कर्फ्यू खुले लगत्तै भारदहमा प्रहरी बिटमा अागजनी

11855867_564032400420854_1673878833334083237_nमंगलबार भएको झडप पछि लगाइएको कर्फ्यू खुल्न नपाउँदै भारदहमा पुन: प्रदर्शन सुरु भएको छ । प्रदर्शनको क्रममा आन्दोलनकारीले भारदह चोकमा रहेका प्रहरी बिटमा आगो लगाइदिएका छन् । यस्तै राजमार्गमा गुडिरहेको स ४ प ७९३८ नम्बरको बाइकमा पनि आगजनी गरेका छन् ।

केही समय अघि भएको सर्वदलीय छलफलले मंगलबार प्रहरीको गोली लागि मृत्यु भएका राजीव राउतको दिउँसो ४ बजे शान्तीपूर्ण शवयात्रा गरि दाहसंस्कार गर्ने निर्णय गरेको छ । प्रदर्शनकारीहरु उग्र भए पनि प्रहरी आज ईलाका प्रहरी कार्यालयबाट बाहिर निस्केको छैन ।

संयुक्त मधेसी मोर्चाको बन्दका क्रममा मंगलबार सप्तरीको भारदहमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले हिजो दिउँसो ४ बजे देखि आज बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

हिजो भएको प्रदर्शनमा गोली लागेर भारदह–१ का २४ वर्षीय राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो भने भारदह–१ का ४० वर्षीय देवनारायण विश्वास, भारदह–२ का ३५ वर्षीय सुरेन्द्र मण्डल, भारदह–१ का ११ वर्षीय बालक दीपक साह, भारदह–१ का १८ वर्षीय सत्यनारायण राउत, भारदह–२ का २० वर्षीय गोपाल मण्डल, विजय ठाकुर र पोर्ताहा–५ का अमित यादवको विराटनगर र धरानमा उपचार भइरहेको छ। विश्वासको दुवै खुट्टा र मण्डलको एउटा खुट्टामा गोली लागेको छ। छर्रा लागेर घाइते बालक दीपक साहको पनि विराटनगरमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.