थारु नेताहरु तराईमा, विशेष प्रशिक्षण र मधेसी नेतासँग छलफल हुने

Tharu Leaderकाठमाडौं- केन्द्रीय थारु नेताहरु शुक्रबार बिहानै तराई झरेका छन्। शनिबार तराईमा गरिने क्षेत्रीय प्रशिक्षण तथा समीक्षा कार्यक्रमका लागि उनीहरु तराई झरेका हुन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिको निर्णयअनुसार शनिबार बिहान ८ बजेदेखि बर्दियाको गुलरिया, नवलपरासी डन्डा, रौतहट र सुनसरीको दुहबीमा विशेष प्रशिक्षण र समीक्षा कार्यक्रम हुँदैछ। कार्यक्रममा आसपास जिल्लाका नेताहरु सहभागी हुने जनाइएको छ।

बर्दियाका लागि थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, फोरम लोकतान्त्रिकका जनकराज चौधरी, एमाओवादीका गौरिशंकर चौधरी र थरुहट तराई पार्टीका सचिव मीनराज चौधरी छन्। बर्दियाको कार्यक्रममा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया र सुर्खेतका नेताहरु सहभागी हुनेछन्।

त्यस्तै डन्डामा हुने कार्यक्रममा फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरी, थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष गंगा थारु, संघीय लोकतान्त्रिक मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी थारु, थारु विद्यार्थी समाजका उपाध्यक्ष शिवनारायण थारु छन्। टोलीमा समितिका संयोजक धनिराम चौधरी पनि सहभागी हुने बताइएको छ। डन्डाको प्रशिक्षणमा दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी र चितवनका नेताहरु सहभागी हुने बताइएको छ।

रौतहटमा हुने कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरी, पूर्वमहामन्त्री राजकुमार लेखी, प्रेमीलाल चौधरी र फोरम लोकतान्त्रिकका युवा नेता शैलेन्द्र चौधरी छन्। रौतहट प्रशिक्षणमा पर्सा, बारा, रौतहट, सर्लाही र धनुषाका नेताहरु सहभागी हुनेछन्।

त्यस्तै सुसनसरीको दुहबीमा हुने कार्यक्रममा एमाओवादी नेता अमनलाल मोदी, थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरी, थारु कल्याणकारिणी सभाका कन्नुलाल चौधरी, सरस्वती चौधरी र फोरम लोकतान्त्रिकका गीता चौधरीलगायत छन्। कार्यक्रममा सिरहा, सप्तरी, उदयपुर, सप्तरी, सुनसरी, मोरङ र झापाका नेताहरु सहभागी हुनेछन्।

सीमाकंनलगायतका विषयमा असन्तुष्ट थारु नेताहरु विगत ४६ दिनदेखि आन्दोलनरत छन्। नयाँ संविधानमा मूल मुद्दाहरु नसमेटिएको भन्दै थारुहरुले आन्दोलन जारी राखेका छन्। सरकारले वार्ताको वातावरण बनाउनुको सट्टा आन्दोलनकारीमाथि धरपकड जारी राखेको भन्दै समितिले सशक्त आन्दोलन गर्ने बताइसकेको छ। समितिले अबको आन्दोलन सीमामा नाकाबन्दी र प्रमुख राजमार्गहरुमा २४ घन्टे धर्ना दिने जनाएको छ।

मधेसी नेतहरुसँग पनि छलफल हुने

संविधानमा आफ्ना माग मुद्दा सम्बोधन नभएपछि थारु र मधेसी नेताहरुले छुट्टा छुट्टै आन्दोलन गरिरहेका छन्। अबको दिनमा यी दुबै पक्षले सहकार्य गरेर अघि बढ्ने धारणा सार्वजनिक गरिसकेको छ। राजविराजको बैठकपछि मधेसी मोर्चाले विज्ञप्ती जारी गर्दै सीमा क्षेत्रमा नाकाबन्दीसहित एकअर्काको आन्दोलनमा समर्थन रहेको बताइसकेको छ। यता थारु मोर्चाले पनि मधेसीसँग सहकार्य गरेर आन्दोलन अघि बढाइने बताएको छ।

समितिका सचिवालय सदस्य राजकुमार लेखीले तराई गएका बेला मधेसी नेताहरुसँग पनि छलफल हुने बताए। उनले थारु-मधेसीको माग एजेन्डा उस्तै रहेकाले सहकार्य हुनसक्ने बताए। ‘नयाँ संविधानमा थारु, मधेसी, जनाजति, मुस्लिमलगायतका समुदायको माग सम्बोधन भएको छैन,’ लेखीले भने, ‘समान एजेन्डामा आन्दोलन गरिरहेका मधेसीमात्र होइन, अन्य पक्षसँग पनि सहकार्य हुनसक्छ।’

तराई पुगेका थारु नेताहरुले आ-आफ्ना जिल्लाका मधेसी नेताहरुसँग छलफल गरेर आन्दोलनको स्वरुपबारे धारणा बनाउने बुझिएको छ।

Leave a Reply

Your email address will not be published.