थारु हेपाहा प्रवृत्तिको अन्त्य गरौं

दिलबहादुर चौधरी

जतिबेला राज्य पुनर्संरचनाको कुरा उठ्छ, त्यतिबेला मिलेर बसेको कुरा जोडदारले उठ्छ, सामाजिक सदभावको कुरा जोडले उठ्छ। अरुले बोल्दा आकाश खस्ने र आफूले बोल्दा महमिश्रित बाणीको संज्ञा दिने चलन छ हाम्रो समाजमा। यसले पनि समस्या पारिरहेको छ। त्यसैले बोल्दा र लेख्दा हरेकले कुरा तौलेर लेख्न र बोल्न आवश्यक हुन्छ।

सामाजिक सदभावलाई कायम राख्नका लागि एक नागरिकले अर्को नागरिकलाई हेप्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। तर हाम्रो समाजमा त्यो देखिँदैन। खान पाएपछि बोक्रासमेत खाइदिने बानीले धेरैलाई समस्या पार्ने गरेको छ। थारुहरुको इतिहास सम्बन्धमा बिशेषतः कमरेड लेखराज भट्ट, राजेन्द्र रावलबाट प्रायः कैलाली र कंचनपुरको आदिवासी भनेका ब्राम्हन/क्षेत्री हुन् भन्ने कुरा आउँछ। यसले थारु समुदायलाई सार्है दुःख दिने काम गर्छ। मुटुमै घोच्छ। यो हेपाहा प्रवृत्तिले आपसमा सामाजिक सदभावलाई कायम गर्दैन। कुनै पनि थारुले यो कुरालाई स्वीकार गर्दैन, किनकि थारुहरुका बुढापाका अहिले पनि छन्। जिताजागता प्रमाणले त्यो कुरा पत्याउँदैन।
पृथ्वी नारायण शाहले एकीकरण गर्नु अगावै तराईका थारुहरुको थरुहट स्वतन्त्र थियो। थारु जमिन्दार थिए। सुगौली सन्धिमा राप्ती पारीका भूभाग गुम्यो। करिब ४४ वर्ष भारतले शासन गर्‍यो। भारतमा सन् १८५७ मा सिपाही विद्रोह भएपश्चात जंगबहादुरले अंग्रेज शासकलाई सहयोग गरेवापत अंग्रेजले यी भूभाग फिर्ता दिए। भूभागसँगै राना थारु, कठरिया थारु, बुर्हनिया थारु फेरि नेपाली भए। कैलाली, कंचनपुरमा त्यतिबेला कि थारु थिए, कि जंगल थियो। औँलोको कारण अन्य जातिका मानिस बस्न सक्दैन थिए। औँलो उन्मूलन पश्चात मात्रै पहाडी समुदाय यो जिल्लामा बस्न थालेका हुन्। इतिहासले त्यस्तो भन्छ। गल्ती गरेका, सजाय पाउन योग्य भएका र राणाहरुका नजरमा कमजोर भएका मान्छे यहाँका अड्डा अदालतमा कर्मचारी हुन्थे। औँलो उन्मूलनपछि थारु हैन, अन्य जाति यहाँ बसोबास गरे, यथार्थ त्यो हो।

dil bdr chaudharyनयाँ मुलुक भएपश्चात यो क्षेत्रबाट अंग्रेजहरुले काठका गोलिया, सिलापट निकाले। निकाल्नेमा अरु कोही नभएर थारु नै थिए। २०७२ भादौ ३ गतेको सुदूर सन्देश दैनिकमा हिरादत्त भट्टले फेरि थारुहरुमाथि हमला बोले। उनले ‘कैलाली-कंचनपुरका आदिवासी को हुन्?’ भन्ने शीर्षकमा लेख लेखे। जसमा राना थारुहरुलाई बारम्बार फिरन्ते जीवनयापन गरेको दर्शाएका छन्। उनले भनेका छन्- फिरन्ते जीवन निर्वाह गर्ने भए पनि राना थारुहरु र आफूहरु कैलाली र कंचनपुरमा सँगै बसोबास गरेका हौं। ‘खासगरी डंगौरा थारुहरु २०२१ सालमा औँलो उन्मूलनपछि कैलाली कञ्चनपुरमा बसोबास गर्न थालेका हुन्’ भनी उल्लेख गरेका छन्। उनको यो लेखाइ सामन्ती सोँच र थारु हेपाहा प्रवृत्तिको उपज हो। धेरै कुरा थारुहरु सहन सक्छन्, तर यो अनर्गल लफ्फाजी थारुहरुको लागि सह्य छैन। असह्य भएका कारणले नै होला आज तीन, चार जनाले यही सम्बन्धमा फोन गरे। यस्तो किन लेख्छन् सर मान्छे? भनी प्रश्न गरे। किनकि थारुहरुको इतिहास थारुहरुलाई मज्जाले याद छ, कण्ठस्थ छ। चिसोमा आउने, थारुहरुलाई चर्ने, शोषण गर्ने अनि अवधका नबाबलाई कर तिर्ने, कसैले राणाहरुलाई कर तिर्ने र चाकडीबाज गर्ने काम गरेका हुन सक्छन्, तर कैलाली र कंचनपुरमा पहिले थारुहरुको बसोबास मात्रै थियो भनेर ठोकुवा गर्न सकिन्छ।

