्तु बोकेको गाडीको जाँचपास हुन नसकेको भारतीय भन्सारका अधिकारीको भनाइ छ। विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले नेपाल आउनुपर्ने सामान बोकेका गाडी जोगवनीको सडकमै अलपत्र परेको बताए। ‘अनेकौँ पटक समान लोड भएको गाडी नेपालतर्फ पठाइदिन आग्रह गरिसक्यौँ,’ परासरले भने, ‘सुनुवाइ नै भएको छैन।’

परासरका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरका स्टिल र फलाम उद्योगले मगाएको तीन वागन र्‍याक सामान जोगवनीको रेल्वे स्टेसनमै अलपत्र छन्। फलामको कच्चापदार्थ रेलमार्फत आयात गरिन्छ। रेल्वेको एक वागन र्‍याकको समान करिब १ सय २० गाडी समान हुन्छ। ‘समान आयात नहुँदा समस्या भइरहेको छ,’ परासरले भने।

चीनबाट आयात गरिएका लसुन र प्याज छिट्टै आयात नहुँदा कुहिने खतरा छ। तीन दिनदेखि जोगवनीमै लसुन, प्याज, फलफूल र तरकारी बोकेका कन्टेनर रोकिएका छन्। ‘तुरुन्तै खपत नभए तरकारीजन्य वस्तु सड्छ,’ भन्सार एजेन्ट संघका अध्यक्ष परासरले भने। प्याजको अभावसँगै मूल्य अकाशिएपछि चाइनिज प्याज र लसुन जोगवनी नाकाबाट नेपाल आयात गर्न थालिएको छ। भारत र तेस्रो मुलुकबाट नेपालका लागि आयात गरिएको समानको जोगवनीस्थित भारतीय भन्सार कार्यालयबाट जाँचपास नहुँदा सयौँ गाडी नाकामै रोकिएका हुन्।

भारत र तेस्रो मुलुकबाट जोगवनी नाका हुँदै पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ र व्यावसायिक सामान आयात हुन्छन्। पूर्वमा झापाको काकडभिट्टा, जनकपुरको जटही, सप्तरीको कुनौली, सिरहाको माडर, महोत्तरीको भिठामोड नाकाबाट आयात–निर्यात ठप्प छ। यी सबै नाकामा संयुक्त मधेशी मोर्चाका नेता–कार्यकर्ता दिनहुँ धर्नामा छन्।

शुक्रवार साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published.