थारु-मधेसीको प्रश्न- हामी यो देशको नागरिक होइनौं? हौ भने अधिकार माग्दा गोली किन?’

Nepalgunj-madhesh-protest

नेपालगञ्ज- संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मोहम्मद इश्तियाक राईले शान्तिपूर्ण आन्दोलन गरिरहेका मधेशी जनताको टाउको र छातीमा गोली हन्ने कार्य अपराध भएको बताएका छन्।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संयुक्त थरुहट मधेश सङ्घर्ष समितिले बुधवार बाँकेको पुरैनीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले मधेशमा भइरहेको आन्दोलनमा सुरक्षाकर्मीले टाउको र छातीमा गोली हन्ने कार्य सदनको मुद्दा बन्न नसकेकोमा आक्रोश व्यक्त गरे ।

‘के हामी मधेशी र थारु यस देशको नागरिक होइनौ ? यदि हौ भने अधिकार माग्दा किन गोली ?’ उनले भने,– ‘मधेशीहरुको अधिकार सम्बोधन नगरी आएको अन्तरिम संविधान जस्तै तीन दलले जारी गर्न खोजेको संविधानको हालत पनि थारु र मधेशीले त्यही गर्ने चेतावनी दिए ।

उनले मधेशका नागरिक सामु भारत जाने वा शासकको दास भएर जीवन बिताउने या संघर्ष गरेर आफ्नो अधिकारको सुनिश्चितता गर्ने भन्दै तीन विकल्प रहेको बताए । लोकतन्त्रमा शान्तिपूर्वक अधिकारको प्राप्तीका लागि संघर्ष गर्न पाउने भन्दै पुर्वमन्त्री राईले गाउँगाउँमा रहेका सरकारी कार्यालयमा मधेश सरकार लेख्न अहवान गरे ।

संघर्ष समिति बाँकेका प्रवक्ता तथा तमलोपाका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले सरकारले मधेशका नागरिकहरुमा त्रास फैलाउने काम गरिरहेको आरोप लगाए ।

केन्द्रिय सदस्य मिश्रले मागको सम्बोधन र शान्तिपूर्ण आन्दोलनमा जारी दमन सरकारले नरोकेसम्म आन्दोलन जारी रहने बताए । प्रस्तावित संविधान विधयेक विरुद्धको विरोधसभामा फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हिरालाल लोनिया, संयुक्त थरुहट मधेस सङ्घर्ष समितिका सहसंयोजक फुलाराम थारु, सदस्य पट्टु थारु, सदभावना गजेन्द्रवादीका अब्दुल कलाम आजाद, सदभावनाका केन्द्रिय सदस्य राजेश कुमार बर्मा, मुस्लिम संघर्ष समिति बाँकेका संयोजक अकरम अन्सारी, थरुहटका सोमति चौधरी लगायतले सम्बोधन गरेका थिए ।

संयुक्त थरुहट मधेश सङ्घर्ष समितिका संयोजक विजय कुमार गुप्ताको सभापतित्वमा भएको विरोधसभामा ग्रामीण क्षेत्रबाट उल्लेख संख्यामा सर्वसाधारणको सहभागिता भएपनि मोर्चाका तर्फबाट केन्द्रिय नेतृत्वको उपस्थिति भने थिएन ।

नेपालगन्ज उप–महानगरपालिका क्षेत्रको फुल्टेक्रादेखि नन्दनी मिल र राँझादेखि जमुनहासम्मको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधित क्षेत्र घोषणा गरेकाले विरोध सभा पुरैनीमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published.