देउवाले थारुलाई रौं पनि दिन्न भनेपछि भट्टराईले भने- ‘कैलाली तपाईको ठेक्का हो?’

Sher Vs Baburam

सीमांकनमा थारु समुदायको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा भएको छलफल नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका कारण भाँडिएको छ। थारु र मधेसीका मागलाई समेट्ने बताइरहेका प्रमुख दलहरु सहमतिको नजिक पुग्नुको साटो थप विवाद र भनाभनमा उत्रिएका छन्। सम्वाद समितिअन्तर्गतको उच्चस्तरीय समितिमा आइतबार ६ प्रदेशको सीमांकनमा देखिएको असन्तुष्टिबारे छलफल भएको थियो। तर, कांग्रेस नेता देउवाले कैलाली कञ्चनपुरको रौं पनि छोडि्दँन भनेपछि सहमति हुन सकेन।

स्रोतका अनुसार बैठकमा देउवा र सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईबीच चर्काचर्की परेको थियो। कैलालीको रौं पनि छोडि्दन भनेपछि एमाओवादी नेतासमेत रहेका डा. भट्टराईले देउवालाई ‘तपाईलाई मैले नै ४० बुँदे माग राखेर जनयुद्ध गरेको होइन?’ भन्ने प्रश्न गरेका थिए।
बैठकपछि नेताहरुले सकारात्मक छलफल भएको र सहमति नजिक रहेको बताए पनि बैठकमा ‘कैलाली तपाईको ठेक्का हो?’ भन्दै देउवासँग चर्काचर्की परेपछि सहमति हुन नसकेको एक सहभागी नेताले बताए।
चार दलले गरेको ६ प्रदेशको सीमांकनमा एमाओवादी र फोरम लोकतान्त्रिकले कैलाली र कञ्चनपुरबारे फरक मत राखेका छन्। कैलालीलाई प्रदेश नम्बर ६ मा राख्दा थारु समुदायमाथि अन्याय भएको भन्दै एमाओवादीले सच्याउन माग गरेको छ। थारु समुदायले आन्दोलन गरिहेका छन् । मधेस केन्द्रीय चार दलले पनि थारु समुदायलाई नै अघि सारेर सीमांकनको विरोधमा आन्दोलन गरिरहेका छन्।
तर, थारुहरुको आवाजलाई समेट्ने चारदलको प्रयास आइतबार सहमतिको नजिक पुग्नुको साटो झनै भाँडिएको छ।
स्रोतका अनुसार शीर्षनेताहरुको बैठकमा कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का लचिलो भएर प्रस्तुत भएका थिए। तर, देउवाले आफू पक्षीय नेता खड्कालाई समेत नकराउनोस् भन्दै म रौं पनि छाडि्दँन भनेर भनेर हप्काएका थिए।
थारुहरुको माग सम्बोधन गर्नेबारे भएको छलफलमा एमाले नेतृत्वले पनि सकारात्मक भूमिका नखेलेको एमाओवादीका एक नेताले बतााएका छन्।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.