टीकापुर निषेधित क्षेत्र घोषणा, प्रशासनले डाक्यो सर्वपक्षीय भेला

protest

अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच शुक्रबार भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा गएराति ९ बजेदेखि लगाइएको कर्फ्यू आज बिहान ६ बजेबाट हटाइएको छ।

कर्फ्यू हटाइएपछि टीकापुर नगर क्षेत्रको स्थिति बिहानदेखि केही सामान्य बनेका, बजार क्षेत्रमा पसल नखुले पनि सर्वसाधारण हिँडडुल गर्न थालेको इलाका प्रशासन कार्यालय टीकापुरका प्रशासकीय अधिकृत सुमन धितालले बताए।

यसैबीच जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म उत्तरमा पथरैया गाविस, दक्षिणमा धनसिंपुर गाविस, पूर्वमा कर्णाली नदी र पश्चिममा मुनुवा गाविसभित्रको टीकापुर नगर क्षेत्रमा सभा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ।

अखण्ड पक्षधरले गरेको मोटरसाइकल र्‍यालीलाई थरुहट पक्षधरले टीकापुर नजिकको दुर्गौली क्षेत्रमा शुक्रबार बाधा अवरोध गर्दै ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको थियो। झडप पछिको स्थिति नियन्त्रणमा लिने क्रममा तीन जना प्रहरी घाइते भएका थिए। झडपमा १४ अखण्ड पक्षधर पनि घाइते भएका थिए।

मोटरसाइकल र्‍यालीमा अवरोध पुर्‍याइएपछि आक्रोशित भएका अखण्ड पक्षधरले झडपकै क्रममा बाटोमा पर्ने केही सर्वसाधारणका घरमा तोडफोड गरेका थिए।

यस्तै थरुहट पक्षधरले र्‍यालीका केही मोटरसाइकल नियन्त्रणमा लिइ तोडफोड गरेका थिए। थरुहटका कार्यकर्ताले रेडियो घोडाघोडी एफएमका पत्रकार नवराज खनालमाथि शुक्रबार आक्रमण गरेका थिए। आक्रमणबाट घाइते भएका खनाल उपचारका लागि अस्पताल भर्ना भएका छन्।

दुई पक्षबीच भएको झडपको स्थितिले कैलाली जिल्लामा सुरक्षा चुनौती बढेपछि टीकापुर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। यसैबीच सामाजिक सद्भाव कायम राख्न पहल गर्ने प्रयासस्वरुप आज सर्वपक्षीय बैठक बोलाइएको प्रशासकीय अधिकृत धितालले जानकारी दिए। थरुहट पक्षले गरेको बन्द भने कैलालीमा यथावत छ। रासस

Leave a Reply

Your email address will not be published.