चितवनमा तीस हजार यूनिट रगतको माग

DSC00720

कारी महतो

चितवन मेडिकल सिटीको रुपमा विकसित भैरहेको छ। भारतबाट समेत उपचारका लागि विरामीहरु चितवन आउने गरेको छ। यहाँ वार्षिक तीस हजार युनिट रगतको माग रहेको छ। जिल्लाभित्रका रत्तदाताहरुबाट रक्तसंचार केन्द्रले बाइस हजार यूनिट रगत संकलन गरी आपूर्ति गर्ने गरेको कुरा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका कोषाध्यक्ष अनिता मैनालीले बताउनु भयो।

खैरहनी नगरपालिकाको पर्साबजारमा थारु कल्याणकारिणी सभा चितवनको प्रगन्ना नं. ७ ले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भई सो कुरा बताउनु भयो। वैज्ञानिकले सबै कुराको आविष्कार गरेको छ तर रगतको आविष्कार गर्न सकेको छैन। त्यसैले एक मानवले अर्को मानवलाई आवश्यक परेको बेलामा रक्तदान गरी सहयोग गर्नुपर्छ वहाँले बताउनु भयो। चितवनको रक्तसंचार केन्द्र देशभरकै रक्तसंचार मध्ये १३ औं पटक उत्कृट ठहरिएकोमा चितवनका रक्तदाताहरुको सहयोगमा अब १४ औं पटकमा पनि उत्कृष्ट हुनेमा कुनै शंका नरहेको जनाउनु भयो।

थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले पश्चिम नेपालमा थारु र गैरथारु बीच केही मनमुटब भई सद्भाव खल्बलिन गएकोमा थारु कल्याणकारिणी सभाले गर्ने यस्तै मानवीय कार्यक्रमहरुले सद्भाव कायम गर्न निकै ठूलो भूमिका र सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो।

नेपाल रेडक्रस सोसाइटी खैरहनी उपशाखाका सभापति सानुकाजी पाण्डेले रक्तदान बारे गाउँ गाउँमा जनचेतना जगाउनु पर्ने बताउनु भयो। खैरहनी उपशाखाले यस क्षेत्रका रक्तदाता संघसंस्थाहरुलाई रक्तदान कार्यक्रम गरे वापत आर्थिक सहयोग गर्ने जनाउनु भयो।

नेपाल रेडक्रस सोसाइटी चैनपुर उपशाखाका सभापति चन्द्रकान्ता न्योपानेले रगत दिएर अहिलेसम्म कोही पनि नमरेको तर आवश्यक परेको बेलामा रगत नपाएर मरेको धेरै भएको बताउनु भयो।

कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरी, पूर्व केन्द्रिय सदस्य चन्द्र कुमारी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नु भयो। कार्यक्रममा सहित ३६ जनाले रक्तदान गर्नुभयो। उद्घाटन कार्यक्रम थारु कल्याणकारिणी सभा चितवन प्रगन्ना नं. ७ का सभापति नारायण प्रसाद महतोको अध्यक्ष्तामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.