टीकापुर घटनामा लक्ष्मण थारुसहित २२ लाई ज्यान मुद्दा

Laxman tharu

टीकापुर घटनामा संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुसहित २२ जनाविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरिक्षक बिश्वराज खड्काले आवश्यक अनुसन्धान पछि २२ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको बताए । ‘सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय बुझाउने प्रकृयाको अन्तिम चरणमा छ,’ उनले भने, ‘बढीमा दुई दिन भित्र सरकारी वकिलमार्फत् अदालतमा पेश हुन्छन् ।’ उनले २२ जनालाई एक साथ पेस गरिन लागेको बताए ।

भदौ ७ को टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो । जसमध्ये १८ जनालाई प्रहरीले तारिखमा रिहा गरेको छ । अझै घटनामा संलग्न केही थारु कार्यकर्ता र नेतालाई फरारको सूचीमा राखिएको छ ।

फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुलाई प्रहरीले गएको बुधबार रुपन्देहीमा पक्राउ गरेको हो । कैलालीको फुलबारीका उनी संविधान सभा निर्वाचनमा फोरम लोकतान्त्रिकको तर्फबाट उम्मेदवार बनेका थिए । माओवादीबाट विद्रोह गरेका थारुले पछि छुट्टै संगठन बनाएका थिए ।

थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरी र फोरम लोकतान्त्रिकका क्षेत्र नम्बर ३ का रामप्रसाद चौधरीविरुद्ध पनि प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ । मुद्दा दायर गरिएका मध्ये १९ जना थारु कल्याणकारी सभा र फोरम लोकतान्त्रिकका कार्यकर्ता हुन् ।

-ekantipur

Leave a Reply

Your email address will not be published.