हराउनेछन् शान्ता, रुक्मिणी र गौरीशंकर चौधरीहरु

उज्ज्वल प्रसाई
जनयुद्धमा सबैभन्दा बढी मानिस मारिएका जिल्लाहरुमध्ये पर्छन् कैलाली र बर्दिया । सबैभन्दा बढी मानिस बेपत्ता पारिएको जिल्ला पनि बर्दिया नै हो । मारिने र बेपत्ता हुनेमा यो क्षेत्रका थारु जातिका मानिस बढी थिए अर्थात थरुवानका धेरै थारुहरुको बलिदानले सिंचेको हो माओवादी जनयुद्ध । तिनको बलिदानीको मूल्य के रह्यो ? यो प्रश्न नेपाली समाजको दलिनमा कतिञ्जेल अनुत्तरित झुण्डिने हो, थाहा छैन ।

वर्षौंसम्म थारुहरु बँधुवा मजदुर बने । सिंगो मुलुकका ‘उत्पीडितहरुको मुक्तिका निम्ति’ रचिएको युद्धमा पनि उनीहरुले ठूलो मूल्य चुकाए । आफ्नो जंगल दिए, जमिन दिए, श्रम दिए, जवानी दिए, पसिना दिए, र ज्यान त थोकमै दिए । उनीहरुकै रगत र पसिनाको जगमा खडा संविधानसभाले अहिले आएर उनीहरुको सम्पूर्ण अधिकार खोसेको छ । थरुवान नामेट भएको छ । संविधानसभामा पेश गरिएको ६ प्रदेशको संघीयताले निःसन्देह सबभन्दा पिँधमा धकेलेको थारुलाई नै हो ।
अरु जनजाति र मधेसी पनि ठगिएका छन् । मस्यौदा मार्फत ‘ठूला जात’का मस्यौदाकारले दलितमाथि गरेको दादगिरीबारे काफी चर्चा भइसकेको छ । नागरिकताको सवालमा महिलालाई पछि पार्न महेन्द्रमाला जपिरहने केही ‘राष्ट्रवादी’ले गरेका प्रपञ्च बुझिनसक्नु छ ।

Ujjwal Prasaiमुलुकको कुल जनसंख्याको ३० प्रतिशत बाहुन क्षेत्री छन् । राज्यसत्तामा उनीहरुको प्रभुत्व भने ६६ प्रतिशत भन्दा बढी छ । दलित, मधेसी, थारु, तामाङ, लिम्बु, इत्यादि कसैको पनि राज्यमा उचित प्रतिनिधित्व छैन । यसो भन्नु तर्क गर्नु होइन, बरु प्रमाणित सत्य बताउनु हो । प्रश्न उठ्छ, त्यसो भए यो असमानता कम गर्दै लैजानु पर्दैन ? पर्छ । किनभने असमानता बढ्दै गएकाले नै त्यति ठूला संघर्ष र बलिदानी भएका हुन् । तिनको मूल्यवत्ता जोगाउनु नै अहिलेको मुख्य चुनौती हो ।

संविधान घोषणाको संघारमा आइपुग्दा हाम्रा शासकहरुसँग केवल दुईटा बाटा थिए । पहिलो बाटो, यहाँ कुनै किसिमको असमानता छैन भन्ने प्रमाणित गर्ने, जे भनिंदैछ ती सबै कृत्रिम र बनावटी कथ्य हुन् भनेर पुष्टि गर्ने । जे जे संघर्ष र बलिदानीहरु भए, ती सबै फजुल थिए र कसैले लहडमा गरेको प्रहसन थियो भनेर स्थापित गर्ने र पछाडि फर्कने । दोस्रो बाटो, यहाँ भएका असमानता कम गर्न सुझाइएको उपायलाई अवलम्वन गर्ने वा त्यो भन्दा उत्तम र स्वीकार्य उपाय सुझाउने । अहिलेसम्म त्यस्तो विकल्प नआएकाले संघीयता स्थापित गर्ने नै उत्तम बाटो मानियो । तर सबभन्दा पेचिलो बनेर उठेको अहिलेको सवाल हो, कस्तो संघीयता ? उत्तर त्यति जटिल थिएन, जति बनाइयो । राज्यको पुनर्संरचना चाहानेहरुले दिएको बलिदानीको मर्मलाई समातेर तय गरिएको संघीयता । त्यस्तो संघीयता जहाँ थरुवान बनोस्, इतिहासमा त्यो जातिले भोगेका सारा दलन र शोषण अब पूर्णतया अन्त भएको महसुस गर्न पाओस्, आफ्नो भाग्य आफैंले लेख्ने समय आएको बोध गरोस् । मधेसीले इतिहासको हिसाबकिताब बोकेर हिंडिरहनु नपरोस्, स्वतन्त्र मधेसको काल्पनिकी खडा गर्नु नपरोस् । लिम्बु वा राई वा तामाङले बाहुनको मखुन्डो भिरेर सत्ताको किनार किनार लुकी हिंड्नु नपरोस् ।

