प्रहरीको गोलीले ७० वर्षीय गणेश चौधरीसहित पाँच जना मारिए, ५० बढी घाइते

janakpur-aandolan-22-bhadraमहोत्तरी प्रशासनले लगाएको कर्फ्यूको अवज्ञा गर्दै प्रर्दशनमा उत्रेकामाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। चार जना प्रर्दशनकारीलाई गोली लागेर घाइते भएका छन्। बन्दकर्ता र प्रहरीबीच शुक्रबार दिउँसो जलेश्वरको शंकर चोक र नगरपालिका चोकमा भएको झडपमा हातिलेट घर भएकी ३५ वर्षीया रामशिला ठाकुरको मृत्यु भएको छ। मृतक ठाकुर राप्रपा नेपालकी नेतृ हुन्। उनी राप्रपा नेपालको जिल्ला सदस्यसमेत हुन्। उनका श्रीमान शम्भु मण्डल डाम्ही मडै गाविसका प्राविधिक सहयाक छन्।

त्यसैगरी जलेश्वर नगरपालिका ७ बजराही घर भएका ६० वर्षीय गणेश चौधरी पनि प्रहरीको गोलीबाट मारिएका छन्। प्रहरीले बजराही गाउँमै पसेर अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि चौधरीलाई गोली लागेको थियो। उनको आँखा अगाडिबाट छिरेको गोली टाउको बाहिरबाट निस्केको छ। जलेश्वर अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालका डाक्टर झाले मृत घोषित गरे।

मृतक चौधरी नेपाल रेडक्रस सोसाईटी जलेश्वर शाखाका आजीवन सदस्य थिए। उनी बुधबार झडपको क्रममा मारिएका बजराही ७ का रोहन चौधरी आफ्नै हजुर बुबा हुन्।

त्यसैगरी जलेश्वर २ घर भएकी शैलदेवी चौधरीको तीघ्रामा गोलि लागेर उनी घाइते भएकी छिन। उनको जलेश्वर अस्पतालमा उपचार भइरहेको र उनको अवस्था पनि गम्भीर रहेको उपचारमा संलग्न डाक्टर झाले बताए। यसैबीच बजराही ७ का नागेन्द्र साह , महेश्वर ठाकुर र १२ वर्षिय अजित मिश्रलाई समेत गोली लागेको छ। उनीहरुलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा रेफर गरिएको जलेश्वर अस्पतालले जनाएको छ।

त्यस्तै जनकपुरमा कर्फ्यू उलंघन गरी प्रदर्शनमा उत्रेका आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जमुनिया अन्दाजी १४ वर्षका नितु यादव र महेन्द्रनगरका सञ्जय चौधरी छन्। घाइते अवस्थामा जनकपुर अञ्चल अस्पताल पुर्‍याइएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका हुन्।

प्रदर्शनकारी ढेँगा शिवपुरबाट जनकपुर चुरोट कारखाना हुँदै नगरभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो। प्रहरीले रोक्न खोज्दा जबरजस्ती अघि बढ्ने खोजेपछि प्रहरीले जवाफमा अश्रुग्यास र गोली प्रहार गरेको हो।

जनकपुर चुरोट कारखाना नजिक प्रहरीको गोली लागेर सद्भावना पार्टी क्षिरेश्वरनाथ नगर अध्यक्ष ३० वर्षीय सञ्जय चौधरी र धनुषा जमुनीयाका श्रीनारायण यादवका छोरा १६ वर्षीय नितु यादवको मृत्यु भएको हो।

पिराडी चोकमा प्रहरीले चलाएको गोली लागेर सिनुरजोडाका दिलीप यादवको घटनास्थलमै मृत्यु भएको छ। नितु र दिलीपको टाउकोमा गोली लागेको छ भने सञ्जयको छातीमा गोली लागेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जय ठाकुरले बताए।

प्रहरीको गोली लागेर कुर्थाका परमेश्वर साह, जितेन्द्र पण्डित, विल्टु मण्डल, जनकपुरका मुकेश साह, बालमुकुन्द साह, कृष्ण मण्डल, जयप्रकाश यादव, विकास यादव, जनकपुर-२५ कनकपटीका सुर्यनारायण यादव, राजाराम पण्डितलगायत ५३ जनालाई धाइते छन्। उनीहरु मध्ये अधिकांशको टाउको, घाँटी, छाती र पाखुरामा गोली लागेको मेडिकल सुपरिटेन्डेन्ट ठाकुरले जनाएका छन्।

Leave a Reply

Your email address will not be published.