बलात्कारीमाथि कारबाही माग

बुटवल- बसपार्कमा एक किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न दोषीलाई कारबाही गर्न अधिकारकर्मीले प्रहरीलाई दबाब दिएका छन्। बलात्कारको घटनालाई अन्तै मोडेर पीडितमाथि उल्टै दोष थोपर्ने प्रयत्न भएकोप्रति चासो व्यक्त गर्दै अधिकारकर्मीले आज इलाका प्रहरी कार्यालय बुटवलमा पुगेर दबाब दिएका हुन्।
महिलाका क्षेत्रमा काम गर्ने सञ्चारिका समूह लुम्बिनी, ओरेक नेपाल, रेडियो मुक्ति, बर्ड नेपाल, दलित महिला सङ्घलगायत संस्थाका प्रमुख तथा प्रतिनिधिले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारसँग भेटी सामूहिक बलात्कारका घटनामा संलग्न अभियुक्तलाई कारबाही गर्न माग गरे। सार्वजनिकस्थलमा दिउँसै सामूहिक बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई निर्दोष सावित गर्ने षड्यन्त्र भएको भन्दै दोषीलाई उन्मुक्ति नदिन उनीहरूले आग्रह गरेका हुन्।
भेटका क्रममा अधिकारकर्मीले महिलाको सुरक्षा अवस्था कमजोर रहेकोतर्फ सचेत गराउँदै सुरक्षाका सवालमा विशेष कार्यक्रम सञ्चालन गर्न प्रहरीलाई आग्रह गरे। विशेषगरी बुटवलको बसपार्कलगायत आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन, सवारी जाँचमा कडाइ गर्न र महिलाका समस्यामा ध्यान केन्द्रित गर्न उनीहरूले आग्रह गरे।

जवाफमा प्रहरी नायब उपरीक्षक बैदवारले सामूहिक बलात्कारको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै घटनामा संलग्नमाथि जबर्जस्ती करणीको मुद्दा चलाइएको जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.