माथिकै विषयलाई प्राविधिक भाषामा भन्दा, अलगाव र शोषण भोगेका मधेसी र थारु जस्ता जाति समुदायले जनसांख्यिक लाभ (डेमोग्राफिक डिभिडेन्ड) सुनिश्चित गर्न पाऊन् । पहिचान गुमेकाको पहिचान स्थापित होस् र अल्पसंख्यकको हक सुरक्षित रहोस् ।

बिडम्बना भन्नुपर्छ, वर्तमान शासकहरुले पहिलो बाटो रोज्ने निर्मम धृष्टता गरे । एकथरीले आफैंले नेतृत्व गरेका संघर्षलाई फजुल साबित गरे । उनकै कमरेडहरुले दिएका बलिदानीको अवमूल्यन गरे । अर्काथरीको लामो समयदेखि तय भएको राजनीतिक अभीष्ट नै यी सब संघर्ष र बलिदानीलाई अर्थहीन ठहर्याउनु थियो । उनीहरु आफ्नो लक्ष्य हासिल गर्न सफल भए । तिनले संविधानसभामा जोहो गरेको अंकगणित र तिनका आसपास घुमिरहने गोयबल्स पण्डितहरुले सिर्जना गरेका बलियो डिस्कोर्सकै बलमा विपक्षीलाई वशीभूत गर्न ती सफल भए । यी दुई थरीले सत्ता र बाध्यताको बहाना अघि सारेर त्यस्तो संघीयता लिएर आए जसले बहिष्करणमा परेका समूहका कुनै पनि आकांक्षालाई सम्बोधन गर्दैन ।

उदाहरणका लागि ६ प्रदेशमध्ये दुई प्रदेशलाई तथ्यांकको कसीमा हेरौं । प्रदेश नं १ अर्थात साविक पूर्वाञ्चल विकास क्षेत्रकै सेरोफेरोमा बनाइएको प्रदेशको केही भागमा लिम्बुवानको दाबी थियो । अहिले प्रदेश १ को ठाउँमा लिम्बुवान प्रदेश हुन सक्थ्यो जहाँ लिम्बुलाई केही जनसांख्यिक लाभ मिल्ने सम्भावना थियो । अर्थात राज्यसत्तामा उनीहरुको पहुँच केही सहज हुने बाटो खुल्थ्यो, उनीहरुका संस्कृतिको उचित जगेर्ना र विकास हुन्थ्यो । तर, यो खाका अनुसार १४ जिल्लाको गन्जागोलमा निर्माण गरिएको प्रदेशमा लिम्बुको जनसंख्या ८ प्रतिशत हुने रहेछ भने बाहुन र क्षेत्रीको गरेर लगभग २७ प्रतिशत हाराहारीमा जनसंख्या पुग्ने रहेछ । (यो तथ्यांक पछिल्लो जन गणनाबाट लिइएको हो ।) अर्थात, पुनः बर्चश्व बाहुन क्षेत्री समुदायबाट आउने टाठा बाठाकै स्थापित हुने निश्चय गरियो ।

