शुक्रबार पनि सहमति भएन, परीक्षामा उत्तीर्ण भइछाड्ने बाबुरामको अठोट

Baburam Bhattaraiसंविधानसभा, संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले आज पनि नेपालको संविधान, २०७२ (प्रारम्भिक मस्यौदा) मा जनताले दिएका सुझावका आधारमा प्रतिवेदन तयार गर्ने काम पूरा गर्न सकेन।  गत सातादेखि प्रमुख दलका शीर्ष र कार्यदलस्तरमा औपचारिक र अनौपचारिक छलफल जारी रहे पनि सङ्घीयताको सीमाङ्कनका विषयमा सहमति नहुँदा आजको संविधानसभाको बैठक कार्यसूचीविहीन बनेपछि भोलिका लागि स्थगन भएको छ।

संवाद समितिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसहित चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिसँग आज पनि दिनभर छलफल गरेको थियो। यसबीचमा नेताका बीचमा आन्तरिक (पार्टीगत) र द्विपक्षीय भेटवार्ता पनि भएका थिए।

आज अपराह्न १ बजेका लागि डाकिएको सम्वाद समितिको बैठक साँझ ७ बजे बसी शनिबार पुनः अपराह्न १ बजे अर्को बैठक बस्ने तय गरिसकिएको छ। समितिमा सभापति बाबुराम भट्टराईले हालसम्मका प्रयासबारे जानकारी गराउँदै एक दिनको समय थप माग गरेका थिए।

‘पटक-पटक प्रयास हुँदा पनि सहमति भएको छैन तर हामीले आशा मार्नु हुँदैन,’ भट्टराईले भने, ‘रातभरि बत्ती बालेर विद्यार्थीले परीक्षामा तयारी गर्दा पनि उसले परीक्षामा राम्रो नतिजा नल्याए के काम भनेजस्तै भएको छ, हामीले सफलता हात लगाइसकेका छैनौं, सकेसम्म हामी उत्तीर्ण हुने कोसिस गरिरहेका छौं।’ उनले अगाडि भने, ‘कतिपय राजनीतिक विषय पेचिलो र गम्भीर हुँदो रहेछ तर हामीले आशा मार्नु हुँदैन।’

Leave a Reply

Your email address will not be published.