महाशय हिरा जीले बि.सं २०२१ सालको कुरा उठाउँदा मलाई त हाँसो लाग्छ। जाई, जाली र हसनपुरका डंगौरा थारुहरुलाई सोधे भैहाल्यो नि, उनीहरु ०२१ सालपछि मात्रै आएका हुन् वा पहिले? भनाईको पनि हद हुन्छ, सीमा हुन्छ। हिराजीलाई म महेश चौधरीले लेखेको ‘नेपालको तराई र यसका धर्ती पुत्र’, स्थबिरहरुको प्राचीन इतिहास’ नामक पुस्तक र तेजनारायण पंजियार, कुर्तमेयरले लेखेको ‘नेपालका राजाहरु तथा तराईका थारु’ नामक पुस्तक पढ्न सल्लाह दिन्छु।

थारु जातिका सम्बन्धमा ‘कुमाउँका इतिहास’ नामक पुस्तकमा बद्रीदत्त पाण्डेयले लेखेका छन् ‘इस जातिके लोग कुमाउँ व नेपालके तराईमे बहुत प्राचीन कालसे रहते आये हैं, तराईके मलेरिया को किसी ने जीता तो इन्होने’। यसरी थारुहरु आदि, अनादिकालदेखि नै यहाँका भूमिमा बस्दै आएका छन्। यिनीहरु गफ्फाडीले गफ दिएजस्तो थार प्रदेशबाट, मुसलमानको आक्रमणबाट जोगिन भागेका मान्छे होइनन्। ‘नेपाली जन आन्दोलन और मेधेसी मुक्तिका सबाल’ नामक पुस्तकमा उपेन्द्र यादवले लेखेका छन्- ‘थारु जातिको आवादी वाले क्षेत्रको ‘थरुवान’ वा ‘थरुहट’ कहाजाता है। कहीँ कहीँ तो पुराने थारु राजाओंका गढका भग्नावशेष अभी तक कायम है।’ ‘थारुहरु नेपालमा प्राग ऐतिहासिक कालदेखि बस्दै आएका छन्, मंगोल आकृतिका यी जातिहरुको धेरै लामो समयसम्म दक्षिणका आर्यहरुसँग बसोबास भएकाले आफ्नो पुरानो संस्कृतिलाई परिवर्तन गर्दै आएका छन्। आवश्यक अनुसन्धानबिना उनीहरुको बारेमा किटानीसाथ भन्न गाह्रो छ’- बालचन्द्र शर्मा।’

‘थारुहरु आफूलाई र अरुले पनि उनीहरुलाई तराईका आदिवासी मान्छन्, २००७ सालअगाडि तराईमा थारुहरुबिना राज्यको कुनै पनि काम चल्दैनथ्यो, तर २००७ सालपछि राज्यलाई थारुको आवश्यकता परेन, औलोग्रस्त तराईमा थारुहरु मात्रै बाँच्न सक्थे (यद्यपि तराई, बिशेषगरी पूर्वी तराईमा ठूलो मात्रामा भारतीयहरु बसाई सरेका थिए), औँलो उन्मूलन भएपछि धेरै पहाडेहरु तराईमा सरेकाले पहिलादेखि बसोबास गर्दै आएका थारुहरुलाई बेफाइदा भयो, जमिन गुमेपछि उनीहरु कमैया हुन पुगे’- अर्जुन गुणरत्ने।
‘तराईको गर्मी र औँलोले पहाडका मानिसहरुलाई तराई झर्नबाट रोक्थ्यो, यसले गर्दा राणाहरुले तराईका रैथाने मानिसहरुलाई आफ्नो खेत बिस्तार गर्न र भारतीयहरुलाई तराईमा बसोबास गर्न प्रोत्साहन दिने नीति लिए’- जगन्नाथ अधिकारी, हरि ढुङगाना, ओमप्रकाश देव।
‘पृथ्वी नारायाण शाहले नेपालको एकीकरण अभियान चलाएका समयमा औँलो पचाएका आदिवासी बसोबास गरेका केही भागबाहेक सम्पूर्ण तराई जंगलामूलक थियो, पश्चिम नेपालमा धेरैपछिसम्म थारुजस्ता आदिवासीहरुको बसोबास थियो, त्यसपछि त्यहाँ पनि पहाडेहरु बसाईं सरे’- के ह्योमे।