खड्गप्रसाद शर्मा ओली र कृष्णप्रसाद सिटौलाहरुकै सधैं हैकम चलिरहने भयो । झुक्किएर कुनै सुवास नेम्बाङ आउन सक्छ । केवल एक सर्तमा, ऊ सबै आचरणमा बाहुन क्षेत्री नै हुनुपर्नेछ । वा संयोगवश पूर्णसिंह राजवंशीहरु अघिल्तिर आएछन् भने, उनीहरु दुई खाले संकटमा फँस्नेछन् । एक, सत्ता र शक्तिको बार्दलीमा उभिइरहन उनीहरु पूरै ‘कोअप्ट’ हुनु पर्नेछ । ओली, कोइराला र दाहालहरुकै चाकरीमा निमग्न हुनुपर्नेछ । दोस्रो, छिटै पलायन भएर राजनीतिक दृश्यबाट हराउनुपर्छ जस्तो पहिलो संविधानसभा चुनावमा कृष्णप्रसाद सिटौलालाई हराएका राजवंशी अहिले गुमनाम छन् ।

नेपालमा गरिएको पछिल्लो जनगणना अनुसार करिब सत्र लाख थारुहरुमध्ये, साढे सोह्र लाख भन्दा बढी थारुहरुको बसाई तराईमा छ । उनीहरु मूलतः बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, नवलपरासीजस्ता तराईका जिल्लाहरुमा बसोबास गर्थे । अहिलेको ६ प्रदेशीय खाकाले कैलाली र कञ्चनपुरलाई छैटौं प्रदेशमा लगेर राखिदियो जहाँ अरु नै जातिको बाहूल्य भएका लगभग १५ वटा भेग जोडिएको छ । यहाँबाट थारुको प्रतिनिधित्व हुनसक्ने आधार नै भत्कियो । त्यस्तै बाँके र बर्दियालाई राखिएको पाँचौँ प्रदेशमा समेत उनीहरुलाई कुनै जनसांख्यिक लाभ मिल्ने अवस्था रहेन । अन्य ठूला पार्टी मार्फत प्रतिनिधित्व गराउनु ठूलो महाभारत हुनेछ भने आफ्नै पार्टी बनाउँदा समानुपातिकबाट समेत प्रतिनिधित्व गराउन असम्भवप्राय देखिन्छ । अर्थात यी प्रदेशहरुमा पनि उही वर्चश्वशाली जाति र समूहहरुकै वर्चश्व अकण्टक रहने निश्चित गरिएको छ । शेरबहादुर देउवा र भीम रावलहरुका छायाँमा कतै विलिन हुनेछन् शान्ता र रुक्मिणी चौधरीहरु जसरी प्रभावहीन भएर हराए पूर्णसिंह राजवंशीहरु, त्यसरी नै हराउनेछन् गौरीशंकर चौधरीहरु । कोही बँचेछन् भने तिनमा विजय गच्छदारको लोभीपापी भूत सवार भएको हुनेछ । तिनले थारुलाई होइन, आफ्नै अतृप्त लालसालाई मात्र प्रतिनिधित्व गर्नेछन् ।

यसरी बनेको संघीयता र लेखिएको मस्यौदा संविधानका रुपमा घोषणा गरिएपछि के हुन्छ ? अरु सबैलाई ओझेल पार्दै दिग्विजयी मुद्रामा प्रकट हुनेछन् खड्गप्रसाद शर्मा ओली जसरी भारतमा उदाएका थिए हातमा कलश बोकेका नरेन्द्र मोदी । कारण, ओली डक्ट्रिनमा नै संविधान नामको गाता हालिएको हो । अर्को शब्दमा भन्दा, मुलुक एक फन्को दायाँ मोडिनेछ । त्यो दायाँ फन्कोलाई अझ मजबुत बनाउनेछ स्थानीय निर्वाचनले । एमालेले बनाएको बलियो सांगठनिक संरचना, जसमा स्थानीय साहुजी र ठेकेदारहरुको बोलबाला छ, त्यसैको बलमा स्थानीय निर्वाचनमा एमालेले अरु सबैलाई पाखा लगाउने पक्का छ । त्यसबेलासम्म मधेसी, जनजाति र दलितको आन्दोलन चलिरहे, राज्यले आफ्नो फँणा फैलाउनेछ । आन्दोलन दमन गर्नेछ । यसबीच, स्वतन्त्र मधेसको आवाज मुखरित बन्ने सम्भावनालाई नकार्न सकिन्न । त्यसलाई राज्यले गतिलो बहाना बनाएर सबै मोडरेट शक्तिहरुलाई समेत पेलेर सिध्याउने दुःस्साहस गर्नेछ ।

