सिकल सेलविरुद्ध राष्ट्रिय जागरण दिवस

क्रियटिङ पोसिबिलिटिज नामक संस्थाले दाङमा आयोजना गरेको सिकेल सेल परीक्षण कार्यक्रममा रगत परीक्षण गराउँदै थारु समुदायका महिला। तस्बिर : विवेक चौधरी
क्रियटिङ पोसिबिलिटिज नामक संस्थाले दाङमा आयोजना गरेको सिकेल सेल परीक्षण कार्यक्रममा रगत परीक्षण गराउँदै थारु समुदायका महिला। तस्बिर : विवेक चौधरी

दिलबहादुर चौधरी

आज सिकल सेल रोगविरुद्धको राष्ट्रिय जागरण दिवस, अर्थात दुई वर्ष अगाडि (२०७० साल श्रावण २० गते) राष्ट्रिय साप्ताहिक खबर पत्रिका हिमालमा यस रोगबारे खबर छापिएको दिन, भेरी अञ्चल अस्पतालका फिजिसियन डा.राजन पाण्डे लगायतका डा.हरुको यसबारे खुल्ला अन्तर्बार्ता छापिएको दिन, कैलाली जिल्लाको थारु नागरिक समाज, थारु कल्याणकारिणी सभा, थारु महिला सभा, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीद्वारा संयुक्त एवं संगठित रुपमा पहिलो चोटी आवाज बुलन्द गरेको दिन, पहिलो चोटी पत्रकार सम्मेलन गरेको दिन, पहिलो चोटी जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापन पत्र दिएको दिन हो।

त्यसैले आजको दिनलाई हामी स्मरण गर्न बाध्य छौं, बंशनाशक पुस्तैनी रोगको बिरुद्धमा बिगुल फुक्न बाध्य छौं, यस रोगको बिरुद्धमा लड्नको लागि प्रण गर्न बाध्य छौं, पत्रपत्रिका, रेडियो, एफ एम, टिभी, इलेक्ट्रोनिक मेडिया लगायतका आम सञ्चारलाई यस रोगको बिरुद्ध बोलिदिनको लागि अनुरोध गर्न बाध्य छौं, सरकार र आम जनसमुदायलाई यस रोगको बिरुद्धमा दरो गरी उभिदिनको लागि अनुरोध गर्न बाध्य छौं। सिकल सेल रोगबिरुद्ध अभियान थाल्न बाध्य छौं। त्यसैले आउनुस्, यस रोगबिरुद्धको अभियानमा सहभागी बनौं। समुदायलाई यस रोगबाट जोगाउन यहाँहरु सबैको भूमिका अपरिहार्य छ।

संगठित आवाजको सुरुवात

समय, परिस्थिति, बाताबरणका कारणले अति गर्मीमा, औलो प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरु यो रोगका श्रोत मानिन्छन् र अन्य देशमा धेरै पहिलेदेखि नै यो रोगको बारेमा मानिस जानकार भैसकेका थिए। तर नेपालमा पहिलो चोटी खुल्ला रुपमा, संगठित रुपमा आवाज उठेको बि.स. २०७० सालमा हो। बि.स. २०७० साल श्रावण १४—२० को हिमाल साप्ताहिक खबर पत्रिकामा डा. राजन पाण्डे लगायतका डाक्टरहरुको अन्तर्बार्तासहित सिकल सेल रोगको बारेमा बिस्तृत समाचार छापिएको थियो। पत्रिका समयमै कैलालीको धनगढी पनि पुगिसकेको थियो। कैलालीका परिचित उद्योगपति, ब्यापारी गोपी हमाल यस रोगका बारेमा पढे। शीर्षक थियो “सिकल सेल, पश्चिम तराईको रोग”। उनी पढेर तीनछक परे। उनी आफ्ना जेनेरल मेनेजर बुन्दीलाल चौधरीलाई बुन्दी यहाँ आउन भनी बोलाए। उनले किन सर? भनी पश्न गरे, जवाफमा हमालले यो शीर्षकको समाचार पहिले पढ, अनि कुरा गरौंला भने। बुन्दीले त्यो समाचार गहिरिएर पढे, उनको रौं खडा भयो। पत्रिका लिएर एक किसिमको डर र बिश्मय मिश्रित आवाजमा उनले भने, “यो त खतरनाक समाचार लाग्यो”। हमालले भने “हो, त्यसैले पढ्न भनेको हुँ, यदि तिमी आवाज उठाएनौ, तिम्रो समाजले केहि बोलेन, वास्ता गरेन भने समुदाय नै अन्तमा बिलाएर जान्छ, थारुलाई कसैले बन्दूकले मार्नै पर्दैन, यसैले सिध्याउँछ”। थारुका अगुवा छैनन्? उनले पश्न तेर्स्याए। दुबैबिच एकछिन सम्बाद चल्यो। समाचारले बुन्दी चिन्तित भए। मनमनै सोचे, अब आवाज उठाइएन भने समुदाय नै धरापमा पर्ने हो। आवाज त उठाउनै पर्यो, तर उठाउने कसरी? उनले त्यो खबरको केहि फोटोकपी गरे, हातमा लिए र हिंडे, थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीकहाँ।

