दुई तिहाइको संविधान मान्दैनौं, आन्दोलन सशक्त बनाउँछौं : थारु नेता

Tharuhat, Bardiya Protest 03

थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति बर्दियाका प्रवक्ता देवमान थारुले नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)को शीर्ष नेतृत्व र उनीहरुकै इसारामा चलेको वर्तमान सरकारले थारु आदिवासी जनजातिको माग पूरा गराउनुभन्दा वर्तमान आन्दोलनलाई दमन गर्ने नीति बनाएकाले आफूहरुको आन्दोलन अझ सशक्त, प्रभावकारी एवम् जनप्रिय बनाउने बताएका छन्।

प्रवक्ता थारुले अन्तरिम संविधान, चारदलबीचको १६ बुँदे सहमति र २०६२-६३ को जनआन्दोलनको मर्मविपरीत ३ दलका शीर्ष नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थबाट प्रेरित भएर दुई तिहाइ बहुमतबाट जबर्जस्तीरुपमा संविधान जारी गर्न लागि परेकाले आफूहरुले त्यसलाई नमान्ने बरु आगामी दिनमा आन्दोलन अझै सशक्त बनाउन लागेको बताए।

धर्म निरपेक्षतालाई नयाँ संविधानमा यथावत राख्ने, थारु, मधेसी र जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्न आयोग बनाउने निर्णयसहित सात प्रदेशको सीमाङ्कनमा सामान्य परिमार्जन गर्दै तीन दलले नयाँ संविधानको विधयेकमा साझा संशोधन प्रस्ताव दर्ता गराए पनि सो संशोधनले थारु, मधेसी र जनजातिलगायतको असन्तुष्टिलाई सम्बोधन नहुने उनको भनाइ थियो।

अब हामीहरुले आन्दोलनलाई निरन्तरता दिँदै आन्दोलन अझ सशक्त बनाउनुको विकल्प छैन, प्रवक्ता थारुले भने। उनले आफूहरुको आन्दोलन जातीय राज्यका लागि नभई वर्षौंदेखि राज्यको पहुँचबाट टाढा बनाइएका वर्गलाई समानुपातिक एवम् समावेशी अर्थात् जनसङ्ख्याको आधारमा राज्यसत्तामा पहुँच स्थापना गर्नका लागि भएको बताए। रासस

Leave a Reply

Your email address will not be published.