आन्दोलन भए, द्वन्द्व चर्केर जानेछ । नभए यथास्थिति कायम रहनेछ । कुनै दिन धनीमानी शेखर गोल्छाहरुले आफूलाई अझै नेपाली नभनिएको गुनासो गरिहाले, पत्रिकामा केही दिनसम्म दयाभाव छचल्किएर शहरभरि सतही रोइलो सुनिनेछ । त्यति लेठो पनि उठाइदिएनन् भने, ‘बनाना रिपब्लिक’ एक मुठ्ठी मानिसको हितमा तन्मयता साथ लागिरहनेछ ।

रेकर्ड नेपालबाट साभार

9 thoughts on “हराउनेछन् शान्ता, रुक्मिणी र गौरीशंकर चौधरीहरु

  1. जसले जे जस्तो किसिमको आदर्श र भाषण गरेको पनि सहती घरातल यही नै हो यसले देशलाई पञ्चायतकालिन सोच भन्दा पनि पछाडी धकेलिदिएको छ र थारुलाई सदाको लागि कमैया बनाउने दुश्प्रयास गर्दैछ । थारुको अगुवाहरुले यो बुझ्नु जरुरी छ ।

  2. Magar ra Magarat ko bisayma pani bislaysan garayko bhay Ajha ramo hunay thiyo, j hos Ujjwal Parsai jee lai Dhanayabad

  3. मार्छु भनेर जानेहरु मर्नु स्वभाविक हो र हुनु पनि पर्छ? जल्ले रातदिन एक गरेर मेहनत गरेका छन तिनिहरुको प्रगति हुनु स्वभविक हो र हुनु पनि पर्छ, अहिले नि जाडखाएर काठमाण्डौको गल्लि हरुमा धुत भएर सुत्ने हरुको सन्तान भोलि गरिब हुनु स्वभविक हो।

    अनि लेखकज्यु एउटा कुरा अहिले सम्म बुझिन क्या, आखिर किन चाहियो सङ्घियता, यदि स्वस्थ प्रणालिको स्थपाना गर्ने हो भने, बिकास गर्नलाई सङ्घियता चाहिन्छ जस्तो त लाग्दैन मलाइ। जनताको अधिकार सुनिश्चित गर्न सङ्घियताले कसरि सहयोग गर्दछ। हो बाहुन क्षेत्रीहरु अहिले मुल धारमा छन, तर भका राई लिम्बु हरु प्रायजसो Singapore, uk, us मा बढि भेटिन्छन रे नि त, उनिहरु गए पछि त कसैले त चलाउनै परो नि …,

    यदि थारुहट राज्य बनाउदैमा अधिकार सुनिश्चित हुन्छ भने नेपाललाइ नटुक्र्याइकन नेपाल देशको नाम बदलेर थारुहट राखि दिये भैगो नि। के बाहुन क्षेत्रीले यो देशकालागि केहि नि गरेका छैनन र यदि गरेका छन भने खोइ त बाहुन क्षेत्रीको नाममा राज्य? कि बाहुन क्षेत्री alian हुन जस्लाई अधिकार चाहिदैन, जसलाई, खाना चाहिदैन सुर्यको किरण तापेर जिउने प्राणिहुन, जसले लिन मतै जाने तर अरु ले आफ्नो जंगल दिए, जमिन दिए, श्रम दिए, जवानी दिए, पसिना दिए, र ज्यान त थोकमै दिए ; त्यो लिये अनि पचाए बाहुन क्षेत्रीले; भुढि भरे अनि डकार सम्मन् निकालेनन् होइन त; बाहुन क्षेतृले बगाएको पसिना, रगत, श्रम, जवानि, जीववन् का कैयौ अ्मुल्य क्षणहरु केवल पानि थियो त्यो पनि नक्कलि होइन त।