यो पंक्तिकार त्यतिबेला पनि थारु नागरिक समाज कैलालीका संयोजकथिए। उनले समाचारको कपी थमाउँदै भने ‘दिलबहादुर सर, यो समाचार पढ्नुस’। यो पंक्तिकार पनि त्यसलाई गहिरिएर पढ्यो। श्रावण १९ गतेको दिन थियो, मनमा चिन्ता भयो। हामी दुबै सल्लाह गर्यौं, आवाज उठाउनै पर्छ, समुदाय, सरकार र सरोकारवालालाई जानकारी गराउनै पर्छ। त्यसको लागि भरपर्दो उपाय भनेको पत्रकार सम्मेलन हो। बुन्दीले भने, ‘अब सरलाई जानकारी भैहाल्यो, के के गर्न उपयक्त हुन्छ, गर्नुस्, थारु नागरिक समाजको संयोजक तपाई हो, तपाईलाई रोगबारे थाहा भैसक्यो।’ म त्यही दिन थारु कल्याणकारिणी सभाका सभापति प्रभातकुमार चौधरीसँग सम्पर्क गरें, उपसभापति लाहुराम चौधरी, सचिव माधव थारु, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवं थारु महिला सभाका प्रमुख इन्दिरा चौधरी, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीका अध्यक्ष तेज तारामी मगरसँग सम्पर्क गरें। सभापति चौधरी काम बिशेषले छिमेकी मुलुक भारत जानुपर्ने भएकोले उपसभापतिलाई भन्नुहोला, म पनि भनिदिन्छु भनेकाले उपसभापतिसँग भनियो। २० गते पत्रकार सम्मेलन गर्ने निर्णयमा पुगियो। पत्रकार लगायतका प्रायः सञ्चारकर्मीहरुलाई २० गते १२ बजे खबर गरियो। सरकारलाई दिने ४ बुँदे ज्ञापन पत्र पनि तयार गरियो। यो पंक्तिकार, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवं महिला बिभागका प्रतिनीधि इन्दिरा चौधरी, थाकसका उपसभापति लाहुराम चौधरी, सचिव माधव थारु, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीका अध्यक्ष तेज तारामी मगरको उपस्थितिमापहिलो चोटी श्रावण २० गतेपत्रकार सम्मेलन सम्पन्न भयो। त्यही दिन आदिबासी जनजाति महासंघका जिल्ला अध्यक्ष र थाकसका सभापतिले कैलाली जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाए। सिकल सेल रोगको बारेमा जानी नजानी पत्रकार सम्मेलन गरियो। पत्रपत्रिकाहरुले साथ दिए र सिकल सेल रोगको बारेमा पत्रपत्रिकामा खबर छायो। त्यसपछिका दिनमा यी संगठनमार्फत निरन्तर आवाज उठाउने काम भयो। हिमाल खबरपत्रिकामा छापिएको त्यो समाचारको धेरैप्रति हामीले फोटोकपी गर्यौं र धेरै ठाउँमा पुर्यायौं। अध्ययन थाल्यौं, डाक्टरहरुसँग जानकारी लिन थाल्यौं। कैलालीबाट संगठित रुपमा आवाज उठाउने काम गर्यौं। दिनेश एफ एमका मालिक एवं उद्योगपति गोपी हमालकहाँ पुगी दिनेश एफबाट साझा मञ्च कार्यक्रम संचालन गरिदिन र अन्य मिडिया टेलिभिजनलाई भनिदिन आग्रह गर्यौं। हमालले साझा मञ्च कार्यक्रम संचालन गरिदिने प्रतिबद्धता जाहेर गरे र अन्य मेडियालाई पनि यसको बारेमा भन्ने प्रतिबद्धता जाहेर गरे। ०७१ जेठ ९ गते दिनेश एफ एमले जि.बि.स.को प्रांगणमा साझा मंच कार्यक्रम संचालन गर्यो। नागरिक न्युजमा गोबिन्द अधिकारीले बजेटमा थारुको रोग शीर्षकमा लेख लेखे। धेरै लेखक, पत्रपत्रिकामा लेख समाचार लेखे। कैलालीको पत्रपत्रिका र पत्रकाहरुको भूमिका त उल्लेखनीय नै रह्यो। न्युज २४ ले पावर न्युजमा यसलाई प्रसारण गर्यो।

