विनोद चौधरीको प्रश्‍न- ‘मेरा बुबा र छोराको के दोष थियो?’

Ganesh and Rohan

ट्युसन सकिएपछि रोहन चौधरी घरतिर हिँडे। बाटोमा भेटिएका मामा विनोद चौधरीले ‘झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति बढाए। तर महेन्द्र चोक काट्नै पाएनन्। प्रहरीले चलाएको गोलीले उनलाई भेट्यो। उनी ठाउँका ठाउँ ढले।

१० कक्षामा पढ्दै गरेका १७ वर्षीय रोहनको मृत्युले जलेश्वर नगरपालिका–७ बजराहीको चौधरी परिवार शोकमा डुबेको छ। घरमा रुवाबासी चलिरहेको छ। बुधबार दिउँसो ३ बजेको त्यो घटनापछि अर्धअचेत उनकी आमा बबिताले एक दान अन्न खाएकी छैनन्। रोहनका किताब, स्कुलको परिचयपत्र र मोबाइल हेर्दै भक्कानिन्छिन्। छिनछिनमा बेहोस हुन्छिन्। बर्बराइरहन्छिन्, ‘हमर बेटाके फिर्ता दिय (मेरो छोरा फिर्ता देऊ), मेरो छोराको के दोष थियो?’

शुक्रबार फेरि त्यही परिवारमा अर्को बज्रपात आइलाग्यो। गाउँमा छिरेर प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा रोहनका हजुरबुबा ६० वर्षीय गणेशको ज्यान गयो। गणेश शुक्रबार साँझ हिँडडुल गर्न रतवाडा गाउँनजिक रहेको हटिया पुगेका बेला प्रहरीले गोली प्रहार गरेको थियो। बायाँ आँखामै गोली लागेर उनी साइकलसहित सडक किनाराको खेतमा ढलेका थिए। उनको घटनास्थलमै मृत्यु भयो।

‘दुनियाँको सारा विपत मेरै परिवारका लागि पर्खेर बसेको रहेछ,’ छोरा र बुबा गुमाएका विनयले भने, ‘मेरा बुबा र छोराले के दोष थियो? निर्दोष छोरा र बुबा मार्नेको कहिल्यै भलो हुँदैन।’

गणेश रेडक्रस उपशाखा जलेश्वरका सभापति थिए। उनी जिल्ला शाखामा ३० वर्षसम्म मन्त्री भएका थिए। उनले जनवानी साप्ताहिक, प्रभात पत्रिकामा सम्पादक रहेर समेत काम गरेका थिए। उनले २०३६ तिर तत्काली राजा वीरेन्द्र शाहबाट सेवा पदकसमेत पाएका थिए।

रोहन जलेश्वरस्थित शिशु ज्ञान निकुञ्ज इङलिस बोर्डिङ स्कुलमा पढ्थे। ‘पढाइमा राम्रो थियो, उसको इच्छा बुझेर डाक्टर वा इन्जिनियर बनाउने सपना थियो,’ विनयले भावविह्वल हुँदै भने। गणेश र रोहन राजनीतिमा लगाव थिएन।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जारी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका दुवैको शव जलेश्वर अस्पतालमै राखिएको छ। दुई जनाको ज्यान जाँदा पनि आन्दोलनरत पक्ष र सरकार केही नबोलेको परिवारजनको गुनासो छ। शव परिवारलाई बुझाउन पनि आन्दोलनरत पक्ष र स्थानीय प्रश्ाासनले पहल नगरेको उनीहरूले बताए।

आन्दोलनरत मधेसी मोर्चाका नेताहरूले झडपका क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, जारी कर्फ्यु हटाएर मृतकको सम्मानजनक दाहसंस्कारको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। यस्तै, मृतक परिवारका एक जनालाई सरकारी जागिरको व्यवस्था गर्नुपर्ने, आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा निःशुल्क गर्नुपर्ने र परिवारलाई तत्काल राहत दिनुपर्ने माग पनि उनीहरूको छ।

प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले भने मृतकको शव सम्बन्धित गाउँमा पठाएर दाहसंस्कार गर्न आग्रह गरेका छन्। उनले जलेश्वरमा शवयात्रा निकाले फेरि पनि घटना हुन सक्ने स्थिति कायमै रहेको पनि बताए।

नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.