    के सबै जसो बाहुन क्षेत्री धनि मानि छन त, ८०% भन्दा बढि थारु हरु जग्गा धनि छन २०% गरिब छन।

    हो म यो मान्छु अब आउने सम्बिधानमा समान अधिकार हुनुपर्छ तर यो कुअर्थ लागाएर कसैलै भढ्काउने काम गर्नु हुदैन।

  4. Vesraj g comment damdar cha. Bahun cheetri le yoo des ko lagi ragat bagayaka chainan vannu yaakdamai galt ho tara tharu le kun awatha ma yoo deska lagi kam garne bela aabsar payara pani kam garenan ra deska lagi kam nagarera dosi chan ra des banauna ma bahun chetri vanda kaam chaan? kaam garne aabsar payara pani nagarnu gaddari ho tara aabsarai nadinu gaddari haina? kun samudaya saadhai rajya bata bived ma pariyo, bahun ki chetri ki tharu? bived ma paareeraa tyo samudaya lai taile kaam garenas aani pachadi pris vanera tarka garnu kun samnata chahanu ho? Ho jasle dhan ra samayako sadupayog garna janena- pachi parcha tara purana pidhilai gayara sodhnus ki kun sampradayale kamayako jamin kun samudayale jhukyara dhamkayara hata pareko thiyo raa kun samaudaya aajasamma madhyapan dhumrapan gardaina? k yoo tyo bela gariyako bived haina? k samaj tyo bela sundar hunch jun bela samaj ma aasamanta rahirahancha chahe tyo jatiya hos wa aabbsar wa aarthik rahirahancha?yadi hudaina vane pachi pareko barga lai aagadi lyanu tapaiko kartbyaa haina? Ho jatiya rjya le jatiya aasamanta ko byavar huncha, tara yahi kura najanera rajyale pachi pariyako samudaya le chatipurti ka rupma paunu parne samanupatik sahavagitako aadhikar katauti garera chidhayko taki uuniharu jatiyata ma jane samma badhya hun? ho name le pharak pardaina rajyako charitrale pharak parcha ,tyo chritra nirman garna ka lagi jansankhyako aadhar ma samanupatik sahavagitako aabhaan gareko tara khai tyasma sundar samaj banauna chahane rajyama pahuch vayako samudayale samrthan gareko? ho yaahi charitra pariwartan garna jaruri cha . aantim ma yaad rakhnus jati pani bidroha vaya; tysko karan vaneko bived ho, chahe tyo Raja ra Janta ka bich hos chahe chetra chetra chetra bich hos, ya jati jati. bina bived bidroha hudaina yaadi huncha vane tyoo samnata na chahane le garcha, ra kamjor le samnata pauna lai garcha tara Sasak bargale aasamantaka lagi garcha. tapi kun bidroha chahanu huncha samnta ko lagi ki aaasamanta ko lagi? saasan gari raheko le aaphno aadhikar lekhayara simit garna chahadaina tara sasit bargale aadhikar lekhayara surachit garna chahancha.

  5. दिनेशजी ल भन्नुस त , के सबै बाहुन क्षेत्रीले हेपेका हुन त….. कुनै एक ब्यक्तिले गरेको गल्ति सबैले भोग्नु पर्ने कहाको न्याय हो, यो अतिवाद मात्रै हो( if you are not part of solution then you are the part of problem ) भन्न थालियो भने त्यो भन्दा दु:खद कुरा देशको लागि के हुन सक्छ। अवसर दियनन कल्ले दियनन। खोइ आज सम्म मलाई “तपाइ बाहुन आउनुस काम गर्नुस” भनेका छैनन, मेरो बोस त थारु जातिकै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published.