थरुहट तराईका २२ जिल्लामा आजदेखि ६ दिने आमहड्ताल

Tharu-Masal-Juluss-16

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ। साउन २७ गते बुधबारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो। थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ।

पश्चिमको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत उपत्यका, दाङ देउखुरी, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, धनुषा महोत्तरी, सर्लाही, सिराहा, सिन्धुलीको कमलाखोंच, सप्तरी, उदयपुर उपत्यका, सुनसरी, मोरङ र झापासहित तराईका सबै जिल्लामात्र समेटेर प्रदेश निर्माण गर्नको लागि प्रमुख मुद्दा उठान गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको समितिको विज्ञप्तीमा उल्लेख छ।  विज्ञप्तीमा हिमाल, पहाड र तराईका भूगोल समेटेर बनाइएको प्रदेश कुनै पनि मूल्यमा थरुहट/थारुवानका मूलआदिवासीहरुले नस्वीकार्ने बताइएको छ।

तराईमा बसोबास गर्ने सबै नेपाली नागरिकहरुको पहिचान, आत्मसम्मान, अधिकार, न्याय र विकास सुनिश्चित गर्न प्रदेशको सीमांकनलाई मूल आधार बनाई अगाडि सारिएको मुद्दालाई सहयोग, साथ र समर्थन गर्नको लागि जनसमुदाय, नागरिक समाज, अधिकारकर्मी, विद्यार्थी, किसान, बरघर, मजदुर, पेसाकर्मी, पत्रकार सबैमा हार्दिक अपिल गर्दै समितिले अति भैपरी आउने एम्बुलेन्स, प्रेस गाडी, पानी बाकेको टैंकर, कूटनीतिक नियोगका गाडी, दूध बोकेको गाडीलाई आवत जावतमा रोक नलगाउने जनाएको छ।

सरकारले आन्दोलनकारीमाथि दमनको प्रयास गरे त्यसबाट सिर्जित असहज परिस्थितिबाट उत्पन्न हुने सबै घटनाको जिम्मेवारी नेपाल सरकारको हुने विज्ञप्तीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.