हतियारसहित एमाओवादी कार्यकर्ता रामप्रकाश डगौरा पक्राउ

प्रहरीले कैलालीको गदरियाबाट तीन थान हतियारसहित एकीकृत माओवादीका एरिया कमिटी सदस्य रामप्रकाश डगौरा थारूलाई पक्राउ गरेको छ। गदरिया–८, वनकन्द्री बस्ने ४५ वर्षीय थारूलाई प्रहरीले बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक गरेको छ। उनको घरबाट तीन थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रहरीको क्षेत्रीय अनुसन्धान समूह सेतीले थारुलाई पक्रेको हो। डगौराको घर–आँगननजिक रहेको खाल्डोमा प्लास्टिकको सेतो बोराभित्र राखेर लुकाएको अवस्थामा बाह्रबोर बन्दुक, गजसहितको भरुवा बन्दुक, इटालियन स्वचालित पेस्तोल, एक सय ग्राम बारुद र बाह्रबोरमा प्रयोग हुने खाली टोटा चार थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए।

प्रहरीका अनुसार आफ्नै मामाको छोरा रमेश चौधरीलाई भदौ २१ गते थरूहटको आमसभामा जान ट्र्याक्टर नदिएको निहुँमा उनले कुटपिट गरेका थिए। घटनापछि रमेशले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि रामप्रकाश पक्राउ परेका हुन्। रामप्रकाशले गाउँमा बेलाबेला हातहतियार देखाएर तर्साउने गरेको बुझिएको डिएसपी खड्काले बताए।

रामप्रकाशसँग मिलेर रमेशलाई कुटपिट गरेको आरोपमा प्रहरीले शिवलाल चौधरीलाई पनि पक्रेर सार्वजनिक गरेको छ। उनी राष्ट्रिय जनशक्ति पार्टीका गदरिया गाउँ समिति उपाध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published.