उपचुनावको बेला धनगढी आएको मौका छोपी ०७१ असारमा नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउबा, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारसँग यही बिषयमा पहलका लागि भेटघाट गर्यो। नेकपा एमालेका शीर्ष नेतासँग कुनै कारणबश भेट गर्न सकेन। २०७१ असार २४ गते कैलालीबाट थारु कल्याणकारिणी सभाका सभापति र सचिवको दुई सदस्यीय टोली काठमाण्डौ डेलिगेशन गयो। थाकसका केन्द्रिय सभापति चन्द्रकुमार चौधरी काम बिशेषले आफ्नो गृहजिल्ला गएको खबर दिए। टोलीले थाकसका केन्द्रीय उपसभापति र थारु सभासदहरुलाई लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय धायो। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्यो।

थरुहट तराई पार्टीका बरिष्ठ नेता एवं सभासद गोपाल दहितले संबिधान सभामा यसलाई सार्बजनिक महत्वको बिषय बनाएर छलफलको लागि प्रबेश गराए। जसमा थारु सभासदहरु मात्र हैन, गगन थापा लगायत धेरै गैरथारु सभासदहरु यसबारेमा बोले र समस्या समाधान गर्नका लागि सरकारलाई दबाब दिए। यसरी निरन्तर रुपमा कैलालीले सिकल सेल रोग बिरुद्ध लागिरह्यो र अहिले पनि अभियान जारी राखेको छ। थाकस केन्द्रलाई यसबारेमा बोल्न अनुरोध गरिरहेको छ। केन्द्रले पनि बोल्न शुरु गरिसकेको छ।

