प्रहरीको गोली लागेर सप्तरीमा एकको मृत्यु, २ जना घाइते

mime

सप्तरीको भारदहमा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीको गोलीबाट भारदह-१ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएको संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले जानकारी दिए। गोलीबाट अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेहरु भारदह-१ का देवनरायण शाह र भारदह-२ का अपक साह छन्। उपचारका लागि उनीहरुलाई अस्पताल पठाइएको छ।

झाका अनुसार प्रदर्शनकारीले प्रहरी दमनको कडा विरोध गरेका छन्। उनीहरुले राउतको शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

यसअघि नै प्रहरी र प्रदर्शनकारीबीच स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले स्थिति नियन्त्रण गर्न ३५ राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह र मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश यादवसहित दर्जन बढी घाइते छन्।

बन्दका कारण भारदहमा अलपत्र परेको झण्डै २ सय ५० बढी सवारी साधनलाई स्कटिङ गरेर निकाल्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो।

 

Leave a Reply

Your email address will not be published.