देउवाले भने- ‘थारुलाई बिशेषाधिकार दिन्छौं’

deuwaभिम चौधरीकैलाली- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर ६ बाट विजयी बने जिल्लाको प्रमुख समस्याको रुपमा रहेको नदी कटान रोक्ने प्रतिबद्धता जनाएका छन्। कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता देउवाले कैलाली जिल्लाको प्रमुख समस्याको रुपमा रहेको मोहना, घुरहा, कान्द्रा नदीको कटान रोकेर छाड्ने प्रतिबद्धता जनाए। उनले गुरु योजना बनाएर दातृ निकायको सहयोगमा जसरी पनि कटानको समस्याबाट कैलाली बासीलाई मुक्ति दिने बताए। सुदूरपश्चिमको केन्द्र बिन्दुको रुपमा रहेको कैलाली उब्जाउ भूमिको खानी र महत्वपूर्ण भएको बताउँदै नेता देउवाले समस्याको रुपमा रहेको नदी नियन्त्रण आवश्यक रहेको औंल्याए।
आजै कैलाली क्षेत्र नम्बर ५ ले अत्तरियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता देउवाले जनताको चाहाना अनुसारको संविधान नेपाली कांग्रेस बाहेक अन्य कुनै पनि पार्टीले बनाउन नसक्ने ठोकुवा गरे। नेता देउवाले देशका हरेक क्रान्तिको नेतृत्व कांग्रेसले गर्दै आएको र २०४६ सालमा कांग्रेस नेतृत्वको सरकारले नै ६ महिनामा संविधान बनाएको इतिहासको स्मरण गराउँदै अब कांग्रेस नै संविधान बनाउन सक्ने दाबी गरे।
कांग्रेसले निर्माण गर्ने संविधानमा पछाडि पारिएका दलित, आदीबासी जनजाती थारु, राना थारुलाई बिशेषाधिकार दिइने खाकाको रहने नेता देउवाले बताए। उनले आफ्नो नेतृत्वको सरकाले पछाडि पारिएका महिला, दलित समुदायका लागि स्मरण योग्य काम गरेको बताउँदै संघीयताका क्रममा कैलाली थरुहट बनेपनि नबनेपनि यस क्षेत्रका थारु तथा राना समुदायलाई बिशेषाधिकार दिनुपर्नेमा जोड दिए। उनले जनताको लहरले देशभर कांग्रेसको जित निश्चित रहेको दाबी गर्दै कांग्रेसको बहुमत आए यस क्षेत्रमा विकास र पछाडि पारिएका समुदायसँगै सुकुम्बासी, मुक्त कमैयाका समस्या र बेरोजगारीका समस्यासमेत समाधान गरिने बताए।
सुदूरपश्चिमका समस्याबारे आफूलाई थाहा भएको बताउँदै नेता देउवाले यस क्षेत्रको विकासका लागि आफू सदैव लागि पर्ने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published.