त्यसैगरी ‘मधेसी मुक्तिको प्रश्न’ नामक सानो पुस्तकमा डा. बाबुराम भट्टराईले लेखेका छन्- ‘भौगोलिक हिसाबले तराई क्षेत्र ज्यादै गर्मी हुने र सुरुमा मलेरियाको प्रकोप पनि ज्यादै हुने हुनाले तराईमा गर्मी सहन सक्ने र मलेरियाविरुद्ध प्राकृतिक रुपले प्रतिरोधात्मक शक्ति भएका आदिबासीहरु मात्रै बसोबास गर्थे, त्यसैले सुरुसुरुमा आष्ट्रिक र द्रबिड मूलका जातिहरु (जस्तै थारु, दनुवार, राजबंशी आदि) मात्रै तराई क्षेत्रमा बस्ने गरेको पाइन्छ, पछि खासगरी अठारौं, उन्नाइशौं शताब्दीमा तराई केन्द्रीय राज्यसत्ताको अधिनमा आएपछि तराईको जंगल फँडानी गरेर ठूलो संख्यामा मानिसको बसोबास गराउने क्रम सुरु भएको पाइन्छ, त्यसै बेलादेखि नेपालको पहाडतिरबाट र भारतको बिहार, उत्तरप्रदेशतिरबाट मानिसहरु मिसिएर बस्न थालेको देखिन्छ, तैपनि हावापानीको हिसाबले पहाडका जातिहरु भन्दा भारतको मैदानमा बसोबास गर्नेहरुलाई तराई बढी उपयुक्त भएको हुँदा सुरुको अवस्थामा भारतको मैदानतिरबाट आउनेहरुको संख्या बढी भएको र पछि मलेरिया उन्मूलन भएदेखि पहाडबाट झर्नेहरुको संख्यामा वृद्धि हुँदै गएको देखिन्छ।’

यी कुराले थारुबारे धेरै कुरा स्पष्ट पार्छ। त्यसैले अन्तिममा के अनुरोध गरौं भने धेरै लेखकहरुले जातजाति सम्बन्धमा धेरै पुस्तक लेखिसकेका छन्। ती पुस्तकहरुमा थारुहरुबारे धेरै कुरा उल्लेख छ। उल्लेखित कुराले थारुलगायतका धिमाल, कोचजस्ता जातिलाई तराईका आदिबासी भनी भनेको छ। बिशेष गरेर इतिहास जस्तो कुरालाई पढे लेखेका प्रायः थारुले अध्ययन गर्ने गरेका छन्। त्यसैले मित्रहरुलाई अनुरोध गर्न चाहन्छु, जो सोझो, उसको मुखमा घोचो सिद्धान्तलाई अवलम्बन नगरिदिनुस्। यस्ता कुराले आपसी कटुतालाई निम्तो मात्रै गर्छ। धन्यवाद!

3 thoughts on “थारु हेपाहा प्रवृत्तिको अन्त्य गरौं

  1. श्वेत साफ सत्य र तथ्य कुरा हो। थारु भनेको नेपालको (विशेषतः तराईंको)सबभन्दा पुरानो जाति हो। नाक चुच्चेहरुले चुच्चे र छुच्चे कुरा मात्र गर्छन्। कहिल्यै फेद (ग्रासरुट) कुरा गर्न जान्दैनन्। बाहुनहरु त काग नै हुन्। जहिले नि काँ काँ काँ गरिरह्ने। कोईलीको फूल चोरेर आफ्नो फूल भन्छन् यी कागहरुले। साला कपटी, झेली, फटाहा बाहुनहरू होशियार! खबरदार!! सामाजिक सदभाव खल्बलाउने तिमिहरू जस्ता फटाहाहरूले हुन्। चेते चेत, न चेते खा ढेक!

  2. Mero buwa kailali ma 1960 BS ma janmanu bhayako thiyo. ani kasri tharu haru 2021 ma matrai kailali ma ayaka hun bhanne kura Sancho hunchha?…………. Hira Bhatta le lekheko lekh sarasar galat chha.

  3. धेरै पछाडिको इतिहास हेर्ने पर्दैन पुरातत्व विभागले निकालेको मेची महाकाली किताबको अध्ययब गर्दा पनि मेची देखि महालाली सम्मको तराई भुभागको मुल बासिन्दा थारु नै हो भनि प्रष्ट हुन्छ साथै पुरानो नक्सामा पनि तराईलाई थारुबासी क्षेत्र भनेर प्रष्ट सँग नामाकरण गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *