बन्द अवज्ञा गर्ने दुइटा ट्रकमा आगजनी, बसमा तोडफोड

truckसप्तरीको भारदह-पोर्ताहा सडक खण्डमा शनिबार बिहान बन्दकर्ताले दुई वटा मालबाहक ट्रकमा आगजनी गरेका छन्। उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन्।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोर्ताहा-५ स्थित सडकमा ना३ख ७३०० नम्बरको मालबाहक ट्रकमा आगो लगाइदिएको संयुक्त आन्दोलन परिचालन समित क्षेत्र नम्बर २ का अध्यक्ष वीरेन्द्र माझीले जानकारी गराए। आगजनीका कारण ट्रक पूर्णरुपमै क्षतिग्रस्त भएको छ। उक्त ट्रक पश्चिमबाट पूर्वतर्फ गइरहेकेा थियो।

त्यस्तै पूर्वतर्फ गइरहेको ना४ख ४२६६ नम्बरको यात्रुबाहक बसमा समेत बन्दकर्ताहरुले अन्धाधुन्ध ढुंगामुढा गरेका छन्। यात्रुसमेत रहेकेा बसमा ढुंगामुढा गर्दा बस अनियन्त्रित भएर भारदह–१ स्थित सडकमा पल्टिएको थियो।

बस पल्टिँदा १४ जना यात्री घाइते भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी गराए। घाइतेहरुमध्ये ५ जनालाई उपचारका लागि राजविराज पठाइएको र बाँकी ९ जना प्राथमिक उपचार पश्चात फर्किसकेको उनको भनाइ छ।

यता बन्दका कारण शनिबार छठौं दिन पनि सप्तरीको जनजीवन ठप्प छ। सदरमुकाम राजविराजसहितका बजारहरु पूर्णरुपमा ठप्प हुँदा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीसमेत खरिद गर्न गाह्रो भइरहेको छ।

यातायात, कलकारखाना, उद्योग व्यवसाय, निजी तथा सरकारी बैंक एवम् वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कर्यालय, शैक्षिक संस्था पूर्णरुपमा ठप्प हुँदा जनजीवन कष्टकार बन्दै गएको छ। हजारौं बालबालिका पढन पाउने अधिकारवाट बञ्चित भएका छन्।

नागरिकन्युजबाट

Leave a Reply

Your email address will not be published.