यसरी यस रोगको बिरुद्धमा संगठित रुपमा आवाज कैलालीबाट उठेपनि यसको पहिलो श्रेय बिशेषगरी भेरी अञ्चल अस्पताल नेपालगञ्जका फिजिसियन डा. राजन पाण्डे, उनका टिम र हिमाल खबरपत्रिकाका सुवास देवकोटा र तुफान न्यौपानेलाई जान्छ। डा.राजन पाण्डेले कारणसहित किटानी र दाबीका साथ थारुमा मात्रै यो रोग देखिएको कुरा बाहिर ल्याउने हिम्मत नगरेको भए, हिमाल खबरपत्रिकाका सम्बाददाताहरुले नलेखेको भए कैलालीबाट आवाज उठ्न सम्भव थिएन। त्यसैले यसको श्रेय यिनलाई दिनैपर्छ। यिनले उठाएको त्यो सत्य कुरा बोल्दा हामी कैलालीका अगुवा साथीहरुले पनि धेरै कुरा सुन्नु पर्यो, सहनु पर्यो। धेरैले डाक्टरहरुलाई गाली गरे। यस्तो भन्ने कुन डा.हो, त्यसलाई कुट्नुपर्छ, हात खुट्टा भाँच्नुपर्छ समेत भने। कतिपयले दिलबहादुरलाई पागलको संज्ञा पनि दिन पछि परेनन्। कतिपयले अज्ञानताबश थारु समुदायलाई रोगीको रुपमा प्रचार नगरिदिन आग्रह गरे। कतिपयले यो प्रचारप्रसारले थारुहरु जागिर पाउन गार्हो हुने बिचार ब्यक्त गरे। तर हाम्रो अभियान जारी रह्यो। हामी भन्दै गयौं, सबै थारुहरुमा यो रोग छैन। सावधानीले यो रोगको संक्रमणलाई कम गर्न सकिन्छ। रोगलाई लुकाउनु समस्याको समाधान होइन। समस्याको समाधान भनेको रोगबारे खुलेर छलफल गर्नु, प्रचारप्रसार गर्नु र चिकित्सकले भने बमोजिम गर्नु हो। हामी धनगढीका बरिष्ठ फिजिशियन डा. शुभेषराज कायस्थसँग सरसल्लाह र जानकारी लियौं। उनले यसबारेमा धेरै जानकारी दिए।

आज यो अभियानले सार्थक बन्दै गएको छ। सेती अञ्चल अस्पताल धनगढीमा यस सम्बन्धमा बरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थलाई संयोजक तोकिएको छ भने जेनेरल वार्डमा यशोदा ढकाललाई फोकल पर्सन तोकिएको छ। सिकल सेल रोगका बिरामीहरुलाई चासोका साथ हेरिएको अवस्था छ। स्त्रि्कन टेष्टको ब्यबस्था गरिएको छ। तर मुख्यतः सिकल सेल हो वा होइन भनी किटानी पत्ता लगाउने, चेक अप गर्ने मेशिन किन्नलाई आएको ३२ लाख रकम फ्रिज गएको छ। यसको लागि बिशेष पहल गर्न सरोकारवालासँग अनुरोध गर्नुको अर्को बिकल्प हामीसँग छैन। सरकार, जनताका प्रतिनीधिका रुपमा गएका सबै सभासदहरुलाई यसको बारेमा गम्भिर हुन, यसलाई जनस्वास्थ्य समस्याको रुपमा लिई समस्या समाधानको लागि कदम चाल्न अनुरोध गर्नुको पनि बिकल्प छैन।

ओराउनीमा यत्ति मात्रै भनौं कि अहिलेसम्म यो रोग थारुमा मात्रै देखिएपनि पछि अरु जातिमा नदेखिएला भन्न सकिन्न। देशको जनसंख्याको ६ प्रतिशतमा रहेको थारुमा यो रोग देखिँदा सरकार मौन बस्नु, बेवास्ता गर्नु, अञ्चल अस्पतालमा चेकअप मेशिन समेत उपलब्ध नगराउनु सरकारको दायित्व हो जस्तो लाग्दैन। थारुहरुमा मात्रै यो रोग छ, त्यसैले औलो, कालाज्वर, क्षय रोग, बिफर जस्तो जनस्वास्थ्य समस्याको रुपमा यसलाई लिन मिल्दैन भन्ने पनि सरकारी नीति छैन होला। त्यसैले यो रोगको बिरुद्धमा सरकारले उचित कदम चाल्न आवश्यक छ। थारु समुदाय एवं आम नेपाली समुदाय यसको बिरुद्धमा लाग्न र अभियान थाल्न आवश्यक छ। ‘सिकल सेल मुक्त समाजको निर्माण, हामी सबैको मूल  अभियान’ भन्ने नाराका साथ सबै अगाडि बढ्न जरुरी छ। यदि समयमै यसबारे सोचिएन भने देशको एक ठूलो हिस्सा भोलीका दिनमा बर्बाद हुन बेर लाग्दैन। धन्यवाद!

Leave a Reply

Your email address will not be published.