तराईमा दुइटा मधेस छ, अब के खोज्या मैले बुझेको छैन : देउवा

deuwaनेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधान निर्माणमा दुईवटा गल्ती भएको बताएका छन् । साथै उनले अब संविधान संशोधन गरेर त्यसलाई सच्याउन आफूले पहल गर्ने समेत बताएका छन् । बिहीबार राति साढे ९ बजे न्यूज २४ मा प्रशारित हुने सौजन्य मिडियाको प्रस्तुती ‘इन्फोटक’लाई दिएको अन्तरवार्तामा देउवाले समानुपातिक समावेशी र निर्वाचन क्षेत्रबारे मधेसको चित्त दुखाइ रहेको बताए ।

‘खाई पाएको अधिकार भन्छन् नि, हिजो अन्तरिम संविधानले दिएको अधिकार खोसियो भन्ने परेको छ मधेसका दाजुभाइहरुलाई’उनले भने-‘केही हदसम्म सत्यता पनि छ, अन्तरिम संविधानमा समानुपातिक समावेशी ग्यारेन्टी गरिएको थियो । त्यो कुरा यहाँ -नयाँ संविधानमा) छैन । त्यो गर्न जरुरी छ ।’

साथै निर्वाचन सीटमा मधेसलाई घट्यो भन्ने चिन्ता रहेको उनले बताए । पूर्वप्रधामन्त्री समेत रहेका देउवाले भने-‘त्यो घट्दैन भनेर ग्यारेन्टी गरेर संविधान सुधार गर्नुपर्छ । तर, कुनै जिल्ला खाली पनि गर्नु हुँदैन ।’

संविधान संशोधन गराएर भए पनि दुबै माग पूरा गराउने देउवाले प्रतिवद्धता जनाए । उनले भने- ‘त्यसका लागि म लड्छु, संशोधन गराएर भए पनि अन्तरिम संविधानले दिएको अधिकार स्थापित गरेरै छोड्छु ।’ यो सम्बोधन हुनासाथ मधेसका जनता खुसी हुने र आन्दोलन पनि रोकिने विश्वास उनले व्यक्त गरेका छन् ।

अखण्ड सुदूरपिश्चम पक्षधर देउवाले संघीयताबारे भने पुरानै अडान दोहोर्‍याए । कैलाली कञ्चनपुर र झापासम्म हुनुपर्‍यो भन्नु अन्याय हुने उनले बताए ।

आन्दोलनकारीहरुको के मागेको आफूले बुझ्न नसकेको उनले बताए । ‘दुईवटा मधेस छ । पर्सादेखि सप्तरी पूरै मधेसै मधेस छ । ८० प्रतिशत मधेसका दाजुभाइ छ । त्यही आगो बलिरहेको छ’ कांग्रेस नेता देउवाले भने-त्यस्तै बर्दियादेखि परासीसम्म अर्को मधेस प्रदेश छ । चार-पाँचवटा पहाडी जिल्लाबाहेक सबै मधेस नै हो । थरुहट भने पनि मधेस भने पनि हुन्छ । दुईवटा मधेस त भइसक्यो नि । अब के खोज्या, मैले बुझेको छैन ।’

उनले कैलाली, कञ्चनपुरका थारुहलाई स्वायत्तता दिइने बताए । उनले भने-यस्तो अधिकार दिन चाहन्छु कि अन्य बसोबास गर्ने थारुहरुलाई पनि कैलाली कञ्चनपुरकाले त यस्तो भएको पो भन्ने लागोस् । म गरेर देखाउँछु ।’

नयाँ सरकार गठनबारे सोधिएको प्रश्नमा उनले भने- ‘सबैले चाहृयो र सबैको समर्थन भयो भने म प्रधानमन्त्री हुने हो, म नै हुनुपर्छ भन्ने छैन ।’

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.