सहमतिमै संशोधन प्रस्ताव दर्ता गर्न चार दल सहमत

1four party meeting

संविधानको परिमार्जित विधेयक संशोधनका लागि प्रस्तुत गरिने प्रस्ताव सहमतिका आधारमा दर्ता गर्न प्रमुख चार दल सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा (माओवादी) र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सम्मिलित बैठकमा दलहरुबीचको सहमतिबाटै संशोधन प्रस्ताव दर्ता गर्ने सहमति बनेको हो।

बैठकपछि नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको परिमार्जित विधेयकमा संशोधन गर्न दलहरुबीचको सहमतिकै आधारमा प्रस्ताव लगिने भएको बताए। दलहरुमार्फत संविधानसभामा लगिने संशोधन प्रस्तावबारे छलफल जारी रहेको जानकारी दिँदै उनले यो विषयलाई आजै पुनः बस्ने चार दलको अर्को बैठकले टुङ्गो लगाउने विश्वास व्यक्त गरे।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधनका सम्पूर्ण विषय सहमतिकै आधारमा प्याकेजमा लाने गरी छलफल भइरहेको बताए।
सोह्र बुँदे सहमतियता संविधान निर्माण प्रक्रिया क्रमबद्ध रुपमा अगाडि बढी अन्तिम चरणमा पुगेको बताउँदै उनले भने, ‘मधेस, थारु समुदायलगायतको जारी आन्दोलनसमेतलाई सम्बोधन गर्दै अन्तिम बिन्दुसम्म सहमतिका आधारमा नै अघि बढ्छौं।’

नेपाली कांग्रेसका नेता रमेश लेखकले शीर्ष नेतृत्वबीच सहमतिका आधारमा संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्बन्धमा सकारात्मक रुपमा छलफल अघि बढिरहेको जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.