सप्तरीको रुपनीमा गोली चल्यो, तीन आन्दोलनकारी पक्राउ

tharu protest

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज साँझ आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच झडप भएको छ। राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई प्रदर्शनकारीले तोडेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।

प्रदर्शनकारीले निषेधाज्ञा तोडेर प्रदर्शन गर्दे ढुङ्गामुढा गरेपछि स्थितिलार्ई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाइफायर एवम् गोली चलाउनुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निषेधाज्ञा तोडेर प्रदर्शन गर्दे प्रहरीमाथि आक्रमन गर्ने तीन जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवलगायत तीन जना आन्दोलनकारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच सप्तरीको रुपनीमा आज साँझ प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीले तीन जना आन्दोलनकारीलाई पक्राउ गरेको भन्दै सदरमुकाम राजविराजस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आन्दोलकारीले आगजनी गरेको छ।

आगजनीबाट पार्टी कार्यालयको सम्पूर्ण फर्निचरलगायत अन्य सामग्री जलेको नेपाली काँग्रेस पार्टी कार्यालयले जनाएको छ। अहिले राजविराजको स्थिति तनाबग्रस्त रहेकाले स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास र छ राउण्ड हवाइफायरसमेत गरेको प्रहरीले जनाएको छ।

तीन दिनअघि पनि आन्दोलकारीले नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका थिए। आन्दोलनकारीले अहिले पनि राजविराजको विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्।  रासस

Leave a Reply

Your email address will not be published.