सप्तरीको भारदह क्षेत्रमा निषेधाज्ञा

Saptari Protest

प्रदर्शनका क्रममा गोली लागेर सप्तरीको भारदहमा एकजनाको मृत्यु भएपछि थप झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले आज दिउँसो ४ बजेदेखि भारदह क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा आज दिउँसो ४ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए।

भारदहको पूर्वमा कङ्कालनी मन्दिरदेखि ५०० मिटर, पश्चिममा भारदह टेम्पु स्ट्यान्डदेखि ५०० मिटर, उत्तरमा पोर्ताहाको गाविस भवन हटिया लाग्ने स्थानसम्म र दक्षिणमा सखरदही नहरपुलदेखि ३०० मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवले बताए।

निषेधाज्ञा जारी भएको अवधिभर ती इलाकामा घरबाहिर ननिस्कन, कुनै सवारीसाधन नचलाउन र बाहिर हिँड्डुल नगर्न स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ। प्रजिअ यादवले सो अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन चलाउनु परेमा वा घरबाहिर निस्कनु परेमा सुरक्षा निकायसँग अनुमतिपत्र लिएर मात्र हिँड्डुल गर्नसमेत आग्रह गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.