टीकापुरमा थप तीन जना पक्राउ, पक्राउ पर्नेको संख्या २० पुग्यो

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूसहित ४ जना पक्राउ परेका छन्। प्रहरीले थारूलाई भैरहवा र विकास चौधरी, दिलीप चौधरी र लिखाराम चौधरीलाई टीकापुरबाट प्रहरीले बुधबार पक्राउ गरेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले टीकापुरमा भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालकको हत्या भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको बताए। ‘जिल्ला प्रहरी कार्यालय कैलालीले फारार रहेको भनेर पक्राउ गर्न पत्र पठाएपछि भैरहवा प्रहरीले लक्ष्मण थारूलाई पक्राउ गरेको हो,’ प्रजिअ चापागाईंले भने।

Laxman tharu

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विक्रम चन्दले फरार अभियुक्त पक्राउ गर्न भनेर पत्र पठाएअनुसार थारू पक्राउ परेको जानकारी आएको बताए। ‘पक्राउ परेको जानकारी आएको छ,’ एसपी चन्दले भने, ‘यहाँ पठाउलान्।’

टीकापुर घटना अनुसन्धानका क्रममा हालसम्म २० जना पक्राउ परिसकेका छन्। पक्राउ परेकामध्ये १६ जनाका लागि अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको छ।

भदौ ७ गते टीकापुर नगपालिका कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेखेको साइनबोर्ड झुन्ड्याउने र प्रदर्शन गर्ने भनिएको कार्यक्रममा प्रदर्शनकारीका तर्फबाट एसएसपी न्यौपाने, दुई इन्सपेक्टरसहित ८ प्रहरी र एक नाबालकको हत्या गरिएको थियो।

यसैबीच, बुधबार जिल्ला प्रशासनमा थरुहटका स्थानीय नेतासँग भेटघाट गरेर बन्द फिर्ता गरेर आन्दोलनको स्वरूप बदल्न आग्रह गरेको प्रअिज चापागाईंले जानकारी दिए। ‘बन्दले जनजीवन कष्टकर भएकाले बन्द फिर्ता गरेर आन्दोलनको स्वरूप बदल्न आग्रह गरेको छु,’ उनले भने, ‘बन्द फिर्ता भए कर्फ्यु हटाउन सजिलो हुन्छ।’ थरुहटका नेताहरूले भने त्यसबारेमा विचार गर्ने जवाफ दिएका थिए। थरुहट–थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरी, होरीलाल चौधरी, खड्ग चौधरी, माधव चौधरी जिल्ला प्रशासनमा पुगेका थिए।

कैलालीमा साउन २१ गतेदेखि लगातार बन्द छ भने भदौ ७ गतेदेखि टीकापुर क्षेत्र र भदौ ८ गतेदेखि धनगढीमा कर्फ्यु छ।

Leave a Reply

Your email address will not be published.